
काठमडौं । नेपालमा एकातिर आशालाग्दा विकासहरू देखिन थालेका छन् भने अर्कोतिर चिन्ताजनक प्रवृत्तिहरू कायमै छन्। यी विरोधाभासहरूले अर्थतन्त्रको वास्तविक स्थिति बुझ्न कठिन बनेको छ।
काठमाडौं उपत्यकाको घरजग्गा बजारमा पछिल्लो दुई वर्षयताकै अप्रत्याशित वृद्धि देखिएको छ, अर्कोतिर धितोमा राखिएका तीनै घरजग्गाहरु बिक्री नभएर बैंकहरूको खराब कर्जा उक्लिरहेको छ।
एकातिर विद्युतीयलगायत सबै खालका सवारीसाधनको आयात बढेर गएको छ तर सरकारको राजस्व वृद्धिमा सुधार छैन। बैंक ऋण गाडीलगायत उपभोग्य क्षेत्रमा गइरहेको छ, औद्योगिक उत्पादन क्षेत्रमा लगानी गर्न बैंकहरु डराइरहेका छन्।
विदेशमा काम गर्न गएका नेपालीले पठाएको पैसाका कारण बाह्य क्षेत्रका सबै सूचक उच्च छन्, उनीहरु बाहिरिएकै कारण यहाँको आन्तरिक उत्पादन र उपभोग दुवै घटेर गएको छ।
यी परस्पर विरोधी संकेतहरूले देशको अर्थतन्त्र कुन दिशातर्फ गइरहेको छ भनेर खुट्याउनै सकस परेको छ।
‘हामीले मुलभूत रुपमा बुझ्नु पर्ने कुरा के हो भने – राजस्वको स्रोतले आन्तरिक खर्च पुर्याउन नसकिने अवस्था आएको छ। केही सूचकहरु राम्रो देखिए पनि धेरै कुराले हामी डरलाग्दो अवस्थामा छौं,’ काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा अर्थशास्त्री प्राडा अच्युत वाग्ले भन्छन्।
अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारको कर संकलन लक्ष्य पूरा हुन सकेको छैन। आयकर र मूल्य अभिवृद्धि कर संकलनमा गिरावट तथा अन्तःशुल्कमा कमीले राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ। सरकारका लागि अनिवार्य भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ।
पुँजी बजार सूचकले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ।
अर्थमन्त्री, गभर्नरलगायत सरकारी ओहदामा बसेकारुले भने केही सकारात्मक सूचकहरु देखाएर अर्थतन्त्रमा सुधार आएको बताइरहेका छन्।
अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका बैंकरहरु भने अहिलेको अवस्था मिश्रित रहेको बताउँछन्।
‘अर्थतन्त्र सुधारको बाटोमा छ, तर यो गहिरो चुनौतीहरूसँग पनि जुधिरहेको छ। बाह्य क्षेत्र सकारात्मक भए पनि राजस्व अभाव र कमजोर पुँजी निर्माणले दीर्घकालीन दिगोपनामा प्रश्न उठाएका छन्,’ नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली भन्छन्, ‘आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउन र सरकारी वित्तीय संकट समाधान गर्न दिगो नीतिहरू र प्रभावकारी कार्यान्वयन अनिवार्य छ।’

नेपालमा लक्जरी आइटम मानिने गाडीहरुको बिक्री घटेको छैन। चालु वर्ष फोरह्विलर विद्युतीय कार ५ हजार ८०० वटा आएका छन्। मंसिरमा मात्र १५ वटा भित्रिसकेको छ। पेट्रोलियम गाडी एक महिनामा ९७६ वटा भित्रिएको छ, जबकी चालु वर्षको पाँच महिनामा ३ हजार २८५ वटा भित्रिसकेको छ।
आयात निर्यात व्यापारमा सुधार देखिएको छ। चालु वर्ष मंसिरमा आयातमा राम्रो सुधार देखिएको हो। मंसिरमा १ खर्ब ४८ अर्ब १० करोड रुपैयाँको वस्तु आयात भएको छ। कात्तिकमा आयात १ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएकामा मंसिरमा त्योभन्दा २६ अर्ब बढीको वस्तु भित्रिएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु आयात भएको छ। यो आयात पोहोर ५ महिनाको तुलनामा ३ प्रतिशत धेरै हो।
