प्रधानमन्त्री ओलीको उपेक्षामा अर्थमन्त्री पौडेल, बीआरआईमा पाएनन् स्थान, पद के होला?

सुदर्शन सापकोटा
२०८१ मंसिर १३ गते १७:५९ | Nov 28, 2024
प्रधानमन्त्री ओलीको उपेक्षामा अर्थमन्त्री पौडेल, बीआरआईमा पाएनन् स्थान, पद के होला?

काठमाडौं। जटिल आर्थिक र राजनीतिक परिदृश्यमा अर्थमन्त्री विष्णु पौडेल आफ्नो प्रभाव गुमाउँदै त गइरहेका छन् नै, आफ्नै नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि उपेक्षित हुन थालेका छन्।

Tata
GBIME
NLIC

फरक-फरक समयका पछिल्ला तीन कार्यकालमा खासै काम नगरे पनि उनी लोकप्रिय अर्थमन्त्रीका रुपमा स्थापित थिए। आज आफ्नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उनलाई पत्याउन छाडेका मात्र छैनन्, काम गर्न नसकेको भनेर अरु मन्त्री र सचिवहरुकै सामुन्ने असन्तुष्टि जनाएका छन्।

पौडेल तेस्रो पटक अर्थमन्त्री हुँदासम्म सेयर बजार हरियो थियो, घरजग्गा कारोबारमा सुधार थियो। यसले गर्दा अर्थतन्त्रका सबै पाङ्ग्रा गुडेका थिए। यस्तो माहोलमा उनले केही पपुलिष्ट कुरा गर्दा पनि बजार प्रोत्साहित हुने गर्थ्यो।

कोभिडपछि अर्थतन्त्र समस्यामा गयो। सुरुवातमा बाह्य क्षेत्र बिग्रियो। त्यसपछि वित्तीय क्षेत्रमा क्षति पुग्न थाल्यो। यी दुबै कारण सार्वजनिक वित्त पनि बिग्रिएको छ।

अहिले बाह्य क्षेत्रमा सुधार छ। तर, सार्वजनिक वित्त जसले समग्र आर्थिक प्रणालीको प्रतिनिधित्व गर्छ त्यो चरम समस्यामा छ। यसको असरले वित्तीय क्षेत्र पनि कमजोर भएको छ। 

यस्तोमा अलिकति सुधार गर्ने बित्तिकै सबै राम्रो हुन्छ भन्ने हिसाबले पौडेलले चौथो पटकका लागि अर्थमन्त्री स्वीकार गरे। उनी आउने बित्तिकै पुरानो ह्याङओभरका कारण केही समय सेयर बजार हरियो भयो। तर, हरियाली टिकाउ भएन।

अहिले बाह्य क्षेत्र बाहेक कुनैपनि सूचक राम्रो छैन। काम गर्न नसकेपछि बिस्तारै आफैं ओझेल परिरहेका अर्थमन्त्रीलाई प्रधानमन्त्री ओलीले समेत उपेक्षा गर्न थालेको देखिएको छ।

चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहमति गर्न कांग्रेस एमाले लगातार संवादमा छन्। दुई दलको सहमतिपछि चीनसँग सम्झौता भएमा धेरै काम अर्थ मन्त्रालयअन्तर्गत हुन्छ। तर, यस्तो महत्वपूर्ण डकुमेन्ट तयार पार्नका लागि सामान्य छलफलमा समेत प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई सहभागी गराएका छैनन्।

सरकारको नेतृत्व गरिरहेको एमाले र संसद्कै ठूलो दल नेपाली कांग्रेस अहिले कार्यदल बनाएर छलफलमा छन्। यत्रो ठूलो परिघटनामा अर्थमन्त्रीका हैसियतले पौडेल जसरी पनि जोडिनु पर्ने थियो, तर उनलाई स्थान दिइएको छैन।

ओलीले पौडेलको साटो राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडालाई अगाडि सारेका छन्। 

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदैछन्। त्यहाँ बीआरआईबारे कुनै न कुनै सम्झौता गर्ने तयारी छ। यसो हुँदा यो भ्रमणमा पनि अर्थमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ। तर, पौडेललाई प्रधानमन्त्रीले नै नचाहेको देखिन्छ।

जानकारहरुका अनुसार पौडेल अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। पार्टीभित्र पखेटा फिजाउन खोजिरहेकी भण्डारीसँग पौडेल नजिकिएको ओलीलाई मन परेको छैन। त्यसैले ओलीले पौडेलको कामप्रति असन्तुष्टि व्यक्त गर्न थालेका हुन्।

अर्को चाहिं सरकार बनेको साढे ४ महिनामा आर्थिकरुपमा देखिने केही न केही काम हुनु पर्ने थियो। तर, अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेका पौडेल कार्यसम्पादनमा निक्कै कमजोर देखिएका छन्। अहिलेको विशिष्टिकृत आर्थिक संकटमा उनको क्षमता कमजोर देखिएको छ।

त्यही भएर पनि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बेवास्ता गर्न थालेका मात्र होइन, काम चित्त बुझेन भन्न थालेका हुन्। ओलीले बुधबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रथम त्रैमासिक समीक्षाका क्रममा परिणाम नदेखिए अब मन्त्रीहरुको पनि समीक्षा गर्ने बताए।

‘अब अल्याङ्टल्याङ गर्ने समय छैन। कुनै मन्त्रीको कार्यक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा हुन्छ, ‘उनले भने, सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्छ। समीक्षा र बैठकहरूले मात्रै परिणाम दिंदैन। त्यसैले उत्पादन र परिवर्तनमा केन्द्रित हुन मन्त्रीज्यू र सचिवज्यूहरुलाई मेरो आग्रह छ।’

अझ एक कदम अघि बढेर प्रधानमन्त्री ओलीले घुमाउरो पारामा अर्थमन्त्रीको कामप्रति असन्तुष्टि व्यक्त गरे। ‘राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन,’ उनले भने, ‘देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ। बन्द भएका उद्योगहरू के गर्ने हो? हामीले चलाउन सक्दैनौं भने चलाउन सक्नेलाई किन नदिने? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?’

यी सबै घटनाक्रम र अभिव्यक्तिले प्रधानमन्त्री ओली कुनैपनि कोणबाट अर्थमन्त्रीसँग खुसी छैनन् भन्ने देखाउँछ। यसपालि ‘लोकप्रियतावाद’को छडी नचलाएका पौडेललाई ओलीले कतै जिम्मेवारीबाट बिमूख गर्ने तयारी त गरिरहेका होइनन् भन्ने संकेत बुधबारको भाषणले गरेको छ।