कोदो र फापर : गाउँमा हेपानमा परेका अन्नमाथि सहर आकर्षित, खपतसँगै आयात वृद्धि

सरला सुवेदी
२०८१ माघ १९ गते ०९:५३ | Feb 1, 2025
कोदो र फापर : गाउँमा हेपानमा परेका अन्नमाथि सहर आकर्षित, खपतसँगै आयात वृद्धि


काठमाडौं। गाउँबस्तीमा खानामा भात नै पहिलो प्राथमिकतामा पर्छ। चामल भएन भने मात्रै गणनामा पर्ने अन्न हुन् कोदो र फापर। पछिल्ला वर्ष बजार क्षेत्रमा भने कोदो र फापरको खपत बढ्दै गएको छ। विदेशबाट पनि माग बढ्दा स्वदेशी उत्पादन निर्यात भइरहेको छ भने आन्तरिक बजारमाग आयातले धान्न थालेको छ।

Tata
GBIME
NLIC

स्वास्थ्यका लागि लाभदायक भएको स्वास्थ्यकर्मी तथा डाइटिसियनहरुको सल्लाहले यी अन्नको खपत बढाउन मद्दत गरेको छ। सर्वसाधारणका घरमा मात्र होइन होटल रेष्टुरेन्ट र साना खाजा पसलहरुसँगै सरकारी कार्यालयका क्यान्टिनसम्म कोदो र फापरका परिकार बन्न थालेका छन्।

पहिले पहिले गाउँघरमा जाडोयाममा खाइने कोदो यतिबेला सदाबहार बन्दै गएको छ। फापर र कोदो पहाडी क्षेत्रको अन्न बाली हो। धानका लागि सिँचाई पर्याप्त नहुने भेगमा कोदो लगाइन्छ। पहाडी र हिमाली भेगका यी अन्नले बजार पाइरहँदा आन्तरिक उत्पादनले नपुगेर आयात पनि भइरहेको छ। विदेश पुगेका नेपालीबाट पनि गाउँघरका यी अन्नको माग बढेको छ।

पोषक तत्वले भरिपूर्ण र अर्गानिक भएकाले स्वास्थ्यकर्मीले कोदो र फापरका परिकार सेवन गर्न सुझाइरहँदा रोटी, सुप र ढिँडो खान मन पराउनेहरुको संख्या वृद्धि भइरहेको छ। तोङ्बा कोदोको घरेलु मदिराका रुपमा बजारमा चलेको त छँदैछ कोदोको रक्सी उत्पादन पनि व्यापकरुपमा बढेको छ।

बजारमा हाल कोदोको पिठो प्रति केजी १५० रुपैयाँ देखि २०० सय रुपैयाँसम्म पाइन्छ। फापर प्रति केजी २५० देखि ३०० रुपैयाँ छ। व्यवसायीले ठाउँअनुसारको भाउ फरक फरक राख्छन्।

यी अन्नको बजारमा बढेको खपतलाई देखेर बिस्कुट उद्योगीहरुको पनि ध्यानाकर्षण भएको छ। कोदोबाट बनेका बिस्कुट, कुकिज, मम र चोकोज बजारमा आउनुले यसको पुष्टि गर्छ।

कोदो र फापरका लागि धानखेतीजस्तो हेरचाह, पानी र मल आवश्यक पर्दैन। तर, नेपालमा बजार बढ्दा पनि कोदो र फापरको खेती बढेको छैन। आन्तरिक माग धान्ने परिमाणमा स्वदेशी उत्पादन नहुँदा कोदो र फापरको आयात बढिरहेको छ।

केही समययता कोदो र फापरको पिठोको माग बढ्न थालेको वेलनेश हेल्थ फुड सपका संचालक विक्रम पाण्डेले बताए। जुम्लामा उत्पादित कोदो र फापरको पिठो बिक्री गर्दै आएका उनका अनुसार पछिल्लो समय उपभोक्ताले खपत बढाएका छन्। ‘अर्गानिक खेती हुने जिल्लाबाट ल्याइएका कोदो र फापरको बजारमा खोजी हुन्छ,’ उनले भने।

कृषि पशुपन्छी तथा विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा २ लाख ६७ हजार ७१ हेक्टर जग्गामा कोदो खेती हुने गरेको छ। वार्षिक उत्पादन साढे तीन लाख मेट्रिक टन हाराहारी छ। पहिलेदेखि नै यो बालीको खेती परम्परागत रुपमा निर्वाहमुखी मात्रै छ। व्यवसायिक खेतीको परिमाण नगण्य छ।

‘सरकारको नीति नै धान, गहुँ र मकैमा मात्र केन्द्रित छ,’ कृषि विज्ञ छविलाल पौडेल भन्छन्, ‘कोदो, फापर, लट्टे अनुसन्धानको पहिलो प्राथमिकतामा परेको छैन।’ लोकल उत्पादनलाई अनुसन्धान गरी प्राथमिकतामा राख्न नसक्दा अपेक्षित उत्पादन हुन नसकेको उनको बुझाइ छ।

धान, गहुँ र मकै नहुने भए मात्रै कोदो, फापर जस्ता बाली किसानले छनोट गर्ने उनले बताए। अनुसन्धानसँगै उत्पादन वृद्धिका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनी बताउँछन्। ‘पहिलो प्राथमिकतामा नपरेको बाली भयो, त्यसमाथि बिउमा सुधार कार्यक्रम हुनुपर्ने, अझै छैन। माटो सुधार नगर्दा उत्पादन बढ्न नसकेको हो,’ उनले भने।