पोहोरको तुलनामा निर्यात १६.५४ प्रतिशतले बढेको छ। यसपालि ५ महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। त्यसमध्ये २१ अर्ब रुपैयाँको वस्तु मंसिरमा मात्र निर्यात भएको हो।
चालु आर्थिक वर्ष मंसिरमा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँले व्यवसाय बढाएका छन्। पछिल्ला महिनाहरुको तुलनामा केही कम देखिए पनि पोहोरभन्दा बढि हो।
चालु वर्ष साउनमा २ अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह भएकामा कात्तिकमा कर्जा २ अर्बले खुम्चिन पुगेको थियो। बैंकहरुले मंसिरमा खासगरी हाइड्रोपावर क्षेत्रमा कर्जा लगानी बढाएका छन्।
‘अहिले जलविद्युत क्षेत्रबाट ऋणको माग आएको छ,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने।
लामो समयदेखि कारोबार खुम्चिएको घरजग्गा किनबेचमा पनि सुधार छ। गएका दुई वर्षको मंसिरको तुलनामा चालु वर्षको मंसिरमा घरजग्गा कारोबारमा वृद्धि देखिएको हो।
महँगा घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाउँछ। घरजग्गा किनबेचको संख्याको तुलनामा राजस्वमा भएको वृद्धिले महँगा प्रोपर्टीको कारोबार बढेको देखाएको हो। अर्थतन्त्र मन्दीमा गएको छ भनिरहँदा महँगा घरजग्गा किनबेच भएका हुन्।

गत साउनमा यो वर्षकै धेरै ४३ हजार ८३५ लिखत पारित हुँदा ३ अर्ब ८३ करोड राजस्व उठेकामा मंसिरमा ४२ हजार ३३५ लिखत पारितबाट ४ अर्ब ६२ करोड रुपैयाँ उठेको छ। यो रकम चालु वर्षका पाँच महिना मध्येमा सबैभन्दा धेरै हो। भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७ र कात्तिकमा ३२ हजार ८१० लिखत पारित भएको थियो।
त्यसो त अघिल्ला दुई वर्षसँग तुलना गर्ने हो भने पनि मंसिरमा घरजग्गा किनबेच बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०८०/८१ को मंसिरमा ४१ हजार ८५१ र २०७९/८० को मंसिरमा २९ हजार १८४ लिखत पारित भएको थियो।
घरजग्गा किनबेचबाट गत वर्ष २०८०/८१ को मंसिरमा २ अर्ब ८६ करोड र २०७९/८० को मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठेको थियो।
यसबाहेक घरनिर्माण हुन थालेपछि डन्डी-सिमेन्ट उद्योगहरुले भाउ बढाएका छन्। माग आउन थालेपछि उनीहरुले कार्टेलिङ गरेर बोरामै १५० रुपैयाँसम्मले सिमेन्टको भाउ बढाएका हुन्।
आर्थिक गतिविधि बढेका केही संकेतहरु देखिरहँदा केही चुनौतीहरु झन् गहिरो बनिरहेको छ। गत असोजसम्म ५ प्रतिशतभन्दा कम रहेको बैंकहरुको खराब ऋण अनुपात पुस मसान्तमा ५ प्रतिशत माथि पुग्ने बैंकरको हिसाबकिताव छ।
‘नियामकीय सहुलियतले खराब ऋण एक्सपोज भइसकेको छैन,’ नबिलका ज्ञवालीले भने, ‘अब ती सहुलियतहरु हटेसँगै खराब ऋणको मात्र बढ्ने देखिन्छ।’
सरकारको राजस्व संकलन लक्ष्यभन्दा निकै कम छ। पुँजी बजार सुस्त छ, बैंकहरूको घट्दो नाफा र समग्र आर्थिक गतिविधिमा आएको कमीले कर संकलनमा प्रत्यक्ष असर परेको छ। व्यापार-व्यवसाय नचलेकै प्रतिफल हो- बैंकको बढ्दो खराब कर्जा।
‘सुधारका केही संकेतहरू देखिए पनि नेपालले अझै आर्थिक स्थिरताको गहिरो अभाव महसुस गरिरहेको छ,’ उनले भने, ‘कमजोर राजस्व, बढ्दो दायित्व र वित्तीय क्षेत्रको जोखिमले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउने सम्भावना देखिन्छ।’