
हैदराबाद। त्यहीँ पर विद्या बालन नसीरुद्दीन शाहसँग ‘उह ला ला’ गीतमा कम्मर मर्काइरहेकी छन्। उनको अनुहारमा मुस्कान छ, चालमा मादकता।
अर्को कुनामा बाजीराव सिंघम बनेका अजय देवगन दाँत किट्दै, मुट्ठी कस्दै प्रकाश राजलाई पछार्न उद्यत छन्। निर्देशक रोहित सेट्ठीले ‘एक्सन’ भन्नासाथ हावामा लात हान्दै, धुलो उडाउँदै उनीहरू लडाइँमा व्यस्त हुन्छन्।
शाहरुख खान ‘चेन्नई एक्सप्रेस’ को आफ्नै शैलीमा दीपिका पादुकोणलाई बोकेर मन्दिरका सिँढीहरू उक्लिरहेका छन्। उनको अनुहारमा प्रेमको भाव र कमेडीको स्वाद मिसिएको छ। मन्दिरको भव्यता, पृष्ठभूमिमा नारायणका मूर्तिहरू- सबै मिलेर दृश्यलाई जीवित बनाइरहेका छन्।
त्यसको केही पर, बाहुबली प्रभास शिवगामिनी देवीको भव्य दरबारमा तरबार नचाउँदैछन्। उनको अनुहारमा आक्रोश, आँखामा विजयको हुटहुटी छ। सेट यति भव्य छ कि क्षणभरलाई लाग्छ- यो वास्तविक दरबार हो, जहाँ युद्धको तयारी हुँदैछ। तरबारको झन्कार र प्रभासको गर्जनले दृश्यलाई कस्तो भव्य बनाएको !

सोच्नुस् त- एकै ठाउँमा कति धेरै समय, पात्र र कथाहरूले सास फेरेका होलान्?
एउटै स्टुडियोमा नृत्यको मादकता, रोमाञ्चक एक्सन, प्रेमको मिठास र युद्धको आक्रोश सबै छायांकन भइरहेछन्। त्यहीँ रेल प्लेटफर्म छ, एयरपोर्टदेखि ट्याक्सी स्टेसन छ। हस्पिटल छ, जेल छ, भव्य हवेलीदेखि झुपटपट्टीसम्म छ।
कलाकारहरूको अभिनय मात्र होइन सेटको डिजाइन, प्रकाशको कला, क्यामेराको चमत्कार सबै कुरा एकै ठाउँमा छ- हैदराबादको रामोजी फिल्म सिटीमा।
तेलंगाना राज्यको हैदराबाद ‘आइटी-हब’ बन्नुअघि दुई कुराले चर्चित थियो- पहिलो बिरयाानी र दोस्रो रामोजी फिल्म स्टुडियो।
सन् १९९६ मा रामोजी रावले लगभग २ हजार एकर (८१० हेक्टर) जग्गामा हैदराबादबाट करिब २५ किलोमिटर दूरीमा फिल्म सिटी खोलेका थिए। प्रारम्भिक लगानी एक हजार करोड भारु भनिएको छ।
रामोजी फिल्म सिटीले प्रत्यक्ष रूपमा लगभग १ हजार ५०० जनालाई स्थायी रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा होटल, यातायात, क्याटरिङ आदि क्षेत्रमा हजारौंलाई रोजगारी दिएको छ। यसबाहेक फिल्म सुटिङको समयमा थप अस्थायी रोजगारीको अवसर प्रदान गरिरहेको छ।

यहाँबाट मात्र वार्षिक करिब ३००-४०० करोड रुपैयाँको कारोबार हुन्छ। स्थापनादेखि हालसम्म लगभग यहाँ दुई हजार भन्दा बढी फिल्महरूको सुटिङ भइसकेका छन्। वार्षिक औसत १५०-२०० फिल्महरूको सुटिङ हुने गर्छ। पर्यटन आम्दानी मात्रै पनि ५० देखि ६० करोड भारतीय रुपैयाँ हुने गरेको छ।
फिल्म सिटीभित्र ५० भन्दाबढी इन्डोर स्टुडियो, १०० माथि आउटडोर लोकेसन, आधुनिक पोस्ट-प्रोडक्सन सुविधाहरू, फिल्म सिटी होटल, मनोरञ्जन पार्क, विवाह गन्तव्य र ब्यान्क्वेट सुविधा छन्। अब डिजिटल स्टुडियो विस्तारका साथै भीएफएक्स सेन्टर, फिल्म एकेडेमी र थप पर्यटन सुविधाहरू थप्ने योजना छ।
+++
काठमाडौंबाट केही किलोमिटर टाँढा दोलखाको एक खुला मैदानमा सरकारको प्राथमिकतामा कहिले नपरेको एउटा योजनाको ब्लुप्रिन्ट थन्किएर बसेको छ- नेपालको पहिलो फिल्म सिटी। हरेक वर्ष बजेट भाषणमा दोहोरिने यो सपनाले अझै मूर्त रूप लिन भने सकेको छैन।
त्यसमाथि सरकारले यसपालि काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गर्ने अर्को घोषणा गरिदिएको छ।
बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरेको छ। दोलखामा फिल्म सिटी बनाउन वैशाख महिनामा सम्पन्न लगानी सम्मेलनमा यो परियोजना शो-केसमा राखिएको थियो।
चलचित्र विकास बोर्डको अद्यावधिक तथ्यांक अनुसार नेपालमा वार्षिक १००-१५० फिल्म निर्माण हुन्छन्। औसतमा एकदेखि दुई करोडमा फिल्म निर्माण भइसक्छन्।

