काठ क्षेत्रमा पाइन्छ आनाको ८ लाखमा जग्गा, ग्राहक नपाएर धमाधम भाउ घटाउँदै प्लटिङवाला

नेत्र तामाङ
२०८१ मंसिर १९ गते २१:१४ | Dec 4, 2024
काठ क्षेत्रमा पाइन्छ आनाको ८ लाखमा जग्गा, ग्राहक नपाएर धमाधम भाउ घटाउँदै प्लटिङवाला

काठमाडौं। मंसिर १६ गते दिउँसो १ बजे काठमाडौं नागार्जुन नगरपालिका-८ भीमढुंगाका शिशिर लामा आफ्नै घरको आँगनमा ठिक अगाडिको प्लटिङको डिल गर्दै थिए। भीमढुंगाकै श्याम भट्टराईले लमजुङका जित थापालाई जग्गा देखाउन शिशिरकहाँ ल्याएका थिए।

Tata
GBIME
NLIC

आँगनमा राखिएको मुडामा बसेर जित भन्दै थिए – मलाई ३ आना चाहिएको हो। १६ लाखसम्म पाए अहिले नै लिने।

सीतापाइला-धार्के मुल सडकबाट एक सय मिटरमाथि पाखामा ३ रोपनी जग्गामा बनेको प्लटिङमा ३ आनाको प्लट भने रहेनछ। त्यसैले शिशिर ७ आना लिएर दुई जनालाई आधा आधा गर्न सुझाउँदै थिए।

शिशिरले उनीहरुलाई प्लटिङ भएकै ठाउँ लगे। ‘केही दिनपछि २५ लाख पुग्छ आनाको। अहिले नै लिए २० लाख हो। केही छुट दिएर १८ सम्म मिलाउन सकिन्छ,’ शिशिरले भने।

सीतापाइला रिङरोडबाट ६ किलोमिटर भित्र रहेको यो जग्गा भीमढुंगा बसपार्क नजिकै पर्छ। भिरालो भए पनि पारिलो र बलियो ठाउँ भएकोले आफूले यो ठाउँ रोजेको तर भाउ नमिलेको जितले बताए।

प्लटिङमा कुरा नमिलेपछि श्यामले आफ्नै जग्गा बताउँदै जितलाई शेराफाँटतिर लगे। मुल सडकबाट ५०० मिटरभित्रको फराकिलो गरा भएको खेत आनाको १५ लाखमा उठाउने मान्छेको खोजीमा रहेछन् उनी।

एक वर्षअघि मात्र १६ लाख दिँदा पनि रोकिराखेको तर अहिले घरायसी समस्याले १५ लाखमै बेच्न लागेको उनले सुनाए। ‘बेचिदिने कोही भए उसलाई ३ पर्सेन्ट दिने हो। २६ आना छ अहिले १८ आना बिक्रीमा छ,’ श्यामले भने। यही जग्गा बेच्न उनले १२ फिटको बाटोसमेत लगिसकेका रहेछन्।

सोही दिन ३ बजे टोखा नगरपालिका-१ स्थित साङ्लापाखा पुग्दा दुई स्थानमा प्लटिङका लागि डोजर चल्दै थियो। ठाउँठाउँमा जग्गा खोज्ने र देखाउनेहरु देखिन्थे।

टोखा नगरपालिका-१ पञ्चेटारमा मुख्य सडकबाट ५० मिटरभित्र पौने ५ आना र ६ आनाको खेत देखाउँदै अमर मोक्तान भन्दै थिए, ‘३५ लाख हो आनाको। घर बनाउँदा खर्च पुगेन भनेर बेच्न खोज्दैछन्। ३० लाखसम्ममा दिन्छन् होला।’

उनले मुल सडकबाट ५०० मिटरभित्र जंगल नजिकैको सम्म जग्गालाई आनाको २५ लाख भने। लिने मान्छे भेटिए २० लाखसम्म दिने उनले बताए। धादिङको गल्छीका उनी २० वर्षअघि यतै बस्न थालेका रहेछन्। उनी फर्निचर व्यवसायी हुन्।

