
काठमाडौं। विधानअनुसार अघि बढ्ने हो भने नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको ९ महिनामा गर्नुपर्छ। त्यसका लागि अहिले तयारी तीव्र हुनुपर्ने हो। तर, आन्तरिक कचिंगलका कारण कांग्रेसले महाधिवेशनको ब्याकबोन मानिने क्रियाशील सदस्यता नै टुंगो लगाउन सकेको छैन।
कांग्रेसले महाधिवेशन कहिले गर्छ भन्ने अझै यकिन छैन। तर, गुट भेलादेखि सभापति शेरबहादुर देउवाको दैलोमा धाउँदै नेतृत्वमा दाबी गर्ने लहड चलेको छ।
कृष्णप्रसाद सिटौलाले शनिबार आफ्नो निवासमा गुट भेला डाके। चण्डोलमा भएको भेलामा भीमसेनदास प्रधान, शिवप्रसाद हुमागाईं, कुन्दनराज काफ्ले, भूपेन्द्र राई, राजु श्रेष्ठ, जीत शेरचनलगायत सहभागी थिए।
भेलामा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको एक नेताले बताए। कुनै समय गिरिजाप्रसाद कोइरालाको साथ पाएर पार्टीमा उचाइ बनाएका सिटौला संसदीय चुनावमा पराजित भएपछि हराउँदै गएका थिए।
देउवाले राष्ट्रिय सभाको सदस्य बनाएपछि सिटौलाले अब विस्तारै भूमिका बढाउन चाहेका छन्। १३औं महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवार बनाएका गगनले नै १४औं महाधिवेशनमा उनको गुट छोडे। उनले १४औं महाधिवेशनमा देउवासँग कुरा मिलाएर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए।
तर, त्यतिखेर पराजित भएका पौडेल पनि अहिले सिटौलाको साथमा छैनन्। यद्यपि गगन र प्रदीपको साथ आफूलाई रहने भन्दै सिटौलाले अहिले सक्रियता बढाएको उनी निकट नेताहरुले बताए।
१० भाइ उतार्दै देउवालाई यसरी पारेका थिए घेराबन्दीमा
देउवा फागुन २ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा आफ्नै गुटका नेताहरूबाट घेराबन्दीमा परे। सुरुमा उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि देउवा निवास पुगेका थिए।
दुवै नेताहरूले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्काले मनलाग्दी गरेको भन्दै असन्तुष्टि पोखे। खड्काले पार्टीका जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम गरेका थिए माघ २२ गते।
कार्यक्रमबारे आफूलाई कुनै जानकारी नदिएको भन्दै संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सार्वजनिकरूपमै असन्तुष्टि पोखेका थिए। संस्थापन पक्षका नेताहरूले भने देउवाकहाँ पुगेरै गुनासो सुनाए।
देउवाकहाँ जानु अघिल्लो दिन सिटौला बुढानीलकण्ठ पुगेका थिए। उनैले भोलिपल्ट संस्थापन पक्षका नेतालाई देउवाकहाँ जम्मा गराए। ‘भेला सिटौलाजीको इनिसिएसनमा भएको हो। उहाँले पोखराको कार्यक्रमबारे छलफल गर्न पूर्णबहादुर खड्कालाई पनि बोलाउनुभएको थियो,’ बैठकमा सहभागी एक नेताले भने।
निधि र प्रकाशमानपछि उपसभापति खड्का, विजयकुमार गच्छदार, सिटौला, गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद र उमाकान्त चौधरी पनि पुगे।
उनीहरु अधिकांश आफूहरुलाई पत्तै नदिइ कार्यक्रम गरेको भन्दै खड्कामाथि खनिए। एकतर्फीरुपमा आफ्नो आलोचना भएपछि खड्काले धेरैबेर बस्न निको मानेनन्। उनी भूल भएको भन्दै माफी मागेर केहीबेरमा निस्किए।
खड्का निस्किएपछि शेखर–गगनबारे कुराकानी
देउवा गुटबाटै उपसभापति र प्रतिष्ठान प्रमुख बनेका खड्का पछिल्लोपटक महामन्त्री गगन थापासँग नजिकिएका छन्। कारण देउवा गुटमा परराष्ट्रमन्त्रीसमेत रहेकी डा आरजु राणा देउवाको पेलान।
विधानअनुसार अब कांग्रेस सभापतिमा देउवाले मौका नपाउने भएकाले यही गुटमा रहिरहँदा सुरक्षित नहुने खड्काको बुझाइ छ। देउवाले साथ लिएर सभापतिको उम्मेदवार दाबी गर्ने तयारी गरेपनि छहारी नपाउने निष्कर्षमा उनी गगनसँग निकट भएका हुन्।
