
काठमाडौं। अटो बजारका स्थापित र पुराना ब्रान्डले पनि विद्युतीय सवारीसाधन (इभी) उत्पादनमा फड्को मार्ने तयारी गरेका छन्।
अहिले नयाँ कम्पनीका इभीले बजार लिइरहेको अवस्थामा अब स्थापित र पुराना ब्रान्डले विद्युतीय गाडी उत्पादनमा लगानी बढाउन थालेका छन्।
इभी बजारमा नयाँ कम्पनीले टोयोटा, सुजुकी, टाटा, होन्डा र महिन्द्रा जस्ता अटो बजारका पुराना र स्थापित ब्रान्डलाई पछाडि पारेका छन्। प्रतिस्पर्धामा आफू पछि परेको बुझेरै स्थापित ब्रान्डहरु अब लगानी बढाएर नयाँ मोडल ल्याउने योजनामा अगाडि बढेका हुन्।
स्थापित ब्रान्डहरुले साझेदारी गरेर इभी विस्तारमा लगानी बढाइरहेका छन्। निसान र होन्डाले साझेदारी गरेर इभी निर्माण गर्ने योजना बनाएका छन्। यस्तै टोयोटा र सुजुकीले इभी प्लेटफर्म सेयर गरिरहेका छन्।
स्थापित र पुराना ब्रान्डमध्ये नेपाली बजारमा टाटा र हुन्डाईले इभी बिक्री गरिरहेका छन्। तर सुजुकी, टोयोटा, होन्डा, निसान जस्ता स्थापित ब्रान्डलाई इभीबिना टिक्न मुस्किल भइरहेको छ। त्यसैले उनीहरु अब नेपाली बजारमा इभी भित्र्याउन आतुर देखिन्छन्।
एक दशक पहिले महिन्द्राको इभीले नेपाली बजारमा इभीको इकोसिस्टमलाई जगाएको थियो। विस्तारै उत्पादन बन्द भएपछि महिन्द्रा इभी बिक्रीमा पछाडि पर्यो।
इभीविना टिक्न मुस्किल भएपछि महिन्द्राले एक्सयुभी ४०० इभी बिक्री गर्दै आएको छ। यो गाडी कम्पनीले सोचेअनुसार बिक्री हुन सकेन। तैपनि महिन्द्राले कमब्याक गरिरहेको छ। महिन्द्राले पछिल्लो महिना ल्याएको नयाँ इभीले भारत मात्र नभइ नेपाल र चिनियाँ बजारमा पनि तरंग पैदा गरेको छ।
निसानले नेपाली बजारमा निसान लिफको बिक्री थालेकामा विस्तारै गाडी नै आउन छाड्यो।
नेपाली बजारमा चिनियाँ इभीसँग अहिले टाटाले प्रतिस्पर्धा गरिरहेको छ। कम्पनीले टिगोरदेखि नेक्सन र टियागो इभी बिक्री गर्दै आएको छ। टाटाले चिनियाँ ब्रान्ड बीवाइडीलाई चुनौती दिए पनि नेपाली बजारमा बिक्री हुने बाँकी अधिकांश इभी चिनियाँ हुन्।
अहिले नेपाली बजारमा एक दर्जनभन्दा धेरै इभी ब्रान्ड बिक्री भइरहेका छन्। चिनियाँ ब्रान्ड बीवाइडी पहिलो नम्बरमा छ। चिनियाँ इभीतर्फ ओमोडा, डिपल दोस्रो नम्बरमा छन्।
अन्य स्थापित ब्रान्ड अहिलेसम्म इभी बिक्रीमा अगाडि आउन सकिरहेका छैनन्। नयाँ स्टार्टअप ब्रान्ड सुरुवाती दिनमै इभी केन्द्रित भएकामा स्थापित ब्रान्ड इभीलाई आवश्यक पर्ने प्लेटफर्म निर्माण र रिसर्चमा समय लगाएका कारण पछि परेका हुन्।
ल्याउँदैछन् थुप्रै मोडल
आगामी माघमा भारतको नयाँ दिल्लीमा हुने मोबिलिटी एक्स्पोमा सुजुकी, होन्डा, महिन्द्रा, हुन्डाई र टाटाले नयाँ मोडलका इभी ल्याउँदैछन्।
