
काठमाडौं। जनकपुर बोल्ट्स च्याम्पियन बन्दै नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण शनिबार सकियो। यो प्रतियोगितालाई सफल बनाउन खेलकुदकर्मी मात्रै लागेनन्, कर्पोरेट क्षेत्र र समर्थकले पनि राम्रै साथ दिए।
एनपीएलका फ्रेन्चाइजीहरु कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको मैदानमा उत्रिंदा नेपाली कर्पोरेट क्षेत्रबीच छुट्टै प्रतिस्पर्धा थियो। प्रायोजनदेखि विज्ञापनसम्ममा कर्पोरेटबीच होडबाजी चल्यो।
अटो मोबाइल्सको प्रतिस्पर्धा
जनकपुरले सगरमाथा आधार शिविरबाट ल्याइएको ढुंगासहितको ट्रफी उचालेर शनिबार मैदानमा खुसी मनाइरहँदा पराजित टोली सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीमा सबैको नजर थियो। कारण – उनले जितेको कार।
यसपटक उत्कृष्ट खेलाडीले ६२ लाखको कार पाउने घोषणा प्रतियोगिताअगावै गरिएकाले दाबेदारप्रति नजर पर्नु स्वाभाविक नै थियो। ऐरीले मैदानमै हुइँकाएको कारका लागि व्यावसायिक घरानाबीच भएको ‘डिल’ भने छुट्टै छ।
नेपाल क्रिकेट संघ (क्यान)सँग सुरुवाती चरणमा भएको छलफलमा ‘डिपल’ कार दिन एमएडब्लू वृद्धि तयार भएको थियो। तर, डिपलले समयमै निर्णय दिएन। जसले गर्दा बाजी मार्यो शारडा ग्रुप। ओमोडा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता शारडा ग्रुप हो।

ऐरीले पाएको ओमोडा कार एनपीएलअघि पोखरा एभेन्जर्सको मुख्य प्रायोजक हुने तयारीमा थियो। क्यानले १ करोड १५ लाख आसपासको थ्रेसहोल्ड राखेर अटोमोबाइल्स क्षेत्रसँग डिल गरिरहेको थियो।
पारस खड्का डिपलको ब्राण्ड एम्बास्डर भएकोले उत्कृष्ट खेलाडीलाई कार दिने हिसाबले कुरा भयो। तर डिपल गाडी महँगो भएको कुरा उठ्यो।
डिपल ७५ लाख रुपैयाँको भएकाले आयोजकलाई ४० लाख हाराहारी मात्र बाँकी हुने भयो। त्यसपछि पारस विकल्पको खोजीमा लागे। शारडा ग्रुप ओमोडा गाडी दिन तयार भयो। खेलाडीलाई ६२ लाखको गाडी दिंदा क्यानलाई बढी रकम बच्ने भयो।
दुईवटा चिनियाँ इभी ब्रान्डसँग क्यानले ‘डिल’ गरिरहँदा अर्को चिनियाँ इभी ब्रान्ड बीवाइडी भने काठमाडौं गुर्खाजको साथमा गइसकेको थियो। एनपीएलमा पहिलो ‘इन्ट्री’ गर्ने अटोमोबाइल कम्पनी थियो बीवाइडी। बीवाइडी मंसिर ३ गते काठमाडौं गुर्खाजको मुख्य प्रायोजक बनेको थियो।
खेलाडीलाई कार दिने घोषणा गरेको ओमोडाले लिग सुरु भएपछि ‘एनपीएल सिजन, डिल्स इन मोसन’ भन्ने अफर घोषणा गर्यो। जसमा ओमोडा ई-फाइभ वा जेइको जे-सिक्स बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क सडक कर, ७ किलोवाट क्षमताको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमालगायत अफर ल्याइयो। ओमोडा एनपीएलको ‘ड्रिबन बाइ’ पार्टनर बनेको थियो।
एनपीएलमा मंसिर १४ गते अर्को अटोमोबाइल कम्पनी भित्रियो। एनपीएल अघिबाटै भारतीय स्टार ब्याटर शिखर धवनलाई अनुबन्ध गरेर चर्चामा रहेको कर्णाली याक्सको मुख्य प्रायोजक बन्यो अग्नी ग्रुपले बेचिरहेको महिन्द्रा।
प्रतिस्पर्धीहरुले एनपीएलमा धमाधम लगानी गर्न थालेपछि अन्तिम समयमा भारतको महिन्द्राले कर्णालीलाई प्रायोजन गर्यो। महेन्द्राको ब्राण्ड एम्बास्डर र कर्णालीकी एम्बास्डर एकैजना अर्थात स्वस्तिमा खड्का भएकाले त्यहाँ महिन्द्रा र कर्णाली जोडिन पुगेको बताइन्छ।
डिपलले भने फरक रणनीतिमा प्रतिस्पर्धा गर्न यहीबीच नयाँ विज्ञापन ल्यायो। विज्ञापन एनपीएलकै दौरान प्रसारण गरियो। यसमा पारसलाई फिचर गर्दै भनियो : ‘लेजेन्ड्स चुज द पावर’।
नेपाली अटो बजारमा अहिले चिनियाँ विद्युतीय गाडी डिपल, ओमोडा र बीवाइडीबीच प्रतिस्पर्धा छ। खेलाडीले जुन ब्राण्ड प्रयोग गरेपनि लेजेन्डले छान्ने ‘डिपल’ हो भन्ने भाष्य स्थापित गर्न खोजेर कर्पोरेट वार सुरुवात गरियो। एनपीएल लाइभ गरेको डिसहोमको युट्युब च्यानलमा सुरुमा डिपलको मात्रै विज्ञापन बजेकामा पछि अन्य ब्रान्डले पनि विज्ञापनमा ठूलै रकम खर्चिए।
यो प्रतिस्पर्धा दशकौं देखि चल्दै आएको पेप्सी र कोककोलाको विज्ञापनवारसँग मिल्दोजुल्दो थियो।
मैदानमा पनि एनसेल-एनटीसी राइभल
नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा अहिले राज छ : एनसेल र नेपाल टेलिकमको। एनपीएलमा यी दुवै कम्पनीले लगानी गरे।
मंसिर ४ मा एनसेल आधिकारिक रुपमा एनपीएलको पावर्ड बाइ पार्टनर बन्यो। त्यसकै भोलिपल्ट नेपाल टेलिकमले फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको प्रायोजन गर्यो। सुदूरपश्चिमको मुख्य प्रायोजक भने ग्लोबल आईएमई बैंक थियो।
यता टेलिकम फ्रेन्चाइजको प्रायोजक बन्दा एनसेल थप मौकाको फाइदा उठाउन लाग्यो। एनसेलले मंसिर १६ मा फ्रेन्चाइज लुम्बिनी लायन्ससँग मुख्य प्रायोजक बन्ने सम्झौता गर्यो।
एनपीएल सुरु भएपछि यी दुई कम्पनीबीच विभिन्न अफर ल्याउने होडबाजी चल्यो। यसबीचमा यी दुवैले एनपीएल लक्षित विभिन्न डेटा प्लान ल्याएर एनपीएलको माहोललाई सदुपयोग गर्न भरपुर प्रयास गरे।