देउवाले गगनलाई नै सभापतिका रूपमा अघि बढाउने तयारी रहेको गाइँगुइँ कांग्रेस वृत्तमा छ। एमसीसी प्रकरणमा पार्टीको लाइन समातेको, बीआरआई प्रकरणमा समन्वयकारी भूमिका निभाएको र सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गराउने स्थिति निर्माण गरेको भन्दै देउवाले गगनको प्रशंसा गर्ने गरेका छन्।
संस्थापनइतरका नेता शेखरले पनि आफूलाई सभापतिको उम्मेदवारमा दोहोर्याउने बताउँदै आएका छन्। संस्थापन पक्षमा बेलाबेला ‘अब देउवाले मान्ने नेता शेखर नै’ भन्ने चर्चा पनि चल्ने गरेको छ।
यही विषयमा संस्थापन पक्षका नेताहरूले देउवासँग जिज्ञासा राखे। ‘शेखर र गगनको कुरा आएको छ। देश दौडाहामा पनि दुवै नेता निस्किएका छन्। अरु नेता नै छैनन् जसरी,’ नेता सिटौलाले सुरुमै कुरा राखे, ‘१३औं महाधिवेशनदेखि तपाइँलाई साथ दिंदै आएका छौं। १४औंमा विमलेन्द्रजी र प्रकाशमानजीले साथ दिनुभयो। १५ औंमा पनि साथ दिनेछौं।’
१५औं महाधिवेशनको मिति भने तय भएको छैन। तैपनि शेखर देश दौडाहामा छन्। शेखरले देउवा गुटका नेताहरूलाई आफूतिर तानिरहेका छन्। रमेश लेखकलाई देउवाले काखमा लिएसँगै सुदूरपश्चिमका अर्का नेता एनपी साउद शेखरतिर लागेका छन्। केन्द्रीय सदस्य मोहन बस्नेत पनि शेखरसँग नजिकिएका छन्।
गगन सभापतिमा अघि बढे गृहमन्त्री रमेश लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायत प्रभावशाली नेताहरुसमेत उनको पक्षमा लाग्ने कतिपयको बुझाइ छ। गगनको भित्री तयारी देखिन्छ। तर, उनले आफ्नो तयारीबारे कसैलाई बताएका छैनन्। थाहा दिँदा विपक्षीले खेल्ने भएकोले सुझबुझपूर्वक भित्री तयारी गरिरहेको उनी निकटहरू बताउँछन्।
गगनले आफू उपसभापति नबन्ने र १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। देउवाले पनि भागबण्डादेखि कार्य विभाजनमा शेखर र गगनलाई मौका दिएकाले नेताहरू सशंकित बनेका हुन्।
अरु नेताहरूको प्रश्नपछि गोपालमानले देउवा गुटबाट सभापतिको उम्मेदवार आफू भएको दाबी गरे। ‘मैले कार्यवाहक पनि चलाएको हुँ। त्यसैले अबको संस्थापनको सभापति उम्मेदवार मै हुँ,’ श्रेष्ठले भने। त्यसपछि देउवाले सल्लाह गरेर मिलेर अघि बढ्नुपर्ने बताए।
‘महाधिवेशन आइसकेको छैन। सबैले मलाई साथ दिनुभएकोले तपाइँसँगै जोडिएकाहरूबाट नेतृत्व आउँछ। को हुन्छ सल्लाह गर्छौं,’ देउवाले भने, ‘तपाईंहरू पनि मिलेर अघि बढ्नुपर्छ।’
खड्कालाई देउवाको चेतावनी
देउवाले उपसभापति खड्कालाई अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल र विमलेन्द्रकै हालत हुने चेतावनी दिए।
कांग्रेसमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महत्त्वपूर्ण विभाग हो। प्रतिष्ठानको प्रमुख हुँदा पौडेल र निधिले सभापति हुने तयारीस्वरुप जिल्ला सभापतिहरूको भेला डाक्ने, पार्टीमा संघर्ष चर्काउने गरेको प्रसंग निकाल्दै देउवाले भने, ‘पार्टीको फोरमलाई व्यक्तिगत रूपमा चलाएर आफ्नो मर्जी गर्दा रामचन्द्रजीले सभापति पाउनुभएन। विमलेन्द्रजीले पनि त्यसै गरेर पछुताउनुपर्यो।’
१४औं महाधिवेशनमा सभापतिका बलिया उम्मेदवारका रूपमा हेरिएका पौडेलले जिल्ला सभापतिहरूको भेला डाकेर देउवालाई आच्छुआच्छु बनाउन खोजेका थिए। तर अन्तिम समयमा उनले हार मानेर वाकओभर मात्र दिएनन्, महाधिवेशनमा मतदान नै बहिष्कार गरेका थिए।
१३औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा देउवाले १८ सय २२ मत प्राप्त गर्दा पौडेलले १२ सय ९६ मतमा चित्त बुझाउनुपरेको थियो। सिटौलाको साथ पाएर देउवा पहिलोपटक सभापति बनेका थिए।
त्यसपछि देउवाले त्यसबेलाका उपसभापति विमलेन्द्रलाई प्रतिष्ठानको प्रमुख बनाएका थिए। उनै विमलेन्द्र १४औं महाधिवेशनमा देउवाविरुद्ध मैदानमा उत्रिएका थिए। उनले दोस्रो चरणको निर्वाचनमा भने देउवालाई साथ दिए।