सुजुकी मोबिलिटी एक्स्पोमा आफ्नो पहिलो इभी उतार्ने तयारीमा छ। सुजुकीले ई-भिटारा र टोयोटाले अर्बन क्रुजर इभी ल्याउने तयारी गरेका हुन्। ती ब्रान्डका इभी नेपाली बजारमा आउन पनि केही समय लाग्नेछ।
यसैगरी, होन्डाले पनि इभी उत्पादन गर्न थालेको छ। होन्डाको नेपालका लागि पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले होन्डा इएनवाई १ नेपाल भित्र्याउने तयारी गरेको छ। यो गाडी इभी एसयुभी हो। होन्डाले चिनियाँ गाडीसँग प्रतिस्पर्धा गर्न इएनवाई १ उत्पादन गरेको हो।
महिन्द्रा दुईवटा इभी नेपाल ल्याउने योजनामा छ। कम्पनीले अघिल्लो महिनामा मात्रै सार्वजनिक गरेका दुई वटा एसयुभी नेपाली बजारमा ल्याइन लागेको हो। कम्पनीले चिनियाँ गाडीसँग प्रतिस्पर्धा गर्नकै लागि बीई-६ र एक्सइभी-९ ई एसयुभी उत्पादन गरेको हो। महिन्द्राको इभी एसयुभीको बिक्री भारत मोबिलिटी एक्स्पोबाट सुरु हुनेछ। ती गाडी केही महिनामा नेपाली बजारमा ल्याउने तयारी छ।
यसैगरी, हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटालाई इभी भर्सनमा ल्याउन लागेको छ। यसअघि ल्याएका इभीले बजारमा राम्रो रेस्पोन्स नपाएपछि हुन्डाई क्रेटालाई इभी भर्सनमा ल्याउनतिर लागेको हो।
कम्पनीले भारत मोबिलिटी एक्स्पोमा क्रेटा इभी लन्च गर्ने निश्चित भएको छ। त्यसको एक महिना पछि नेपालमा भित्र्याउने हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले जनाएको छ।
अर्को ब्रान्ड टाटा पनि इभीका नयाँ मोडलतिर लागेको छ। उसले टाटा कर्भ इभी र नेक्सन इभीको फेसलिफ्ट गाडी बजारमा ल्याइसकेको छ। ती गाडी नेपाली बजारमा भित्र्याउने तयारी छ।
ब्याट्री उत्पादनमा पनि साझेदारी
स्थापित ब्रान्डले इभीका लागि आवश्यक पर्ने ब्याट्री उत्पादनमा पनि साझेदारी गरिरहेका छन्। महिन्द्राले विश्वको दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बीवाइडीसँग साझेदारी गरेको छ। महिन्द्राले बीई-६ र एक्सइभी-९ ईमा बीवाइडीको ब्याट्री प्रयोग गरेको छ।
यस्तै होन्डा र सोनीले पनि इभी निर्माणमा गर्न साझेदारी गरेका छन्। सोनीले ब्याट्री टेक्नोलोजी उपलब्ध गराउने र होन्डाले इभी उत्पादन गर्ने योजना छ। यिनीहरुले सोनी होन्डा मोबिलिटी इंक कम्पनी खडा गरेका छन्।
यसैगरी, सुजुकीले तोशिबा कर्प र डोन्सो कर्प कम्पनीसँग लिथियम आयोन ब्याट्री उत्पादन गर्न साझेदारी गरेको छ। यी दुई कम्पनीले उत्पादन गरेको ब्याट्री सुजुकीको इभीमा प्रयोग हुनेछ।
टोयोटा र सुजुकीले इभी प्लेटफर्मका लागि नै साझेदारी गरेका छन्। सुजुकी ई-भिटारा र टोयोटा अर्बन क्रुजर एउटै प्लेटफर्ममा निर्माण गरिएको छ।