सन् २००४ मा भारतीय राष्ट्रिय कंग्रेसलाई ठूलै आपत् पर्यो। पार्टी अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्न चाहन्थिन् तर उनलाई रोक्न विपक्षी भारतीय जनता पार्टीले सबै अस्त्र प्रयोग गर्यो। त्यसबीच कंग्रेसभित्रै एकजना पात्रको नाम प्रस्ताव भयो, जसलाई ओरालो लाग्दै गरेको भारतीय अर्थतन्त्र त उकास्नु थियो नै सँगै गान्धी लिगेसीलाई पनि जीवन्त बनाउन सहयोग गर्नु थियो। उनी थिए डा. मनमोहन सिंह।
अहिले भारत जुन रफ्तारमा प्रविधि र अर्थतन्त्रको विकासमा अघि बढिरहेको छ। त्यसको श्रय यिनै अर्थशास्त्रीलाई जान्छ। विपक्षीले समेत प्रशंसा गरिरहने पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति नयाँ दिल्लीमा उपचारका क्रममा निधन भयो।
उनको निधनसँगै भारतले एक कुशल राजनेतामात्रै गुमाएको छैन, गाह्रो बेला देशलाई मन्दीबाट विक्षिप्त हुन रोक्ने प्रशासक गुमाएको छ। अहिले धेरै नेताहरुले सामाजिक संजालमा यस्तै प्रतिक्रिया दिइरहेका छन्।
पंजाब विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापन गर्ने मनमोहनले दिल्ली स्कुल अफ इकोनोमिक्समा समेत पढाए। पढाउँदा पढाउँदै उनी सन् १९७२ मा भारतीय वित्त मन्त्रालयको सल्लाहकार बने। सन् १९७६ मा उनले वित्त मन्त्रालयको सचिवका रुपमा समेत काम गरे।
अर्थतन्त्रलाई आधार बनाएर प्राध्यापन र प्रशासन चलाउँदै आएका सिंह सन् १९८२ मा भारतीय रिजर्भ बैंकको गभर्नर नियुक्त भए। उनको कार्यकाल सन् १९८५ सम्म रह्यो। त्यसपछि भारतीय योजना आयोगको उपाध्यक्षका रुपमा उनले १९८७ सम्म काम गरे।
सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री पीभी नरसिम्हा रावले मनमोहनलाई अर्थमन्त्री बनाउने निधो गरे। यहीँबाट सुरु भयो उनको राजनीतिक यात्रा।
‘यदि हामी सफल भयौं भने त्यसको श्रय हामी दुवैलाई जानेछ। तर यदि सफल भएनौं भने त्यसको जिम्मेवारी तपाईंमाथि आउनेछ,’ रावले मनमोहनलाई सपथ अघि भनेका थिए।
राव त्यसबेला भन्थे : म यस्तो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहन्छु जसको विश्वस्तरमा ठूलो सम्मान छ।
रावलाई विभिन्न अर्थशास्त्रीहरुको नाम पेस गरियो। अधिकांशको नामलाई रावले ‘इन्टरटेन’ नै गरेनन्। सन् १९९१ जुन २० मा रावले प्रधानमन्त्रीको शपथ लिनु थियो। मनमोहनलाई त्यसको एक दिन अघिमात्रै खबर भयो : तपाईंलाई प्रधानमन्त्री राव आफ्नो अर्थमन्त्री बनाउन चाहन्छन्।
रावलाई पीसी एलेक्जेन्डरले मनमोहनको नाम सिफारिस गरेका थिए। एलेक्जेन्डर रावका विश्वासिला सल्लाहकार थिए।
‘त्यस समयमा मनमोहन सिंह निदाइरहेका थिए। किनभने उनी बिहानै मात्रै विदेश यात्राबाट फर्किएका थिए। उनलाई उठाएर भनियो कि अब उनी भारतको नयाँ वित्त मन्त्री हुनेछन्,’ मनमोहनको जीवनी लेख्ने विनय सीतापतिले भनेका छन्।
तर, मनमोहनलाई त्यसबेला यो ‘अफर’माथि विश्वास नै भएन। जब राव आफैंले फोन गरे तब मात्र मनमोहनलाई विश्वास भएको थियो।
