एनएसएलका क्लबको ध्यान विदेशी खेलाडीमा, ‘सी’ क्याटागोरीको ड्राफ्टअघि कुन टिम कस्ता?

मुकुन्द घिमिरे
२०८१ फागुन १६ गते ११:२७ | Feb 28, 2025
एनएसएलका क्लबको ध्यान विदेशी खेलाडीमा, ‘सी’ क्याटागोरीको ड्राफ्टअघि कुन टिम कस्ता?


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)का फ्रेन्चाइजहरुले विदेशी खेलाडी घोषणा गर्न थालेका छन्। चैत दोस्रो साता सुरु हुने एनएसएलका लागि ‘ए’ र ‘बी’ क्याटागोरीका खेलाडीका लागि अक्सन भइसकेको छ।

Tata
GBIME

‘सी’ क्याटागोरीका खेलाडी ड्राफ्टबाट छानिनेछन्। क्लबहरु विदेशी खेलाडीमा केन्द्रित हुन थालेका छन्।

शहीद स्मारक ए डिभिजन लिग होस् या एनएसएल, विदेशी खेलाडीले नतिजामा ठूलो प्रभाव पार्दै आएको छ। अघिल्लो संस्करणमा घानाबाट सर्वाधिक १२ र क्यामरुनबाट १० विदेशी खेलाडी आएका थिए।

क्लबहरुले नाइजेरिया र उज्वेकिस्तानबाट पनि खेलाडी ल्याएका थिए। अघिल्लो संस्करणमा अहमद हिजाजी, मोसेस टुम, स्टेफेन बिनोङ, इमोह इजाखिल, विलियम ओपोकु जस्ता खेलाडी गोल संख्यामा अगाडि थिए।

लिग आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले यसपटक हरेक टोलीले ६ जना विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने ब्यवस्था गरेको छ। त्यसबाहेक अघिल्लो साता रिटेन्सनको नयाँ नीति ल्याउँदै मिनी अक्सन गरेको थियो।

मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा अनुबन्ध भए। चितवनले अभिषेक लिम्बू र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसीले आशिष गुरुङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जंग कार्की तथा ललितपुरले मणिकुमार लामा र सन्तोष खत्रीलाई ४ लाख रुपैयाँका दरले भित्र्याएका हुन्।

सबै क्लबले कूल १ करोड ३९ लाख रुपैयाँ खर्चिंदा ललितपुरले सर्वाधिक २२ लाख २५ हजार र बुटवल लुम्बिनीले सबैभन्दा कम १७ लाख ५० हजार रुपैयाँलगानी गरेको छ।

मिनी अक्सनपछि क्लबहरुले विदेशी खेलाडी घोषणा गर्न सुरु गरेका छन्। त्यस्तै ‘प्रो लाइसेन्स’प्राप्त प्रशिक्षकलाई टोलीहरुले धमाधम अनुबन्ध गरिरहेका छन्।

कुन क्लब कस्तो अवस्थामा छन् त?

धनगढी एफसी

दुईपटक एनएसएलको फाइनल खेल्दै उपविजेता बनेको धनगढी एफसीले विदेशी प्रशिक्षकको टुंगो लगाइसकेको छ। यूईएफएको प्रो लाइसेन्सप्राप्त स्पेनका जुनआन म्यानुअल मार्टिनेजलाई धनगढीले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

उनले यसअघि स्पेन, पानामा, थाइल्याण्ड, बंगलादेश, ओमन, माल्दिभ्सलगायत विभिन्न देशमा काम गरिसकेका छन्। त्यस्तै भीष्म भाट सहायक प्रशिक्षक बनेका छन्।

धनगढीका प्रशिक्षक जुआन म्यानुअल। तस्बिर सौजन्य: धनगढी एफसी

त्यस्तै अघिल्लो संस्करणमा आफ्ना लागि प्रभावशाली प्रदर्शन गरेका लेबनानका अहमद हिजाजीलाई पनि धनगढीले बोउर्ज एफसीबाट लोनमा ल्याएको छ।

धनगढीले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई ब्राण्ड एम्बास्डर बनाएको छ।

धनगढीले तीन खेलाडीलाई रिटेन गरेको छ। ‘ए’ क्याटागोरीका देवेन्द्र तामाङ तथा ‘बी’ क्याटागोरीका रन्दीप पौडेल र रामचन्द्र वाजीलाई रिटेन गरेको हो। धनगढीसँग ‘ए’ क्याटागोरीका पासाङ लामा र विवेक पौडेल तथा ‘बी’ क्याटागोरीका जर्ज प्रिन्स कार्की, प्रशान्त लक्ष्यम, अशोक खवास र जियारथ शेख छन्।

