टेलिम्याटिक्सको भेहिकल ट्र्याकिङ सिस्टम : फोहोर उठाउन निगरानीपछि सार्वजनिक यातायात सुधार्दै

उन्नत सापकोटा
२०८१ कात्तिक २१ गते १५:१६ | Nov 6, 2024
टेलिम्याटिक्सको भेहिकल ट्र्याकिङ सिस्टम : फोहोर उठाउन निगरानीपछि सार्वजनिक यातायात सुधार्दै

काठमाडौं। कुनैबेला काठमाडौंका सबै स्थानका फोहोर उठ्दैनथ्यो। भित्री सडकदेखि गल्लीमा फोहोर कयौं दिनसम्म थुप्रिन्थ्यो। जसका कारण मुख्य चोक र सडक नै डम्पिङ साइट बन्थ्यो। भित्री सडकमा फोहोर नउठ्ने भएपछि त्यहाँका मान्छेले फोहोर मुख्य चोकमा थुपार्थे। 

Tata
GBIME
NLIC

तर, केही वर्षयता भने काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा निकै सुधार गरेको महसुस हुन्छ। काठमाडौं महानगरले फोहोर संकलनमा प्रविधिको उच्चतम प्रयोग गरेपछि यहाँका सडक डम्पिङ साइटबाट केही हदसम्म सफा सहरका बाटोझैं चम्किन थालेको छ। आखिर कसरी सम्भव भयो त?

काठमाडौं महानगरपालिकाले टेलिम्याटिक्स टेक नामक आइटी कम्पनीको सहयोगमा आफ्नो क्षेत्रभित्र फोहोर उठाउने हरेक गाडीमाथि कडा निगरानी राख्न थालेको छ। महानगरले फोहोरका गाडी तोकिएको गल्ली गल्ली छिर्‍यो कि छिरेन भनेर मोनिटरिङ गर्छ। यदि छिरेन भने किन भनेर महानगरले फोहोर उठाउन आउटसोर्स गरेको कम्पनीलाई सोझै स्पष्टीकरण सोध्न सक्ने अवस्था बनेको हो। जसका कारण मुख्य चोकमा फोहोर थुप्रिने समस्याबाट काठमाडौं मुक्त बनेको छ। 

टेलिम्याटिक्स टेकका सञ्चालक आतिस गैरे काठमाडौं महानगर आफूहरुका लागि ‘सक्सेस स्टोरी’ भएको अर्थ्याउँछन्। अहिले अन्य स्थानीय तहहरुले पनि यही प्रविधि फोहोर संकलनका लागि गर्न थालेका छन्।

गाडी किन्दा ठूलो लगानी गरेपछि त्यो चालक/सहचालकको जिम्मामा मात्रै छोड्दा जोखिम अधिक हुन्छ। लगानी गरेपछि पनि सम्पत्ति आफ्नो हातमा नहुँदा गाडी जे पनि हुन सक्छ। त्यो समस्यालाई पनि हल गर्न टेलिम्याटिक्स टेकले छुट्टै सोलुसन तयार गरेको छ।

आतिस गैरे

कसरी सुरु भयो टेलिम्याटिक्स टेक?

आतिसको पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्सी। आतिस गैरे र उनको दाइ विकास गैरेले छलफल गरे। घण्टौं विमर्श गरे। आतिसका दाइले आइडिया फुराए। आतिसको स्कुलिङ व्यापार व्यवसाय थियो भने दाइको पृष्ठभूमि आइटी। 

आतिसले चार्टर्ड एकाउन्टेन्सी पढ्दै जाँदा हरेक क्षेत्र हस्तलिखितबाट डिजिटल बन्दै थियो। त्यसको रफ्तार दिनदिनै बढ्दै गयो। बैंकिङ, एचआरदेखि सबै क्षेत्र नयाँ प्रविधितर्फ हानिंदै गयो। कुनै न कुनै कम्पनीले डिजिटल सोलुसन निर्माण गर्दै सुरुवात गर्न थालिसकेका थिए। 

आतिस र उनका दाइले धेरै क्षेत्र केलाए। र उनीहरुले सबैभन्दा भद्रगोल क्षेत्र पहिल्याए ‘यातायात’।