सानो बजार, ठूलो लगानी पर्ने भएकाले सरकारले फिल्म सिटीलाई बजेटमा नछुटाए पनि निर्माणमा कहिले प्राथमिकता नदिएको प्रष्ट बुझिन्छ। तर, जुन बेला हैदराबादको फिल्म सिटी बन्दै थियो भारतीय बजार पनि ठूलो र फराकिलो बनिसकेको थिएन।
‘हामीसँग वार्षिक १५० वटा फिल्म छन्, जसको औसत बजेट २ करोड पनि नपुग्ला,’ अहिले सिनेमाहलमा चलिरहेको ‘दुखी आत्मा’ फिल्मका निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘सानो रकमको बजार भएको उद्योगले अर्बौं लगानीको फिल्म सिटी धान्न सक्छ?’
तर, यहाँ एउटा फरक दृष्टिकोण पनि छ। ‘हामी फिल्म सिटीलाई केवल फिल्मी हबको रूपमा नहेरौं,’ दोलखाका पर्यटन व्यवसायी बालकृष्ण शिवाकोटीले बिजमाण्डूसँग भने।
उनका अनुसार नेपालको प्राकृतिक सुन्दरतासँग जोडिएको फिल्म सिटी अन्तर्राष्ट्रिय फिल्म निर्माताहरूका लागि आकर्षक गन्तव्य बन्न सक्छ। दोलखामा हिमाल छोएजस्तै अनुभव गर्न सकिन्छ भने अलिकति ओरालो झर्ने बित्तिकै तराईजस्तो समथर भूमि पनि भेटिन्छ।
यो तर्कलाई बल पुर्याउँछ न्यूजिल्यान्डको उदाहरणले।
टेलिभिजन इतिहासकै सबैभन्दा महँगो सिरिज ‘लर्ड अफ द रिङ्स’ अमेरिकी निर्माताले न्यूजिल्यान्डमा बनाएका हुन्। एक अर्ब डलरको ‘लर्ड अफ द रिङ्स’ को सफलतापछि त्यहाँको फिल्म पर्यटनले फड्को मारेको हो। त्यसैलाई जोडेर अन्य पर्यटन पनि मौलाएको छ।

‘हामीलाई रामोजी फिल्म सिटीको पूर्ण प्रतिलिपि चाहिँदैन,’ निर्देशक लामा भन्छन्, ‘हामीलाई चाहिन्छ मौलिक नेपाली मोडेल- जहाँ सुरुवात सानो स्केलबाट होस् र विकास क्रमिक होस्।’
उनको प्रस्ताव छ- पहिलो चरणमा २०० करोडको लगानीमा आधारभूत पूर्वाधार निर्माण। त्यसपछि बजार विस्तारसँगै लगानी बढाउँदै जाने। यो जोखिम व्यवस्थापनको उत्तम विधि पनि हो।
तर, यहाँ अर्को पक्ष पनि छ- प्राविधिक जनशक्ति।
रामोजी फिल्म सिटीमा ५०० भन्दा बढी प्राविधिक कर्मचारी छन्। नेपालमा यो संख्या निकै कम छ। तर, जनशक्ति उत्पादन गर्ने यो त अवसर पनि हो नि। फिल्म सिटीले रोजगारीको नयाँ क्षेत्र खोल्न सक्छ।
आखिर, नेपालको फिल्म सिटी सपना कति टाढा छ?
‘यो भन्दा पनि महत्त्वपूर्ण प्रश्न हो- हामी कहिलेबाट निर्माण सुरु गर्छौं भन्ने हो,’ लामा भन्छन्।