दूरसञ्चार प्राधिकरणको अनुगमनमा सञ्चारमन्त्री गुरुङ, काठमाडौंमा फाइभजी सुरु गर्ने दाबी

बिजमाण्डू
२०८१ मंसिर २० गते १७:४८ | Dec 5, 2024
दूरसञ्चार प्राधिकरणको अनुगमनमा सञ्चारमन्त्री गुरुङ, काठमाडौंमा फाइभजी सुरु गर्ने दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाडौं महानगरपालिका भित्र फाइभजी सेवा सुरु गर्न लागिएको दाबी गरेका छन्।

Tata
GBIME
NLIC

बिहीबार जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमनमा पुगेका मन्त्री गुरुङले फाइभजी सुरु गर्न लागेको दाबी गरेका हुन्।

त्यसक्रममा सञ्चार सचिव राधिका अर्यालसहित प्राधिकरण पुगेका गुरुङले सेवा प्रदायकहरुले नेटवर्क विस्तारमा गरिरहेको ढिलाईमा प्राधिकरणको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए।

उनले यस वर्षभित्र जसरी पनि देशैभरी फोरजी नेटवर्क विस्तारमा प्राधिकरणको भूमिका प्रभावकारी बनाउन निर्देशन दिए। यसका साथै मन्त्री गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को कार्यान्वयनलाई लिएर पनि असन्तुष्टि जनाए।

गुरुङले प्राधिकरणको सञ्चालक समितिका सदस्यसहित उच्च कर्मचारीहरुलाई सेवा प्रदायकहरुसँग समन्वय गरेर आरटीडीएफ परिचालन गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा सञ्चार सचिव अर्यालले प्राधिकरणको नियमनकारी भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिइन्।

‘सुरुवात भएका परियोजना लामो समयदेखि सम्पन्न हुन सकेका छैनन् भने नयाँ परियोजनामा प्रवेश गर्न सकिएको छैन,’ उनले भनिन्, ‘सुरु गरिएका काम पूरा गर्नेतर्फ ध्यान दिनुहोला।’

सचिव अर्उयालले दूरसञ्चार ऐन २०५३ संशोधनको प्रक्रियामा रहेको र यसका केही विषयमा बृहत छलफल आवश्यक रहेको औंल्याइन्।

यता प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले आफूहरु भाडाको घरमा बस्दै आएकाले आफ्नै भवन बनाउन आवश्यक रहेको मन्त्री समक्ष सुनाए। यसका लागि जग्गा र बजेट व्यवस्थापनको काम टुंगिएको छैन।

मन्त्री गुरुङले प्रविधिको विकास गर्न भौतिक संरचनाको व्यवस्थापन पहिलो आवश्यकता भएकाले भवन निर्माणमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाएका छन्।