उनका अनुसार पहिले पहिले धानखेती हुने जमिनमा कुलो मासिएपछि किसानले कोदो लगाउन थालेका छन्। बजारमागका अनुपातमा उत्पादन वृद्धि नभए पनि केही समययता मुलुकमा कोदोको उत्पादन क्षेत्र खासै घटेको छैन। कुनै कुनै ठाउँमा खेती हुन छाड्दा पानी नपुग्ने ठाउँहरुमा खेती बढ्दै छ। ‘कोदो खेतीको क्षेत्रफल र उत्पादन परिमाणमा खासै फरक परेको छैन। तर, हामीलाई चाहिनेजति उत्पादन लिन भने किसानलाई यी बालीका लागि प्रोत्साहित गरिनुपर्ने खाँचो छ,’ विज्ञ पौडेलले भने।

बर्सेनि खेती गरिने क्षेत्रहरुमा उत्पादन राम्रो भए पनि सरकारले ध्यान नदिँदा बजारमागमा अनुपातमा आन्तरिक उत्पादन नबढेर आयात गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

फापरको च्याँख्ला

फापरको उत्पादन क्षेत्र भने घटेको उनले बताए। ‘माग धेरै तर उत्पादन कम छ,’ उनले भने, ‘अब बजार हेरेर किसानले आफैं खेतीमा अग्रसरता लिँदा फाइदा हुन्छ।’

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी हेपिएका कोदो र फापर बालीको संरक्षण हुन नसकेको बताउँछन्। ‘अन्य बालीजस्तो यसलाई  सरकारले समेत ध्यान दिएको छैन। खेतीयोग्य जमिन घट्दै जाँदा बजारमा माग बढ्दै छ,’ उनले भने, ‘यी दोस्रो दर्जाका बाली होइनन्। बजार बढेको छ, हामीले खेती विस्तार गर्दा फाइदा नै हुन्छ।’

देशका विभिन्न जिल्लामा अझै पनि कोदो र फापर निर्वाहमुखी तवरले मात्रै खेती भइरहेको उनले बताए। ‘अहिलेको बजार बुझेर आधुनिक र व्यवसायिक खेतीमा जानैपर्छ,’ उनले भने, ‘सरकारले कोदो र फापरको खेती कसरी बढाउने भन्नेमा प्रवर्धन कार्यक्रम ल्याउनुपर्छ। भाउ पाउने ग्यारेन्टी भए किसानले खेती नगर्ने भन्ने हुँदैन।’

बजारमागका अनुपातमा खेती नबढाउँदा बर्सेनि आयात परिमाण उच्च हुँदै जाने उनले बताए। ‘बजार बुझेका किसानले खेती बढाएका पनि छन्। तर, अझै बढाउन उनीहरुलाई प्रोत्साहनको खाँचो देखिन्छ,’ उनी भन्छन्, ‘आयात घटाउनका लागि बाली विस्तारको विशेष कार्यक्रम ल्याउनु पर्छ।’  

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँमा कोदो खेती । तीन वर्षयता यहाँ किसानले कोदोको खेती गर्न थालेका हुन्। फाइल तस्बिर : रासस

निर्यातमा वृद्धि

चालु आर्थिक वर्षमा फापर र कोदोको निर्यात पनि बढिरहेको छ। भारत, अष्ट्रेलिया, डेनमार्क, बेल्जियम जापान, कोरिया, हङकङ, अमेरिकामा नेपाली उत्पादन निर्यात भइरहेको भन्सार विभागले जनाएको छ। 

चालु आर्थिक वर्षको ६ महिनामामात्रै फापर, कोदो र कोदोको बिउ गरी करिब १ करोड २९ लाख रुपैयाँको ५४ हजार ११ केजी निर्यात भएको छ। गत वर्षको तुलनामा चालु वर्षको ६ महिनामा निर्यात बढेको देखिएको छ।

यो अवधिमा फापर बढी निर्यात भएको छ। फापर करिब एक लाख १७ हजार केजी निर्यात भएको छ। कोदोको बिउ पनि धेरै निर्यात हुने गरेको छ। जसमा ३५ हजार ५ सय २६ केजी कोदोको बिउ निर्यात भएको छ। कोदो मात्रको निर्यात परिमाण ८ हजार ९ सय १० केजी छ।

आर्थिक वर्ष २०८०/८१ मा फापर, कोदो र कोदोको बिउ गरी करिब १ करोड ३७ लाख रुपैयाँको  निर्यात भएको थियो। परिमाण करिब ९५ हजार २ सय ४८ केजी थियो। उक्त अवधिमा ७५ लाख ९८ हजारको फापर ४८ हजार ४ सय ९० केजी, कोदोको बिउ ५६ लाख २९ हजार रुपैयाँको ४१ हजार ४ सय ५४ केजी र कोदो ५ लाख ६७ हजारको ५ हजार ३ सय ४ केजी निर्यात भएको छ।

 तीन वर्ष यता आयातको अवस्था

स्थानीय बजारमा कोदो र फापरको खपत बढेसँगै विदेशबाट आयात पनि वृद्धि भएको छ। कोदो र फापरको आयात मुख्यतः भारतबाट हुने गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४७ करोड ३३ हजार रुपैयाँको ९४ लाख ५१ हजार केजी कोदो आयात भएको छ। ७ करोड २३ लाख रुपैयाँको ९ लाख ३६ हजार ७०० केजी फापर आयात भएको छ।

गत वर्षको ६ महिनामा ४३ करोड ६७ लाखको कोदो र १ करोड ४४ लाख रुपैयाँको फापर आयात भएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँको एक करोड ५२ लाख केजी कोदो आयात भएको थियो।४ करोड ६१ लाख ३९ हजारको ६ लाख ८८ हजार केजी फापर आयात भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कोदो ७ करोड १९ लाख रुपैयाँको १ करोड ८० लाख ४४ हजार केजी र ८३ लाख २१ हजारको १ लाख २३ हजार ४०० केजी फापर आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।