नेपाल टेलिकमले ‘एनटी क्रिकेट धमाका’ प्याक ल्यायो। ४९९ रुपैयाँमा प्रति दिन ५ जिबी १ महिनासम्म र ६९९ मा १० जिबी प्रति महिना डेटा मिल्ने प्याकेज टेलिकमको थियो।
अर्कातर्फ एनसेलले डेटा प्याकसहित अन्य फरक योजना अघि सार्यो। एनसेल फाउन्डेसनले एनपीएलमा चौकाबापत १५०० रुपैयाँका दरले ग्रामिण भेगका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गर्यो। एनपीएलमा कुल ३७५ चौका हानिएको छ।
एनसेलले त्रिवि मैदानमा एनपीएलका लागि नेटवर्क बुस्टका साथै हटस्पट सुविधा उपलब्ध गरायो। ग्राहकका लागि विभिन्न पाँच स्थानमा १३ वटा सेल राखेर सेवा प्रदान गरेको एनसेलले जनाएको छ। साथै उसले एनपीएल फ्यान प्याक योजना भन्दै अनलिमिटेड युट्युब फ्रीको अफर ल्याएको थियो। एनपीएलका क्रममा दुवै कम्पनीको डेटा प्रयोग ह्वात्तै बढेको थियो।
तीन बैंक, रोचक प्रतिस्पर्धा
एनपीएलमा बैंकिङ क्षेत्रको पनि उस्तै प्रतिस्पर्धा देखियो। सिद्धार्थ बैंक एनपीएलको मुख्य प्रायोजक बन्दा प्रतिस्पर्धी बैंकहरु पनि मैदानमा देखिए।
सबैभन्दा पहिला एभरेस्ट बैंकले पूर्वको फ्रेन्चाइज विराटनगर किंग्सको मुख्य प्रायोजक बन्दै एनपीएलमा इन्ट्री मार्यो।
दोस्रोमा मुख्य प्रायोजक भनेर एनपीएलमा भित्रिएको सिद्धार्थ बैंकले कति रकम खर्चियो भन्ने यकिन हुन सकेको छैन। क्यानका सचिव पारसले सिद्धार्थ बैंकसँगको सम्झौतालाई नेपाली खेलकुदमा हालसम्मकै ठूलो सम्झौता भनेका छन्।
स्रोतहरुका अनुसार सिद्धार्थ बैंकले पहिलो सिजनका लागि मात्र नभइ आगामी केही संस्करणहरुसम्मका लागि नै प्रायोजन गर्ने गरी क्यानसँग समझदारी गरेको छ।
पहिलो सिजनका लागि बैंकले करिब चार करोड रुपैयाँ लगानी गरेको स्रोतको दाबी छ। हरेक सिजनमा केही रकम मुख्य प्रायोजन गरेबापत बढाइने समझदारी भएको भनिएको छ।

एनपीएलमा इन्ट्री गर्ने तेस्रो बैंक बन्यो ग्लोबल आईएमई। प्रतियोगिता सुरु भएको दिन ग्लोबल आईएमईले सुदूरपश्चिमको मुख्य प्रायोजक बनेको घोषणा गरे थियो।
उसो त ग्लोबल आइएमई बैंकको मुख्य संस्थापक रहेको आइएमई ग्रुपले बिडिङबाट फ्रेन्चाइज नै खरिद गर्न आवेदन दिएको थियो। तर, सर्टलिस्टमा परिसकेपछि कारणवश कम्पनी अन्तिम बिडिङमा सामेल नभएको बुझिएको छ।