सिटौलाको दाउ
उपसभापति खड्काको कार्यशैलीप्रति गुनासो सुनाउन भनिएपनि खासमा सिटौलाले देउवा निवासमा नेताहरुको जमघट गराउनुको कारण भने आफ्नो पक्षमा माहोल बनाउनु हो।
‘देउवा गुटबाट सभापतिको निर्विकल्प उम्मेदवार बन्ने सिटौलाजीको चाहना छ। त्यही चाहना अनुसार नै उहाँले खड्काको कार्यशैलीप्रति असन्तुष्टि पोख्ने नाममा नेताहरुलाई सभापतिकहाँ जम्मा गर्नुभएको हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
उनले १३औं र १४औं महाधिवेशनमा सघाएको गुन तिर्न अन्य नेताकै सामु देउवालाई आग्रह गरे।
देउवा निवासको छलफलमा सहभागीमध्ये उमाकान्त चौधरी सिटौला निकट हुन्। गोपालमान, गच्छदार र खाणलाई राजनीतिमा कमब्याक गर्न सहज देखिंदैन।
डा शशांक कोइराला, विमलेन्द्र र प्रकाशमान विरासतको राजनीति जोगाउन बेग्लै रणनीति बनाएर अघि बढ्ने योजनामा देखिन्छन्। यी तीन नेताले महाराजगञ्ज र चाक्सीबारीमा पटक पटक छलफल गरिसकेका छन्। अहिलेसम्मको छलफलका आधारमा शशांकलाई सभापतिमा अघि सार्ने विमलेन्द्र र प्रकाशमानको तयारी रहेको उनीहरु निकट नेताले जानकारी दिए।
महाधिवेशनको छैन सुरसार
देउवा २०७८ मंसिर २८ गते दोस्रो कार्यकालका लागि कांग्रेस सभापति निर्वाचित भएका थिए। विधान अनुसार कांग्रेस केन्द्रीय समितिको कार्यकाल ४ वर्षको हुन्छ। जसअनुसार २०८२ मंसिरमा १५ औं अधिवेशन गरिसक्नुपर्छ।
क्रियाशील सदस्यताको टुंगो नलागेको र कुनै तयारी नभएकोले कांग्रेसले महाधिवेशनका लागि कार्यसमितिको म्याद एक वर्ष थप गर्ने तयारी रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन्। ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ। हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ। अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम छ,’ प्रवक्ता महतले भने।
कांग्रेसको विधानको दफा ४३ मा केन्द्रीय कार्यसमितिको कार्यअवधि बारे लेखिएको छ। ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ,’ यस दफामा भनिएको छ।
यसो गरेमा कांग्रेस महाधिवेशन २०८३ मंसिरमा हुनुपर्छ। यसका लागि कांग्रेस संस्थापनइतर पनि तयार देखिन्छ। तर सभापति देउवा आफैं भने महाधिवेशन २०८४ को निर्वाचनपछि गर्ने तयारीमा देखिन्छन्। देउवा आफू प्रधानमन्त्री बनेपछि निर्वाचनमा आफ्नै हातले टिकट बाँड्ने र त्यसपछि मात्र महाधिवेशन गर्नेको मनस्थितिमा छन्।
एमालेसँगको सहमतिमा दायाँबायाँ नभए देउवा अबको डेढ वर्षपछि प्रधानमन्त्री बन्नेछन्। यही बटमलाइन देखाउँदै कांग्रेस नेताहरुले देउवाकै लाइनमा अभिव्यक्ति दिन थालेका हुन्।
कांग्रेस महामन्त्री थापा २०८२ मंसिरमा महाधिवेशन गर्ने सम्भावना टर्दै गएको बताउँछन्। ‘कांग्रेसको विधानअनुसार २०८२ मंसिरमा चार वर्षको कार्यकाल सकिन्छ। हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने हो। तर, पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन,’ थापाले भने।
चुनावअघि महाधिवेशन गर्दा पार्टीमा तिक्तता आउने र त्यो मतदानमा पोखिने त्रासमा देखिन्छन् सभापतिका अर्का आकांक्षी डा शशांक कोइराला। ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ,’ शशांक भन्छन्, ‘२०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ।’
यसो गरेमा कांग्रेसको अवस्था निकै नाजुक हुने संस्थापनइतरका नेता शेखर बताउँछन्। ‘०८३ मंसिरमा हुनुपर्ने हो, मैले त समयमै अधिवेशन गरौं भनिरहेको छु। विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था छ। त्यसमा समन्वय गर्नुपर्छ। तर, चुनावपछि महाधिवेशन गर्यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ,’ शेखरले भने।