सहकारी ठगीका मुद्दा बढेको बढ्यै, ८९ प्रतिशत प्रतिवादी फरारको सूचीमा, केही विदेशमा

बिजमाण्डू
२०८१ फागुन ५ गते १९:३७ | Feb 17, 2025
सहकारी ठगीका मुद्दा बढेको बढ्यै, ८९ प्रतिशत प्रतिवादी फरारको सूचीमा, केही विदेशमा


काठमाडौं। सहकारी ठगीमा ८९ प्रतिशत प्रतिवादी फरार रहेको देखिएको छ। सात महिनामा ४८ वटा मुद्दामा ३९३ जनालाई प्रतिवादी बनाइएकामा ३५० जना फरार रहेको पाइएको हो।

Tata
GBIME
NLIC

५ अर्ब ११ करोड २० लाख ४७ हजार ६३९ रुपैयाँ ठगी भएको भनेर दायर गरिएको मुद्दामा प्रहरीले ४३ जनालाई मात्र पक्राउ गरेको छ।

गत आर्थिक वर्ष सहकारी ठगीमा १०१ वटा मुद्दामा १ हजार १६४ जना प्रतिवादी बनाइएकामा प्रहरीले २९४ जनालाई मात्र पक्राउ गरेको थियो। पोहोर सहकारीको ११ अर्ब ६८ करोड ६५ लाख ८० हजार ७९६ रुपैयाँ ठगी भएको भन्दै मुद्दा दायर गरिएको थियो।

आर्थिक वर्ष २०७९/८० मा ९३ वटा सहकारीको ११ अर्ब ५३ करोड २८ लाख २९२ रुपैयाँ ठगिएको भन्दै ७६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा ५५३ जना फरार सूचीमा छन्।

सूर्यदर्शन लगायत ५ वटा सहकारी ठगीमा जोडिएका जीबी राई, ज्ञानबहादुर बम्जन, भुपेन्द्र राई, सुमेरु सहकारीको बचत अपचलन गर्ने भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन लगायत विदेश पुगेका छन्।

सहकारी ठगीका मुद्दा बढेपनि प्रहरीले ठगीमा संलग्न धेरैलाई पक्राउ नै गर्न नसकेको तीन वर्षको तथ्यांकले देखाउँछ।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल ठकुरीले राजनीतिक कारणसहित प्रहरीमा कामको चाप भएको कारण पनि सहकारी ठगीका धेरै प्रतिवादी फरार भएको बताउँछन्।

‘धेरै प्रतिवादी फरार हुनुको थोरै कारण राजनीतिक पनि हो। अर्को प्रहरीमा ओभरलोड देखिन्छ। स्रोतसाधन कम हुँदा प्रहरीको प्राथमिकता कम परेको हो,’ मल्लले भने।