‘यदि हामी सफल भयौं भने त्यसको श्रय हामी दुवैलाई जानेछ। तर यदि सफल भएनौं भने त्यसको जिम्मेवारी तपाईंमाथि आउनेछ,’ रावले मनमोहनलाई शपथअघि भनेका थिए। त्यसबेला भारतको अर्थतन्त्र मन्दी केन्द्रित थियो।
रावले त्यसबेला मनमोहनलाई अर्थमन्त्रीमा छानेका थिए जब भारतको अर्थतन्त्र ढल्ने करिब निश्चित अवस्थामा थियो। विदेशी मुद्रा सटहीको अवस्था नाजुक थियो। सामान आयात गर्न धौधौको अवस्था थियो। राज्यले ल्याएका आर्थिक नीति असफल बनिरहेका थिए। यी सबै परिस्थिति परिवर्तन गर्यो सन् १९९१ मा सिंहले ल्याएको बजेटले।
पहिलो बजेट भाषणमा सिंहले भिक्टर ह्युगोलाई सम्झँदै भनेका थिए, ‘यो संसारमा यस्तो कुनै शक्ति छैन जसले त्यो विचारलाई रोक्न सकोस् जसको समय आइसकेको छ।’
उनको यही विचार आधुनिक भारतको अर्थतन्त्रको जग बन्यो। सिंहले आर्थिक सुधारका प्याकेज अघि सारे। विविध करहरु कटौती गरे। सरकारी कम्पनीलाई निजीकरण गरे। विदेशी निवेशलाई बढाए। उदारवादी अर्थतन्त्रको जगमा भारतको अर्थतन्त्र सबल हुन सक्छ भन्ने नीति लिए। भारतको कूल गार्हस्थ उत्पादनले उकालो ग्राफ समाउन थालेको पनि यही बेलादेखि नै हो।
सन् १९८० को दशकमा खस्किँदो भारतीय अर्थतन्त्र सन् १९९० को दशकमा सबल भयो। भारतमा उद्योग स्थापना तीब्र गतिले भयो। बढ्दो महँगी नियन्त्रणमा आयो। बजेटमा व्यवस्था भए झैं भारत विदेशी निवेशका लागि पहिला भन्दा निकै उदार भयो।
अहिले मनमोहनलाई सम्झनेहरु उनको कार्यशैलीको प्रशंसा गर्छन्। उनले लिएका नीतिहरुले नै भारतको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताइरहेका छन्। सामाजिक संजाल हेर्दा धेरैको निष्कर्ष छ : रावले मनमोहन नखोजेको भए भारतको आर्थिक अवस्था अहिलेको जस्तो हुँदैन थियो!
मनमोहनलाई थाहा थियो उनको जनाधार राजनीति होइन। यद्यपि, उनी राजनीतिबाट टाढा रहन सकेनन्। सन् १९९९ मा उनी लोकसभा निर्वाचनमा पराजित भए। त्यसपछि कंग्रेसले उनलाई राज्यसभामा पठायो।
राजनीतिबाट टाढा हुने बताउने उनलाई २००४ मा अर्को मौका मिल्यो, प्रधानमन्त्री बन्ने। सोनिया गान्धी प्रधानमन्त्री बन्न नसकेपछि मनमोहनलाई अघि सारिएको थियो। उनको यो यात्रामा ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ किताब र फिल्म नै बनेको छ। यद्यपि, ‘क्रिटिक्स’हरु यसमा मनमोहनलाई कमजोर पात्रको रुपमा देखाउन खोजिएकोमा आपत्ति जनाउँछन्।
मनमोहन सन् २००४ मा प्रधानमन्त्री बने। धेरैले भने : मनमोहन प्रधानमन्त्री भए पनि सरकार चलाउने सोनिया गान्धीले नै हो। कार्यकालभर मनमोहनको छवि यही धारणा वरिपरि नै बित्यो। यद्यपि, प्रधानमन्त्री हुँदा उनले अर्थमन्त्री हुँदाताका लिएका नीतिलाई नै निरन्तरता दिए। उनको प्रधानमन्त्रीकालमा भारतको अर्थतन्त्र थप बलियो बन्यो।
