
काठमाडौं। वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी-पुँजीमा प्रतिफल (आरओई) निरन्तर घट्दै गएको छ। अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंकहरुको खुद ब्याज आम्दानीमा कमी, घट्दो शुल्क तथा कमिसन आम्दानी र नोक्सानी व्यवस्थापनका लागि धेरै रकम छुट्याउनु परेका कारण आरओई घट्दै गएको हो।
जम्मा ३ बैंकको आरओई बढ्दा १७ वटाको घटेको छ। सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई नै आरओई भनिन्छ।
आर्थिक वर्ष २०७८/७९ मा २१.९४ प्रतिशतसम्म रहेको आरओई २०८०/०८१ मा आइपुग्दा ४.८० प्रतिशतसम्म झरेको छ।आरओई घट्नु भनेको सेयरधनीले पाउने प्रतिफल खुम्चिनु हो।
बजारमा आर्थिक गतिविधि सुस्त हुँदाको प्रभाव अहिले बैंकको आरओईमा परेको बैंकरहरु बताउँछन्। नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका सीइओ सुरेन्द्र रेग्मीले अर्थतन्त्र शिथिल हुँदा बैंकहरुले व्यवसाय बढाउन नसकेको र कर्जा असुली पनि प्रभावित भएकाले आरओई घटेको बताए।
‘पछिल्लो समय कर्जाको माग सुस्त छ। बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था हो। निक्षेप लिएर बस्नु भनेको नाफा संकुचन हुनु नै हो। अन्तत: यसले लागत नै बढाउने हो,’ रेग्मीले भने, ‘एकातिर थुप्रिएको निक्षेपले लागत बढाएको छ भने अर्कातिर लगानी गरेको रकम नउठ्दा कर्जा नोक्सानी बढेको अवस्था छ। अनि आरओई त घट्ने नै भयो।’
बैंकहरुको आम्दानी घट्नुको अर्को प्रमुख कारण नोक्सानी व्यवस्थापन हो। व्यापार व्यवसाय प्रभावित भएर कर्जा उठाउन नसकेपछि प्रोभिजनिङ बढेको छ।
‘खराब ऋण नदेखाए पनि नोक्सानी व्यवस्थापन गर्नु पर्यो। यसले पनि आम्दानी कम भएर आरओई घटेको देखिन्छ,’ रेग्मीले भने।
कृषि विकास, एभरेष्ट र हिमालयन बैंकको भने आरओई बढेको छ। सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा माथि छ। पुँजी वृद्धिको तुलनामा बैंकहरुले व्यवसाय गर्न सकेका छैनन्।
आरओईका आधारमा स्टान्डर्ड चाटर्ड बैंक एक नम्बरमा छ। यो बैंकको आरओई १९.१८ प्रतिशत छ।
दोस्रोमा एभरेष्ट र तेस्रोमा प्रभु बैंक छन्। एभरेष्टको १५.३७ र प्रभुको १४.०२ प्रतिशत आरओई छ। सबैभन्दा कम आरओई हुनेमा नेपाल बैंक छ। यसको आरओई ४.५८ प्रतिशतमा सीमित छ।
एनआईसी एसियाको आरओई पछिल्लो दुई वर्षमा सबैभन्दा धेरै खुम्चिएको छ। आर्थिक वर्ष २०७८/७९ मा २१.९४ प्रतिशत रहेको एनआईसी एसियाको आरओई २०८०/८१ मा आइपुग्दा ४.८० प्रतिशतमा झरेको छ। त्यसैगरी पछिल्लो दुई वर्षमा राष्ट्रिय वाणिज्य बैंकको आरओई ११.६ प्रतिशत विन्दुले घटेको छ।
वाणिज्य बैंकहरुको औसत आरओई दुई वर्षमा १४.०८ बाट १०.२९ प्रतिशतमा झरेको छ। आरओई ओरालो लाग्नुको कारण नियामकीय व्यवस्था पनि भएको बैंकरहरु बताउँछन्।
राष्ट्र बैंकले स्प्रेड दरमा कडाइ गरेर मूल्य तोक्ने अधिकार बैंक वित्तीय संस्थाबाट खोसेको छ। यसबाहेक अन्य आय हुने क्षेत्रमा दर तोकिदिएको छ। यसले बैंकहरुको आम्दानी घटेर प्रतिफल कम भएको हो।
ग्लोबल आइएमई बैंकका पूर्वसीइओ रत्नराज बज्राचार्य बैंकहरुको उच्च लागत र न्यून आम्दानीका कारण आरओई घट्दै गएको बताउँछन् ।
‘कस्टअफ फण्डको आधारमा बेसरेट घट्ने बित्तिकै इमिडियट प्रिमियममा जान पाइँदैन। बैंकले लागत कन्ट्रोल गर्छु भन्दा पनि सकिंदैन,’ उनले भने, ‘यसले बैंकको नाफामा लङ्टर्म असर पारेको छ। अर्को बैंकको आम्दानी फि हो। बैंकले अहिले दिइरहेको सेवा यही लागतले धान्नै सकस पर्छ।’
वाणिज्य बैंकहरुको आरओईको अवस्था
वाणिज्य बैंकहरु | २०८०/०८१ | २०७९/८० | २०७८/७९ |
कृषि विकास | १०.९१% | ९.९६% | ८.६६% |
सिटिजन्स | ६.६४% | ११.५९% | १२.२४% |
एभरेष्ट | १५.३७% | १३.३१% | १२.६४% |
ग्लोबल आइएमई | १०.९४% | १४.१०% | १३.८०% |
हिमालयन | ८.००% | १०.०२% | १२.८३% |
कुमारी | ६.६३% | ५.६१% | १४.७३% |
लक्ष्मी सनराइज | ८.०४% | ६.४०% | १२.५७% |
माछापुच्छ्रे | ७.७९% | १२.७९% | १६.९१% |
नबिल | १३.४५% | १४.८९% | १०.४४% |
नेपाल | ४.५८% | १०.२९% | १०.०४% |
नेपाल इन्भेष्टमेन्ट मेगा | ९.२७% | ७.९७% | १३.८०% |
नेपाल एसबिआइ | ११.५२% | १३.७६% | १०.५९% |
एनआईसी एसिया | ४.८०% | १८.६१% | २१.९४% |
एनएमबि | ८.७४% | १३.५३% | १५.७५% |
प्रभु | १४.०२% | ९.१४% | १३.८०% |
प्राइम कमर्सियल | १३.९०% | ८.६५% | १५.४२% |
राष्ट्रिय वाणिज्य | ६.८५% | १०.०१% | १८.४५% |
सानिमा | १२.८२% | १५.६३% | १५.४८% |
सिद्धार्थ | १२.२३% | १४.३२% | १७.२२% |
स्टान्डर्ड चाटर्ड | १९.१८% | २१.१७% | १४.३३% |
औसत | १०.२९% | १२.०९% | १४.०८% |