पछिल्लो समय जग्गा कारोबार ठप्प रहेकाले उनलाई जग्गाधनीले नै पसलमा कोही सोध्न आए देखाइदिनु भनेका छन्। ‘म जग्गाको काम गर्ने मान्छे होइन। तर यसो बाटो हिँड्ने कसैले सोधे देखाइदिनु भनेर साथीहरुले भनेकाले मात्र हो,’ अमरले भने। सामाखुशीबाट ६ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा खुल्ला देखिन्छ।

५०० मिटर माथि तारकेश्वर नगरपालिका -१ पर्ने रहेछ। साङ्लाफाँट नै नाम राखिएको यहाँ १३ फुटे बाटोमा प्लटिङका जग्गा छन्- आनाको २४ लाखदेखि ३५ लाखसम्म। अपराह्न‍ ४ बजे स्थानीय रामेश्वर काफ्लेले व्यावसायिक प्लटिङ र आफ्नो ४ आना जमिन देखाए।

४२ रोपनीमा ५ वर्षअघि प्लटिङ गरिएकामा कतिपय टुक्रा अझै बिक्री भएको छैन। ‘केही बाँकी छन्। तीन आना, साढे तीन आनादेखि ६ आनासम्मका छन्। आनाको २४ लाखदेखि ३५ लाखसम्म छ,’ काफ्लेले भने।

मूल्य केही घट्न सक्नेतर्फ संकेत गर्दै उनले बाटो नपुगेको तर नक्सामा बाटो भएको २० आना जग्गा पनि देखाए। यहाँ भने उनले आनाको १४ लाख मूल्य तोके।

तारकेश्वर वडा १ स्थित साङ्लाफाँटको प्लटिङ।

मंसिर १७ गते दिउँसो साढे १२ बजे भक्तपुरको चाँगुनारायण हाइट पुग्दा लगभग सुनसान थियो। नगरकोट पदयात्राको रुपमा चिनिने तेलकोट-चाँगु सडक रहेको क्षेत्रमा २ वर्षअघिसम्म जग्गा हेर्नेहरुको चहलपहल हुन्थ्यो।

बाटो अगाडि आनाको १२ लाखसम्म पर्ने जग्गा अहिले ९ लाखमा बिक्रीमा रहेको स्थानीय विष्णु वाइबाले बताए। ‘धमाधम घटाएर बेचिरहेका छन्। ८ लाखसम्ममा पाइन्छ अहिले,’ उनले भने। स्थानीय सरकारले बाटो राम्रो नबनाउँदा जग्गाको व्यापार खस्केको उनको बुझाइ छ।

उनका अनुसार यहाँ १२ फिटको बाटो अगाडी कुनै ठूलो कम्पनीले किनेको २२ रोपनी जग्गा पनि बिक्रीमा छ।

सोही दिन साढे १ बजे साँखुको बज्रयोगिनी जाने पुखुलाक्षी सडककै आडमा विक्रम लामा आफ्नै जग्गा प्लटिङ गर्दै गरेको अवस्थामा भेटिए।

प्लटिङ तयार पारी उनी यो हप्तामा बुकिङ खुलाउने तयारीमा छन्। ‘यता आनाको २२ लाखसम्म भन्छन्। म सडककै अगाडि आनाको १८ लाखमा दिने हो। पहिला आउनेलाई आनामा एक लाख छुट,’ विक्रमले भने, ‘कति पर्खेर बस्नु? अरु ठाउँमा जाने हो यो सकाएर।’

साँखु बजारबाट एक किलोमिटरभित्र मुल सडकमै करिब ६ रोपनीमा फैलिएको प्लटिङमा भित्रका जग्गा भने आनाको १७ लाखका दरले बेच्ने तयारीमा छन् उनी।

ललितपुरको लेले र चापागाउँ क्षेत्रमा पनि अहिले घरजग्गा कारोबार हुन छाडेको छ। असोज दोस्रो साताको बाढीले टीकाभैरव सडक अवरुद्ध बनेपछि जग्गा खोज्नेहरु लेले आउनै छाडेको स्थानीय भीमचन्द्र राईले बताए। ‘अहिले जग्गाबारे सोध्न आउनेहरु पनि देखिंदैनन्,’ राईले भने।