
काठमाडौं। सांग्रिला मोटर्सले नारायणहिटी संग्रहालयको उत्तरढोकामा ‘कार्स क्याफे’ बनाउने भएको छ।
लिपमोटर, सिट्रोन र प्युजोको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले उत्तर ढोकामा रहेको भिल्ला ७२ रेस्टुरेन्टलाई कार्स क्याफे बनाउने भएको हो।
रेष्टुरेन्ट लिजमा लिएर शोरुमसहित कार्स क्याफे बनाउन लागेको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बताए। ‘हामीले रेष्टुरेन्टलाई ३ वटा ब्रान्डका गाडीको शोरुमसहित कार्स क्याफेका रुपमा विकास गर्न लागेका हौं,’ उनले भने, ‘डिजाइन बनाइसकेका छौं। अबको केही दिनमा काम सुरु हुनेछ।’

श्रेष्ठका अनुसार अगाडिपट्टि सिट्रोन, लिपमोटर र प्युजो ब्रान्डका गाडीको शोरुम हुनेछ भने भित्र क्याफे रहनेछ।
साथीभाइ मिलेर रमाइलो गर्दै ठुलो स्क्रिनमा कुनै गेमहरु मिल्ने वातावरणसहित क्याफे बनाउने उनले बताए। उनका अनुसार शोरुमसहितको क्याफे तीन महिनामा तयार हुनेछ।

रेष्टुरेन्ट परम्परागत शैली झल्काउन खालको छ। वरपर सल्ला र निगालो, बगैँचा बीचमा रहेको भिल्ला, पुराना काठको थाम, भवनमा परम्परागत टुँडाल रेष्टुरेन्टको भौतिक विशेषता हो। अधिकांश संरचनामा काठ प्रयोग गरिएको छ। यसलाई यथावत राखेर अगाडिको भागमा मात्रै शोरुमको स्ट्रक्चर बन्ने श्रेष्ठले बताए।

कम्पनीले रेष्टुरेन्टमा मंसिर ३० देखि पुस ६ गतेसम्म लिपमोटरको टेष्ट ड्राइभ राखेको थियो। टेष्ट ड्राइभमा दैनिक ५० देखि १०० जना सहभागिता भएको श्रेष्ठले जानकारी दिए।