अक्सनमा धनगढीले १९ लाख ९० हजार रुपैयाँ खर्चिएको छ। क्लबले सबैभन्दा धेरै पासाङलाई ४ लाखमा अनुबन्ध गरेको हो।

एफसी चितवन

अघिल्लो संस्करणमा भारतीय प्रशिक्षक ल्याएको चितवनले यसपालि नवीन न्यौपानेलाई मुख्य प्रशिक्षक बनाएको छ। त्यस्तै अघिल्लो संस्करणमा झापा एफसीका मार्की खेलाडी अञ्जन विष्ट अहिले एफसी चितवनमा छन्।

यसअघिका दुई संस्करणमा प्रभावशाली प्रदर्शन गर्न नसकेको चितवनले नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर अञ्जन र प्रशिक्षक नवीनलाई भित्र्याउँदै यसपालि बलियो चुनौती दिने संकेत गरेको छ।

अक्सनअघि चितवनले ‘ए’ क्याटागोरीका विशाल श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ गुरुङ र रोशन रानामगरलाई रिटेन गरेको थियो।

विशालसँगै ‘ए’ क्याटागोरीका अभिषेक लिम्बू र सुमित श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ र रोशनसँगै निरज चौधरी, मिलन राई, शिशिर लेखी र जय गुरुङ चितवनसँग छन्।

एनएसएल अक्सनमा चितवनको टिम। तस्बिर: एनएसएल

चितवनले लोकल खेलाडीमा रोजल दाहाललाई छनोट गरेको छ।

अक्सनमा २१ लाख ५० हजार रुपैयाँ खर्चिएको चितवनले अभिषेक र सुमितलाई सर्वाधिक ४/४ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

ललितपुर सिटी एफसी

साविक विजेता ललितपुर सिटी एफसी यसपटकको मिनी अक्सनमा सबैभन्दा धेरै खर्चने टोली हो। ललितपुरले मार्की खेलाडीमा अनन्त तामाङलाई निरन्तरता दिएको छ।

अक्सनमा ललितपुरले ‘ए’ क्याटागोरीका सनिष श्रेष्ठ र ‘बी’ क्याटागोरीका आदित्य शाक्यलाई रिटेन गरेको थियो।

सनिषसँगै ललितपुरसँग ‘ए’ क्याटागोरीका सन्तोष खत्री र मणिकुमार लामा तथा ‘बी’ क्याटागोरीका सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र समित श्रेष्ठ छन्।

भुटानी रोनाल्डोका नामले चिनिने चेन्चो ग्याल्चेन र हाइटीका केरभेन्स बेलफोर्टलाई अनुबन्ध गरेको ललितपुरले इङ्ग्ल्याण्डका साइमन ग्रेसनलाई प्रशिक्षक नियुक्त गरेको छ।

लिड्स युनाइटेडको प्रशिक्षक रहिसकेका ग्रेसनले लेस्टर सिटी, एस्टोन भिल्लाजस्ता टोलीबाट खेलेका थिए। उनीसँग भारतको इन्डियन सुपर लिगमा पनि विभिन्न टोलीलाई प्रशिक्षण दिएको अनुभव छ।

ललितपुरले पर्स लिमिटभन्दा २५ हजारमाथि गएर २२ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो। उसले सबैभन्दा धेरै मणिकुमार र सन्तोषलाई ४/४ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

एनएसएलको साविक विजेता ललितपुर सिटी एफसी। फाइल फोटो

काठमाडौं रेजर्स

पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सको मार्की खेलाडीमा रोहन कार्की छन्। यो टोलीले ‘ए’ क्याटागोरीका एक र ‘बी’ क्याटागोरीका दुई खेलाडीलाई रिटेन गरेको थियो।

‘ए’ क्याटागोरीका दीपेश गुरुङ तथा ‘बी’ क्याटागोरीका कुलदीप कार्की र अभिषेक बराललाई रिटेन गरेको काठमाडौंसँग ‘ए’ क्याटागोरीका दिनेश हेन्जन तथा ‘बी’ क्याटागोरीका आशिष चापागाइँ, कमल श्रेष्ठ, दिवाकर चौधरी र अञ्जल महर्जन छन्।

काठमाडौंले प्रशिक्षकमा यूईएफए प्रो लाइन्सेन्स होल्डर बेल्जियन कोच प्याट्रिक डी विल्डेलाई अनुबन्ध गरेको छ। उनले हंगेरी, अल्जेरिया, चीनजस्ता देशमा काम गरिसकेका छन्।

