काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार हुन लागेको विशेष साधारण सभामा विधान संशोधनको रस्साकस्सी हुने देखिएको छ।
विधान संशोधनले १४ महिनापछि हुने चुनावलाई प्रत्यक्ष प्रभावित बनाउने भएका कारण अध्यक्षका आकांक्षीहरुले रणनीतिक योजना बनाएकाले रस्साकस्सी हुने देखिएको हो। महासंघको जेठ २० गतेको स्थायी समिति र असार २४ गतेको सातौं कार्यकारिणी समिति बैठकले विधान संशोधनको मस्यौदा सर्वसम्मतरुपमा पारित गरेको थियो।
त्यो संशोधनमार्फत सबैभन्दा महत्वपूर्ण भनेको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने निर्णय गरिएको छ। सँगै दुई कार्यकालपछि मात्रै अध्यक्षमा निर्वाचन हुने गरी स्थायी समिति र कार्यसमितिबाट निर्णय भएको छ। यो भनेको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन्। त्यसपछि वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेको हकमा पनि अहिलेकै प्रावधान कार्यान्वयन हुनेछ।
तर स्थायी समिति र कार्यसमितिबाट भएको निर्णय कार्यान्वयनमा आउन विशेष साधारण सभाले निर्णय गर्नुपर्नेछ। दुई कार्यकालपछि अध्यक्षमा निर्वाचन हुने निर्णय साधारण सभाले गर्न बाँकी छ।
अहिले दुई कार्यकालपछि कार्यान्वयन गर्ने/नगर्ने विषयमा रस्साकस्सी छ। रस्साकस्सी हुने देखेरै महासंघले विधान संशोधनका विषयमा छलफल गर्न दुई साताअघि पूर्वअध्यक्षहरुलाई र्याडिसन होटलमा बोलाएको थियो।
अध्यक्ष चन्द्रप्रसाद ढकालको निम्तोमा पुगेका पूर्वअध्यक्षहरु पनि दुई कार्यकाल गर्ने विषयमा विभाजित बनेका थिए। केही पूर्वअध्यक्षले दुई कार्यकाल गर्नुपर्ने मत दिएका थिए भने केहीले अन्जनपछि अध्यक्षमा निर्वाचन गर्नुपर्ने राय दिएका थिए।
एक समूह विशेष साधारण सभाबाट पारित गराएर दुई कार्यकालपछि कार्यान्वयन गराउन लागेको छ। अर्को समूहले अन्जनपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन गराउनुपर्ने भन्दै जिल्लानगरका सदस्यहरुलाई कन्भिन्स गराउन खोजिरहेको छ।
वरिष्ठ उपाध्यक्षका आकांक्षी हेमराज ढकाल दुई कार्यकाल हुनुपर्ने लबिइङमा छन्। ढकाल प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि दुई कार्यकाल पछि मात्रै अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउँछन्।
‘एउटै व्यक्तिलाई तीन/तीन वटा निर्वाचन गर्ने कुरा न्यायसंगत होइन। हामी कार्यसमितिमा चुनाव लडेर त्यसपछि वरिष्ठ उपाध्यक्षका लागि पनि प्रतिस्पर्धा गर्नुपर्छ। त्यसपछि अध्यक्षको पनि निर्वाचन लड्ने भन्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त विपरित हो,’ उनले भने, ‘अन्जन श्रेष्ठपछि एक कार्यकाल निर्वाचन नगर्दा विवाद पनि कम हुन्छ।’
स्रोतका अनुसार स्थायी समिति र कार्यसमितिबाट सर्वसम्मत रुपमा पारित भएको विधानका विषयमा अहिले केही पदाधिकारी विपक्षमा छन्।
‘बाहिर बोल्न मिल्दैन। तर एक कार्यकालपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणाली ठीक हुन्छ,’ ती पदाधिकारीले भने। अध्यक्ष ढकालले पूर्वअध्यक्ष र अरुको राय बुझिरहेपनि आफ्नो लाइन खुलाएका छैनन्।
वरिष्ठ उपाध्यक्षको आकांक्षी रहेका रामचन्द्र संघईले आफू कार्यसमिति भित्र नरहेकाले केही भन्न नसक्ने जवाफ दिए। ‘म कार्यसमितिमा छैन। विशेष साधारण सभाले जे निर्णय गर्छ, त्यसैलाई मैले शिरोपर गर्नुपर्छ,’ उनले भने, ‘म सधैं मध्यमार्गी हो। त्यही भएर महासंघको गरिमा कायम गर्नका लागि विवाद होइन सहमतिमा अघि बढ्नुपर्छ।’
महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठ भने एक कार्यकालपछि अध्यक्षमा निर्वाचन हुनुपर्ने बताउँछन्। ‘अहिले म जिल्लाका साथीहरुसँग छु। उहाँहरुको मत भनेकै अन्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुनुपर्छ भन्नेमा छ,’ उनले भने, ‘साथीहरुको मतलाई नजरअन्दाज गर्नु हुँदैन।’
महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ दुई कार्यकालपछि मात्रै अध्यक्षमा निर्वाचन हुनुपर्ने बताउँछिन्। ‘पहिला पनि एक कार्यकाल कि दुई कार्यकाल भनेर विवाद भएको थियो। विवाद कम गर्ने हो भने दुई कार्यकाल गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्षकी आकांक्षी श्रेष्ठले भनिन्, ‘यसले संस्थालाई समेत परिपक्व बनाउँछ।’
महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण श्रेष्ठले कार्यसमितिबाट पारित भएको विधानका बारेमा टिप्पणी गर्न नमिल्ने बताए। ‘मैले कार्यसमितिले गरिसकेको निर्णयमा धेरै बोल्न मिल्दैन,’ उनले भने।
कार्यकाल दुई कि तीन वर्ष ?
महासंघले नयाँ नेतृत्वको कार्यकाल तीन वर्ष बनाउने गरी विधान संशोधन गरेको छ। यसमा पनि महासंघभित्र दुई धार छ। पूर्वअध्यक्षको भेलाले कार्यकाल दुई वर्ष बनाउनुपर्ने राय दिएको थियो।
महासंघका पदाधिकारीबीच पनि दुई र तीन वर्षका बारेमा विवाद कायमै छ। त्यसबाहेक वरिष्ठ उपाध्यक्ष दुई जना बनाउने गरी विधान संशोधनको निर्णय भएको छ।
जिल्ला नगर र एसोसिएट तथा वस्तुगतबाट वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय भएको छ। जिल्ला नगरको वेटेज ५० प्रतिशत रहेकाले यतातर्फबाट वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने लबिङ थियो।