
काठमाडौं। चालु आर्थिक वर्ष ५ महिनामा १४ अर्ब १९ करोड रुपैयाँ बराबरको ५७०२ वटा चारपाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन्। यसबाट सरकारले ७ अर्ब ६७ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा मात्रै १ हजार ४८५ युनिट चार पाङ्ग्रे इभी आयात भएका छन्।
यसैगरी, इन्धनतर्फ पाँच महिनामा ३ हजार २८५ युनिट चार पाङ्ग्रे सवारीसाधन आयात गरिएको छ। ती गाडी ५ अर्ब रुपैयाँ बराबरका हुन्। मंसिरमा आयात गरिएका इन्धन गाडीको संख्या २४२ युनिट छ।
पेट्रोल दुई पाङ्ग्रे सवारी ९३ हजार ५५१ युनिट आयात भएको विभागले जनाएको छ। ती सवारी ११ अर्ब २२ करोड रुपैयाँ बराबरका हुन्।
मंसिरमा ११ हजार ६९४ युनिट बाइक तथा स्कुटर आयात गरिएको छ।
दुई पाङ्ग्रे इभी पाँच महिनामा ३ हजार ८१० युनिट आयात भएको विभागले जनाएको छ। ती इभी ४१ करोड ८८ लाख रुपैयाँ बराबरका हुन्।
सवारीसाधन आयातबाट सरकारले साउनदेखि मंसिरसम्म २९ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।