
काठमाडौं। उपभोक्ता कर्जामा आएको सुधार र ऋणको ‘एभरग्रिनिङ’ का कारण बैंकहरुले पुस महिना मात्र ९३ अर्ब ६७ करोड रुपैयाँ ऋण बिस्तार गरेका छन्।
पछिल्ला दिन बैंकहरुमा गाडी, घरजस्ता ऋणको माग आइरहेको छ। आधार दरकै हाराहारीमा बैंकहरुले उपभोक्ता कर्जा दिन थालेको असर ऋण बिस्तारमा देखिएको हो। यसबाहेक महत्वपूर्ण कारण भनेको- एभरग्रिनिङ हो।
पुस मसान्तको हिसाब ठिकठाक देखाउन बैंकहरुले घुमाउरो माध्यम प्रयोग गरेर एउटा ऋण तिर्न अर्को सृजना गराइरहेका हुन्छन्। यहीबेला बैंकमा लिमिट लिएर बसेकाहरुले सरकारको राजस्वदेखि ब्याज भुक्तानीसम्मका लागि त्यो लिमिट प्रयोग गर्ने हुँदा पनि ऋण बिस्तार उच्च देखिएको हो।
२० वटा वाणिज्य बैंकमध्ये कृषि विकासबाहेक १९ बैंकले ऋण बढाएका छन्। बैंकरहरुले कर्जाको माग बढ्न थालेकाले लगानी बढेको बताएका हुन्। यही बेला कतिपय ठूलो जलविद्युत आयोजनाहरुले पनि पहिले प्रतिबद्धता जनाएको ऋण लिएका छन्। त्यसले पनि बढ्न गएको हो।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ ब्याजदर सस्तिएको र आर्थिक गतिविधि बढ्न थालेकाले कर्जाको माग बढ्न थालेको बताउँछन्।
‘कर्जाको ब्याजदर धेरै तल आइसकेको अवस्था छ। सस्तो ब्याजदरका कारण कर्जाको माग बढेको छ,’ उनले भने, ‘नेपालमा प्रशोधन गरी निर्यात हुने तेलको कच्चा पदार्थ आयातका लागि कर्जाको माग उच्च छ।’
पुसमा एभरेष्ट बैंकले सबैभन्दा धेरै १२ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड, नबिल बैंकले ९ अर्ब ५३ करोड, लक्ष्मी सनराइज बैंकले ७ अर्ब ९१ करोड र सिटिजन्स बैंकले ५ अर्ब ९९ करोड कर्जा प्रवाह गरेका छन्। पुसमा कुमारी बैंकले सबैभन्दा कम १४ करोड कर्जा प्रवाह गरेको छ। कृषि विकास बैंकले कर्जा पुसमा १ करोडले खुम्चिएको छ।
राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल सस्तो ब्याजदरका कारण पूर्वाधार लगायत क्षेत्रमा लगानी बढ्न थालेको बताउँछन्। ‘ब्याजदर सस्तो भएका कारण र केही कर्जा स्वाप भएर पनि लगानी बढेको हो,’ उनले भने।
वाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था
वाणिज्य बैंक | २०८१ पुससम्म कर्जा (रु. अर्बमा) | २०८१ मंसिरसम्म कर्जा (रु. अर्बमा) | फरक (रु. अर्बमा) |
कृषि विकास | २०६.९४ | २०६.९५ | -०.०१ |
सिटिजन्स | १६६.७ | १६०.७१ | ५.९९ |
एभरेष्ट | २१७.३१ | २०५ | १२.३१ |
ग्लोबल आइएमई | ४३०.५ | ४२६.४२ | ४.०८ |
हिमालयन | २४७.३७ | २४३.५७ | ३.८ |
कुमारी | ३०५.३ | ३०५.१६ | ०.१४ |
लक्ष्मी सनराइज | २७८.०४ | २७०.१३ | ७.९१ |
माछापुच्छ्रे | १३९.५ | १३७.७ | १.८ |
नबिल | ४०९.११ | ३९९.५८ | ९.५३ |
नेपाल | २२२.८७ | २१८.८८ | ३.९९ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ३५५.४२ | ३५१.२४ | ४.१८ |
नेपाल एसबिआई | १३९.५ | १३५.४३ | ४.०७ |
एनआईसी एसिया | २६१.१३ | २५७.३६ | ३.७७ |
एनएमबि | २२९.४८ | २२४.४९ | ४.९९ |
प्रभु | २३१.२ | २२८.५७ | २.६३ |
प्राइम कमर्सियल | २११.७ | २०७.२८ | ४.४२ |
राष्ट्रिय वाणिज्य | २८४.३४ | २७३.६८ | १०.६६ |
सानिमा | १७४.५२ | १७१.४६ | ३.०६ |
सिद्धार्थ | २१६.३५ | २१२.९९ | ३.३६ |
स्टान्डर्ड चाटर्ड | ८८.३४ | ८५.३३ | ३.०१ |
जम्मा | ४८१५.६२ | ४७२१.९३ | ९३.६९ |
बैंकहरुले साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। कात्तिकमा भने ऋण लगानी खुम्चिएको थियो।