काठमाडौंले अक्सनमा २१ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो। उसले दिनेश र जिलेस्पी जंगलाई भित्र्याउन ४/४ लाख रुपैयाँ खर्चिएको थियो।

बुटवल लुम्बिनी

बुटवल लुम्बिनी एफसीले यसपटक मनिष डाँगीलाई मार्की खेलाडी बनाएको छ। अक्सनअघि बुटवलले ‘ए’ क्याटागोरीका एरिक विष्ट तथा ‘बी’ क्याटागोरीका निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको थियो।

बुटवलसँग ‘ए’ क्याटागोरीमा एरिकसँगै दीप कार्की र प्रदीप लामा तथा ‘बी’ क्याटागोरीका निराजन र सरोजसँगै फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्रसिंह थापा र सन्दीप कार्की छन्।

बुटवलको प्रशिक्षकमा पुष्पलाल शर्मा छन्। भुटानी प्रशिक्षक शर्मा यूईएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा पारो एफसीले दशरथ रंगशालामा चर्च ब्वाइजलाई हराएको थियो।  

अक्सनमा सबैभन्दा कम १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको बुटवल लुम्बिनीले सबैभन्दा धेरै लगानी गरेका खेलाडी एरिक हुन्। क्लबले एरिकलाई ३ लाख रुपैयाँमा रिटेन गरेको हो।

झापा एफसी

‘परिवर्तन अपरिहार्य’ भन्दै ब्राण्ड लोगो नै फेरेको झापाको टिममा यसपालि निकै उथपुथल छ।

लाकेन लिम्बू मार्की खेलाडी रहेको झापाले यसपटक छिरिङ लामालाई मात्र रिटेन गर्‍यो। अघिल्लो संस्करणमा लाकेनले चोटका कारण खेल्न सकेका थिएनन्।

यसअघिका दुई संस्करणमा पूर्वका तीन क्लबले प्रतिस्पर्धा गरे। पहिलो संस्करणमा सनसनी मच्चाएको विराटनगर सिटी एफसीले दोस्रो संस्करणमा सहभागिता जनाएन। दोस्रो संस्करणमा स्पोर्टिङ इलाम र झापा एफसी थपिए। तेस्रो संस्करणमा पूर्वको प्रतिनिधित्व गर्ने एउटै क्लब छ, झापा एफसी।

झापासँग ‘ए’ क्याटागोरीका आशिष गुरुङ र एक एनआरएन खेलाडी छन्। त्यस्तै, ‘बी’ क्याटागोरीका अविनाश स्याङ्तान, दीपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विके र उज्वल राई छन्।

झापाले विदेशी खेलाडी अनुबन्ध गर्न सुरु गरिसकेको छ। उज्वेकिस्तानका डिफेन्डर अजामत अबडुल्लेभलाई झापाले अनुबन्ध गरेको छ।  

झापाले अक्सनमा १९ लाख ५० हजार रुपैयाँ खर्चिएकामा सबैभन्दा धेरै आशिषलाई ४ लाख रुपैयाँ तिरेको हो।

पोखरा थण्डर्स

पोखरा थण्डर्सले पनि एनएसएलको तयारीलाई तीब्र पारेको छ। समीर तामाङ मार्की खेलाडी रहेको पोखराले ‘ए’ क्याटागोरीका आयुष घलान र ‘बी’ क्याटागोरीका पदम भट्टराईले रिटेन गरेको थियो।

पोखरासँग ‘ए’ क्याटागोरीका आयुषसँगै एकराज बुढाथोकी, सुरजसिंह ठकुरी र एक एनआरएन खेलाडी छन्। ‘बी’ क्याटागोरीमा राम थापा, चन्दन दास, विशाल तामाङ र क्रिसल मोक्तानलाई पोखराले बिड गरेको थियो।

राम थापाको स्थान पहिलो संस्करणमा पोखराको मार्की खेलाडी रहेका नवयुग श्रेष्ठले लिने चर्चा छ। नवयुग अक्सनमा अनसोल्ड भएका थिए।

पोखराले प्रशिक्षकमा सुविन घिमिरेलाई भित्र्याएको छ। त्यस्तै जनक केसी असिस्टेन्ट कोच छन्।

अक्सनमा १७ लाख ७५ हजार रुपैयाँ खर्चिएको पोखराले सर्वाधिक लगानी गरेका खेलाडी आयुष हुन्। उनलाई क्लबले ३ लाख रुपैयाँमा रिटेन गरेको हो।