
काठमाडौं। पौने चार किलो सुन तस्करी प्रकरणलाई भन्सार विभागले ढिसमिस गर्न खोजेको छ। विभागले संदिग्ध कर्मचारीलाई जिम्मेवारीबाट हटाउन आनाकानीदेखि विश्वासिलो अनुसन्धानमा बेवास्ता गरेर ढिसमिस गर्न खोजेको हो।
बुधबार राति फ्लाइ दुबईबाट अबैधरुपमा भित्रिएको ३ किलो ७४५ ग्राम सुन भन्सारका कर्मचारी र सशस्त्र प्रहरी बलको घेराबाट उम्किएको अवस्थामा शंका लागेर जाँच गर्दा नेपाल प्रहरीले बरामद गरेको थियो।
यो प्रकरणमा शंकाको सुइ भन्सारका कर्मचारीमाथि तेर्सिंदा भन्सार विभागले भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयमै कार्यरत प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेलाई अनुसन्धान अधिकृत तोकेको छ।
विभागका महानिर्देशक महेश भट्टराईले यो प्रकरणलाई गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयलाई निर्देशन दिएको बताए।
‘लापर्बाही हो वा प्राविधिक पक्षमा कमजोरीले भन्ने बुझेर जानकारी गराउन भनिसकेको छु। सबै सीसी क्यामराको फुटेज समेत राख्न भनेको छु,’ महानिर्देशक भट्टराईले भने।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख शान्तिराम निरौलाले पक्राउ परेका व्यक्तिको बयानदेखि सुन भन्सार क्षेत्र बाहिर कसरी पुग्यो भन्ने बिषयमा अनुसन्धान सुरु गरेको बताए।
‘हामीले प्रमुख भन्सार अधिकृतलाई अनुसन्धान अधिकृत तोकेर यो प्रकरणमा अनुसन्धान सुरु गरिसकेका छौं। पक्राउ परेका व्यक्तिको बयान लिने काम सुरु गरिएको छ,’ निरौलाले भने।
प्रहरीले बरामद सुन र पक्राउ परेका ४ विदेशी विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ। पक्राउ परेका चारै जना उज्वेकिस्तानका नागरिक हुन्।
उनीहरुमध्ये तीन महिलाले मलद्वारमा राखेको अवस्थामा पौने चार किलो सुन बरामद भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीन जना नै महिला भरिया हुन्। एक पुरुष भने यसअघि पनि नेपाल आएको खुलेको छ।
विमानस्थलमा सामान र यात्रुको जाँच गर्ने जिम्मेवारी भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको हो। यसका लागि उनीहरुसँग एक्सरे मेसिनदेखि मेटल डिटेक्टरको व्यवस्था छ।
‘शरीरभित्र भएको सुन कहिलेकाहिं मेटल डिटेक्टरले नदेखाउन सक्छ। खास कुरा के हो भन्ने अनुसन्धानबाट खुल्ला,’ निरौलाले भने।
भन्सारका कर्मचारीको घेराबाट उम्किएको सुन बिहिबारको बजार भाउ अनुसार ५ करोड ४६ लाख ९७ हजार रुपैयाँ बराबरको हो।
विमानस्थल भन्सारकै कर्मचारीलाई पक्राउ परेकाहरुको बयान लिएर अनुसन्धान गर्न लगाउनुलाई जानकारहरुले भन्सारका कर्मचारीको कमजोरी ढाकछोप गर्न खोजिएको रुपमा अर्थ्याएका छन्।
‘जुन कार्यालयका कर्मचारीले आँखा चिम्लिएर सुन बाहिरियो, त्यही कार्यालयका कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्नु भनेको कमजोरी ढाकछोप गर्ने रणनीति हो,’ एकजना पूर्वअर्थसचिवले भने, ‘यस्तो गम्भीर घटनामा सुन बाहिरिंदाका बखत ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर विभागले आफैं अनुसन्धान गर्नु पर्ने थियो। तर, विमानस्थल कार्यालयलाई नै अनुसन्धान गरेर रिपोर्ट दिन भन्नु प्रकरणलाई ढिसमिस गर्न खोज्नु हो।’
ती पूर्वसचिवका अनुसार यसले तस्करीमा साथ दिने कर्मचारीकै मनोबल बढ्नेछ। ‘तस्करी रोक्नका लागि न विभाग गम्भीर देखियो, न त अर्थ मन्त्रालयले नै यो प्रकरणमा अग्रसरता लियो। दोषी पत्ता लगाएर कारबाही गर्नेभन्दा यति ठूलो घटनालाई फासफुस गर्न मन्त्रालयकै साथ रहेको सन्देश पो गयो त,’ ती पूर्वसचिवले भने।
विमानस्थलबाट २०८० साउन २ गते ६१ किलो सुन बाहिरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।
त्यतिखेर प्रहरीको अनुसन्धान विश्वसनीय नहुने भन्दै एमालेले संसद् अवरुद्ध गरेर जाँचबुझ आयोग गठन गर्न लगाएको थियो। तर, अहिले सरकारको नेतृत्वमा एमाले रहँदा गडबडी गर्ने कार्यालयलाई नै चाबी दिइएको छ।