पुसमा बैंकहरुबाट प्रवाह भएको ९३ अर्ब ६७ करोड कर्जामध्ये ४१ अर्ब रुपैयाँ अन्तिम दुई दिन अर्थात पुस २८ र २९ गते गएको हो। पुस २७ सम्म बैंकहरुले ४७ खर्ब ८४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका थिए। त्यसैले अन्तिम दुई दिनमा गएको कर्जालाई राष्ट्र बैंकले स्वाभाविक मानेको छैन।
राष्ट्र बैंकका अधिकारीहरु बैंकहरुले अन्तिम दुई दिनमा प्रवाह गरेको भनेको कर्जा एभरग्रिनिङका लागि भएको बताउँछन्।
‘अन्तिम दुई दिनमा ४१ अर्ब कर्जाको माग भएको कुरा पत्यारिलो होइन। बैंकहरुले एभरग्रिनिङका लागि छुट्याएका हुन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘मसान्तमा ब्याज तिर्नुपर्ने हुन्छ। ब्याज तिर्नका लागि बैंकहरुले नयाँ ऋण सृजना गरेका हुन्। विगतमा पनि मसान्तका बेला यसैगरी ह्वात्तै ऋण बढ्ने गरेको थियो।’
ब्याज असुल नभएर निष्क्रिय अवस्थामा जाने कर्जालाई सक्रिय अवस्थामा कायम राख्न ऋणीलाई विभिन्न शीर्षकमा थप ऋण दिने अभ्यास छ। ‘पुरानो ऋणको ब्याज असुल गर्न मसान्तमा बैंकहरुले कर्जा बढाएका हुन्। कर्जा असुली कठिन भइरहेका बेला बैंकहरुले एभरग्रिनिङको आइडिया लगाउने गरेका छन्। यो हामीले बुझेका छौं,’ राष्ट्र बैंकका ती अधिकारीले भने।
बैंकरहरु पनि व्यवसायको आम्दानीबाट ऋण तिर्न नसक्ने जानकारी गराएका ऋणीलाई विभिन्न शीर्षकमा थप कर्जा लगानी गरी निष्क्रिय कर्जा घटाउने प्रयास गरेको स्वीकार गर्छन्।
पुसमा थपियो ५० अर्ब निक्षेप
पुसमा वाणिज्य बैंकहरुमा ५० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेपको ब्याजदर घटेपनि रेमिटेन्स बढेका कारण बैंकमा पैसा बढेको हो।
पुसमा १५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने खुम्चिएको छ। एनएमबि बैंकमा सबैभन्दा धेरै ८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप थपिएको छ। त्यसैगरी एनआईसी एसिया बैंकमा ८ अर्ब ३७ करोड, कुमारी बैंकमा ७ अर्ब ६१ करोड र नेपाल बैंकमा ७ अर्ब ३१ करोड निक्षेप थपिएको छ।
पुसमा कृषि विकास बैंकमा सबैभन्दा धेरै ६ अर्ब १ करोड रुपैयाँ निक्षेप घटेको छ। हिमालयन, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि खुम्चिएको छ।
वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था
वाणिज्य बैंक | २०८१ पुससम्म निक्षेप (रु. अर्बमा) | २०८१ मंसिरसम्म निक्षेप (रु. अर्बमा) | फरक (रु. अर्बमा) |
कृषि विकास | २५१.६२ | २५७.७२ | -६.१ |
सिटिजन्स | १९७.६२ | १९५.८३ | १.७९ |
एभरेष्ट | २५२.५८ | २४५.९ | ६.६८ |
ग्लोबल आइएमई | ५३४.०७ | ५२८.७ | ५.३७ |
हिमालयन | ३०४.५४ | ३०८.३८ | -३.८४ |
कुमारी | ३६६.६४ | ३५९.०३ | ७.६१ |
लक्ष्मी सनराइज | ३४५.२१ | ३४३.८७ | १.३४ |
माछापुच्छ्रे | १६७.१८ | १६५.९७ | १.२१ |
नबिल | ४८९.१३ | ४९२.३६ | -३.२३ |
नेपाल | ३०७.८३ | ३००.५२ | ७.३१ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ४४५.१४ | ४४८.५७ | -३.४३ |
नेपाल एसबिआई | १८९.१७ | १८५.६८ | ३.४९ |
एनआईसी एसिया | ३१३.९१ | ३०५.५४ | ८.३७ |
एनएमबि | २४९.४१ | २४०.४५ | ८.९६ |
प्रभु | ३०९.७३ | ३०५.२८ | ४.४५ |
प्राइम कमर्सियल | २३५.७४ | २२९.९६ | ५.७८ |
राष्ट्रिय वाणिज्य | ४४६.८२ | ४४७.२८ | -०.४६ |
सानिमा | २०९.४२ | २०६.६७ | २.७५ |
सिद्धार्थ | २४७.१३ | २४५.७४ | १.३९ |
स्टान्डर्ड चाटर्ड | १२४.८८ | १२३.५४ | १.३४ |
जम्मा | ५९८७.७७ | ५९३६.९९ | ५०.७८ |
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय निक्षेपभन्दा असुलीमा केन्द्रित भएकाले त्यसको असर परेको बताउँछन्। ‘पछिल्लो समय हामी असुलीमा केन्द्रित छौं,’ उनले भने, ‘अन्य बैंकको तुलनामा ब्याजदर केही कम भएकाले पनि निक्षेप केही घटेको हो।’