‘हाम्रो बिजनेस लर्निङ र सूचना प्रविधिलाई मिसाएर यातायात क्षेत्रलाई व्यवस्थापन गर्नु नै छ भनेर सुरु गरेका हौं। तथ्यांक हेर्दा पनि नेपालको अहिलेको बजार त्यति ठूलो भइनसकेको पायौं। तर, भविष्यमा नेपालको यातायात क्षेत्र अझै बढी विशाल हुने सम्भावना देख्यौं। काम सुरु गर्‍यौं भने भोलिको दिनमा बजार बढ्दै जान्छ भनेर काम सुरु गरेका थियौं,’ आतिसले भने।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आतिससहितको टिमलाई देशभर हुने सडक दुर्घटनाको डरलाग्दो आँकडाले हस्तक्षेप गर्न डोर्‍यायो। युवा उमेरका व्यक्तिहरु धेरै यात्रा गर्ने भएकाले उनीहरुको मरणले देशकै सम्भावना मारिरहेको भन्दै टेलिम्याटिक्स टेकले त्यसमा पनि हात हाल्नुपर्ने ठाउँ देख्यो। बिजनेस सुरु गर्न यिनै कारण आतिस र उनको दाइलाई काफी बन्यो। सन् २०१४ मा उनीहरुले कम्पनी सुरु गरेका थिए। 

‘धेरै ठूलो सोचेर कम्पनी सुरु गरेका थिएनौं। तर, लजिकल रिजनिङसहित यातायात क्षेत्रमा रहेका समस्या हल गर्ने आँट गर्‍यौं। यस क्षेत्रमा इन्ट्री गर्ने यो नै सबैभन्दा सजिलो बाटो थियो। इमोसनल भएर कम्पनी सुरु गरेका होइनौं। बजारमा स्टार्टअपको कथा इमोसनल सेन्समा बढी बिकिरहेको हुन्छ। त्यो हुन दिएनौं,’ आतिसले भने।

कम्पनीमा सफ्टवेयर डेभलपर, सूचना प्रविधिसम्बन्धी ज्ञान भएका प्राविधिकसँगै सर्भर तथा नेटवर्क जान्ने जनशक्ति तयार थियो। व्यापार सुरु गर्न क्लाइन्टदेखि उपकरण ल्याइदिने भेन्डर तयार भएपछि टेलिम्याटिक्स टेक यातायात क्षेत्र सुधारको बाटोमा हिँड्यो। चिनियाँ कम्पनीसँग सुरुदेखि नै काम गरेको अनुभवले आवश्यक उपकरण नेपाल झिकाउन कम्पनीलाई गाह्रो परेन। करिब ५०-६० लाख लगानीमा कम्पनीले काम थालेको छ। 

आतिसका अनुसार नेपाल यस्तो देश हो जहाँ प्रति किलोमिटर प्रति टन ढुवानी खर्च संसारकै सबैभन्दा महँगो छ। नेपालको गाउँघर सुहाउँदो महिन्द्राको बोलेरोको मूल्य झण्डै ३० लाख रुपैयाँबाट सुरु हुन्छ। भारतमा करिब १० लाख भारतीय रुपैयाँमै बोलेरोको सस्तो भेरियन्ट आउँछ। भारतको तुलनामा नेपालमा गाडीको ह्रासकट्टी (डेप्रिसिएसन) अधिक रहेको उनले बताए। त्यसमाथि नेपालको बाटो राम्रा छैनन्। त्यसले पनि गाडीमा गर्नुपर्ने मर्मत खर्च थप चुलिन्छ। 

‘यिनै कारणले गर्दा गाडीको प्रयोग अधिकतम गर्नुपर्छ। त्यसबाटै अधिकतम आम्दानी गर्नुपर्ने आवश्यकता छ। आज फर्स्ट ह्यान्ड किनेको गाडीको मोल भोलि नै घट्छ। गाडी एकदमै डेप्रिसियबल सम्पत्ति हो। जसबाट हामीले रिटर्न एकदमै छिटो लिनुपर्ने हुन्छ,’ आतिसले भने।

त्यसैगरी, गाडी किन्दा ठूलो लगानी गरेपछि त्यो चालक/सहचालकको जिम्मामा मात्रै छोड्दा जोखिम अधिक हुन्छ। लगानी गरेपछि पनि सम्पत्ति आफ्नो हातमा नहुँदा गाडी जे पनि हुन सक्छ। त्यो समस्यालाई पनि हल गर्न टेलिम्याटिक्स टेकले छुट्टै सोलुसन तयार गरेको छ।

टेलिम्याटिक्स टेकसँग सक्रिय सवारीसाधनको संख्या १२ हजार नाघिसकेको छ। सवारीधनीले चालकको प्रत्यक्ष निगरानी गर्न सक्छन्। चालकले कुदाइरहेको गाडीको गति हेर्न मिल्छ भने गाडी चोरी भएको खण्डमा टेलिम्याटिक्स टेकबाटै इन्जिन बन्द गर्न मिल्छ। कम्पनीले मुख्यगरी ‘लोकेसन इन्टेलिजेन्स’ सेवा पनि दिइरहेको छ।