उनी दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्न सफल भए। जवाहरलाल नेहरु र इन्दिरा गान्धी पछि लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेका थिए त्यसबेला मनमोहन। अहिले यो रेकर्ड नरेन्द्र मोदीले तोड्दै छन्। मोदी पनि सिंहको प्रशंसा गर्नबाट पछि हट्दैनन्। राज्यसभामा भएको एक मतदानमा मनमोहन ह्विलचेयरमा उपस्थित हुँदा मोदीले पक्ष विपक्ष भनेनन्। मनमोहनको उपस्थितिलाई ‘लोकतन्त्रको जित’ भनेका थिए।
अर्थमन्त्री हुँदा मनमोहनले उदार नीतिलाई जसरी बढावा दिएका थिए, प्रधानमन्त्रीको कार्यकालमा पूर्वाधार निर्माणमा लगानी गरे। प्रविधि र टेलिकम्युनिकेसन क्षेत्रलाई सुधार्ने र बलियो बनाउने नीति ल्याए। छिमेकी देशसँगै अन्य राष्ट्रसँग सम्बन्ध सुधारे। नेपालसँगको सम्बन्धमा पनि सुधार ल्याउने प्रयास गरेको जानकार बताउँछन्। आफ्नो प्रधानमन्त्री कालमा नेपाल नआए पनि नेपालमा शासन व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापित हुँदा सिंह नै प्रधानमन्त्री थिए।
सिंहले प्रोटोकल तोड्दै तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए। त्यसबखत उनले कोइरालालाई निडर र एसियाका ठूला नेता भेका थिए। यस्तै, सन् २०१६ मा गिरिजा प्रसाद कोइरालाको निधन हुँदा पनि सिंहले कोइरालालाई दक्षिण एसियाकै ठूला नेताको संज्ञा दिएका थिए।
दक्षिण एसियाको अर्थतन्त्र ‘इन्फर्मल इकोनमी’मा आधारित छ। त्यसलाई बुझेका मनमोहनले खुद्रा बजारको व्यवस्थापन र विस्तारमा पनि कम गरे।
भारतलाई परमाणु प्रविधिसम्म पहुँच हुने राष्ट्र बनाउन पनि उनले भूमिका खेले। अमेरिकासँग परमाणु सम्झौता गरे। जसकारण समर्थन गरिरहेका राजनीतिक दलहरुले साथ छोडे। तर, मनमोहन पछि हटेनन्। अन्य दलको साथमा सरकार टिकाए।
मनमोहनको पहिलो कार्यकाल जति सफल रह्यो दोस्रो कार्यकाल त्यति नै विवादित पनि। उनका मन्त्रीहरुमाथि भ्रष्टाचारको आरोप लाग्यो। विपक्षले संसद् ठप्प नै पार्यो। सुष्मा स्वराज र मनमोहनबीच संसदमै चलेको सायरीको जुहारी अहिले पनि धेरैलाई याद नै छ। सन् २०१४ को नतिजा त्यस्तै घोटाला र राजनीतिक खिचातानीको नतिजा थियो।
धेरैले मनमोहनलाई ‘कमजोर प्रधानमन्त्री’ भने। उनी आरोपप्रत्यारोपबाट डग्मगाएनन्। उनले दोस्रो कार्यकाल पूरा गर्दै गर्दा भनेका थिए : पूर्ण प्रतिबद्धता र समर्पणका साथ मैले काम गरेको छु।
यो कुरामा दुईमत छैन मनमोहनलाई गान्धी परिवारले नै अघि सारेको हो। सायद कतिपय क्षणमा उनले पार्टीलाई माथि राखे। भनौं- गान्धी परिवारलाई नै अघि सारे। यसबारेमा उनको आलोचना पनि हुने गर्छ। तर, उनले भारतको अर्थतन्त्रलाई उकास्न जुन भूमिका खेले, त्यसले अरु सबै विषयहरुलाई गौण बनायो।
मनमोहनको निधनसँगै उनको सबल पक्षको अहिले जताजतै चर्चा भइरहेको छ। सायद भारतीय इतिहासले उनले चाहेजसरी नै उनलाई यादमा राख्ला। उनी विरोधबीच भनिरहन्थे : हिस्ट्री ह्विल वी काइन्डर टु मी !