इन्डस्ट्रियल रोबोटिक्स र वेयरहाउस अटोमेसनमा ग्लोबल लिडर मानिएको भारतीय कम्पनी एडभर्व टेक्नोलोजिज्ले मानिस जस्तै देखिने र एआईबाट निर्देशित रोबोट (ह्युमनोइड रोबोट) चाँडै सार्वजनिक गर्ने घोषणा गरेको छ।
हाल विकासकै क्रममा रहेको उक्त रोबोट उसले सन् २०२५ मा सार्वजनिक गर्दैछ। यो ह्युमनोइड रोबोट बजारमा आएको खण्डमा मोबाइल रोबोट तथा अटोमेसन प्रणालीमा काम गरिरहेको भारतको लागि कोसेढुंगा सावित हुनेछ।
यसअघि एडभर्वले भारतको पहिलो एआई पावर्ड चारखुट्टे रोबोट ‘ट्राकर’ बनाइसकेको छ जसले ठूला उद्योगको वेयरहाउसभित्र मर्मत तथा सुरक्षाको विविध क्षेत्रमा काम गरिरहेको छ।
सन् २०२१ मा कम्पनीले रणनीतिक साझेदारका रुपमा मुकेश अमबानीको रिलायन्सलाई आफूसँग जोड्यो। कम्पनीले हाल रिलायन्सको विविध व्यापार क्षेत्रहरू जस्तै ग्रोसरी, फेसन, पेट्रोकेमिकल तथा स्वास्थ्य सेवा क्षेत्रका लागि उसका अत्याधुनिक रोबोटिक प्रणालीबाट सेवा दिइरहेको छ।
यो परियोजनाका लागि पनि एडभर्वले रिलायन्ससँग निकट रहेर काम गर्नेछ। यी मानआकारको रोबोटहरू बनाएर कम्पनीले रोबोटिक्स बजारमा हाल इलन मस्कको टेस्लाले तयार पारिरहेको ह्युमनोइड रोबोटलाई सिधै टक्कर दिने बताइएको छ।
भारतको नोयडामा रहेको यो रोबोटिक्स कम्पनी एडभर्वले बनाउने उक्त रोबोटले फेसन रिटेल र इनर्जी सेक्टरमात्र नभई विविध क्षेत्रमा सघाउन सक्ने गरीको एआई निर्देशित रोबोटहरूको विकास गरिरहेको जनाएको छ।
यदि यो प्रोजेक्ट सार्वजनिक भएमा विश्व रोबोटिक्स बजारमा भारतको प्रवेशलाई सुनिश्चित गर्नेछ र हाल रोबोटिक्स बजारमा वर्चश्व जमाइरहेका कम्पनीहरू जस्तै टेस्ला, बोस्टन डाइनामिक्स र एजिलिटी रोबोटिक्ससँगै भारतको एडभर्वले पनि प्रवेश पाउनेछ।
‘ह्युमनोइड रोबोटिक्सको सिर्जना गरेर रोजगारको क्षेत्रबाट तीनवटा डि अर्थात डल, डर्टी र डेन्जरलाई हटाउने हाम्रो लक्ष्य हो। हामीले बनाउने रोबोटहरू विश्वस्तरको हुनेछ,’ कम्पनीका सहसंस्थापक तथा सीइओ संगीतकुमारले भने।
कम्पनीले रिलायन्स इन्डस्ट्रिजसँगको रणनीतिक साझेदारीलाई अझ बढाएर जियोको एआई प्लाटफर्म र फाइभ जी सेवाहरूमा रोबोटिक्सको प्रयोगलाई अझ विस्तार गर्ने प्रक्रियामा छ।
एडभर्वका सीइओ संगीत कुमारका अनुसार यी रोबोट निर्माणका लागि ठूलो लगानीको आवश्यकता पर्छ। आफूहरूमा ग्लोबल लिडर रहेका रोबोटिक्स निर्माण कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास रहेको उनले बताए।
हाल टेस्लाले बनाइरहेको अप्टिमस रोबोटको बजार मूल्य २० हजार देखि २५ हजार डलरसम्म पर्ने अनुमान गरिएको छ। चीनका विभिन्न कम्पनीहरूले पनि सरकारी अनुदानमा रोबोटहरू बनाइरहेका छन्।
एडभर्वले हाल रिलायन्स, एचइएल र पेप्सीको, मस्रेक, मोनडायल, रिले, डिएचएल र ल्याण्डमार्क जस्ता ठूला क्लाइन्टहरूलाई सेवा दिइरहेको छ।
मानव शरीर जस्तै देखिने रोबोटहरू मल्टी मोडल डेटाहरू प्रोसेस गर्न सक्षम रहने बताइएको छ। यसमा भएको एआई एजेन्टले भिजन, अडियो र टचको माध्यमबाट ठूलो परिमाणका डेटाहरु प्रोसेस गर्नेछ। यसको सेल्फ लर्निङ अल्गोरिदमले जटिल वातावरणमा पनि तोकिएका कामहरू पूरा गर्न सक्नेछ भने रियल टाइम डिसिजन गर्न सक्ने बताइएको छ। यी रोबोटहरूले वेयरहाउस, डिफेन्स र हेल्थकेयर क्षेत्रमा रुपान्तरणकारी सहयोग पुर्याउने कम्पनीले दाबी गरेको छ।