सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न विज्ञहरूको सुझाव

बिजमाण्डू
२०८१ पुष ७ गते १२:४९ | Dec 22, 2024
सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न विज्ञहरूको सुझाव


काठमाडौं। सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नु पर्ने विज्ञहरूले सुझाव दिएका छन्।

Tata
GBIME
NLIC

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरूसँग भएको छलफलमा उनीहरूले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिने बताएका हुन्।

सो क्रममा मन्त्री देबेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवालसमेत जरुरी भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए। विभिन्न निकाय तथा विज्ञहरूसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई दर्बिलो बनाउन र सेवाग्राहीहरूलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थापन तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानुनी तथा नीतिगत जटिलताहरू भएमा त्यस्ता व्यवस्थाहरू सरल पार्न मन्त्रालय तत्पर रहेको समेत बताए।

छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायहरूसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा काम गर्न प्रतिष्ठान अग्रसर रहेको बताए।

यस्तै प्रतिष्ठानकै वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुङ्गेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठ लगायत मन्त्रालयकै प्राविधिकहरूसहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गरे।

त्यस क्रममा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानहरूसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानुनी व्यवस्था सरल बनाउन आग्रह गरेका थिए।