आतिसका अनुसार यी कारणले कम्पनी सुरु गरे पनि व्यापारलाई मात्रै नभइ सुरक्षालाई पनि निकै प्राथमिकता दिइएको हो। अर्थात टेलिम्याटिक्स टेकले विभिन्न संस्थाहरुलाई फ्लिट म्यानेजमेन्टको सेवा दिइरहेको छ। कम्पनीले निर्माण गरेको प्रणाली बैंक तथा वित्तीय संस्थाहरुले पैसा ढुवानीमा समेत प्रयोग भइरहेको छ। क्यास डेलिभरी भ्यान कहाँ पुग्यो भनेर ‘रियल टाइम’मा ट्र्याक गर्न सकिन्छ। 

टेलिम्याटिक्स टेकले देशभर एक हजारभन्दा बढी ट्रक तथा टिपरहरुमा ‘फ्युल सेन्सर’ जडान गरिसकेको छ। गाडीधनीहरुले सबैभन्दा बढी लागत नै पेट्रोल वा डिजलमा चुकाउनुपर्छ। पेट्रोल र डिजल खरिदमा नै बढी अनियमितता हुने गरेको सुन्दै भोग्दै आएका छौं।

‘एक त पेट्रोल तथा डिजल चालकले बिलमा लेखिएको भन्दा कम हाल्दिने। सवारीसाधन निर्माता तथा बिक्रेताहरुले यतिउति माइलेज दिन्छ भनेर गाडी बिक्री गर्छन्। तर, विभिन्न कारणले दाबी गरेअनुसारको माइलेज पाइँदैन। जसको कारण सवारी चालकले धनीबाट सधैं अपजस पाउने जोखिम रहन्छ। केहीले बदमासी पनि गर्छन् केही इमान्दार पनि छन्। हामीले पारदर्शिता कायम गर्न यो प्रडक्ट ल्याएका हौं,’ आतिसले भने।

कामको गरिमा कम र एकअर्काबीच गालीगलौच बढी यो क्षेत्रमा हुने गर्छ। नेपालमा सबैभन्दा बढी रोजगारी सृजना गर्नेमध्येको यातायात क्षेत्र बढी नै अनौपचारिक छ। गाडीधनी र चालक/सहचालकबीच अविश्वासको व्यापार हटाउँदै यातायात क्षेत्रलाई औपचारिक बनाउन आफ्ना सोलुसनहरु सफल हुँदै गएको दाबी उनले गरे।

त्यसैगरी, पश्चिम नेपालतिर २५ सयदेखि ३ हजार गाडी भएको एउटा संस्था टेलिम्याटिक्स टेकसँग आबद्ध छ। कुनै समय ४५ दिनमा एउटा गाडीले बल्लतल्ल एक हप्ता चलाउन पाउथ्यो। अहिले पनि उस्तै छ अवस्था। देशको कुनै एउटा भागमा यतिका धेरै गाडी केन्द्रित हुँदा रित्तो रित्तो कुदाउनुपर्ने बाध्यता छ। 

‘आवश्यकताभन्दा बढी नै लगानी एउटै क्षेत्रमा गरेका छौं सायद। यस्ता समस्यालाई हल गर्दै सही निर्णय लिन हामी यातायात व्यवसायीहरुलाई पनि सघाउँछौं,’ आतिसले भने।  

सरकारी नियमअनुसार प्याराग्लाइडर २५ सय फिटभन्दा माथि उड्न पाउँदैनन्। त्योभन्दा माथि गए पाइलटहरुलाई अलर्ट आउँछ।

आजको दिनमा टेलिम्याटिक्स टेकसँग सक्रिय सवारीसाधनको संख्या १२ हजार नाघिसकेको छ। विभिन्न सोलुसनहरुमार्फत सवारीधनीहरुले चालकको प्रत्यक्ष निगरानी गर्न सक्छन्। चालकले गाडी कति गतिमा कुदाइरहेको छ त्यो हेर्न मिल्छ भने गाडी चोरी भएको खण्डमा टेलिम्याटिक्स टेकबाटै इन्जिन बन्द गर्न मिल्ने आतिसले जानकारी दिए। कम्पनीले मुख्यगरी ‘लोकेसन इन्टेलिजेन्स’ सेवा पनि दिइरहेको उनले बताए।

‘कुनै निश्चित क्षेत्रभित्र मात्रै सवारीसाधन चलाउनुपर्ने हो भने त्यसलाई नाघ्नेवित्तिकै नोटिफिकेसन सवारीधनीले पाउँछन्। दैनिक कति किलोमिटर सवारीसाधन गुड्यो हेर्न मिल्छ। सेवाग्राहीको आवश्यकताअनुसार विभिन्न प्रडक्ट हामीले उपलब्ध गराउँछौं। भलै हामीले विभिन्न उपकरण चीनका साथै युरोपेली देशबाट ल्याउँछौं त्यो विशुद्ध प्राविधिक इन्ट्रिगेसनको लागि हो,’ आतिसले भने।   

यसका साथै टेलिम्याटिक्स टेकले किस्ताबन्दीमा बिक्री गरेका सवारीसाधनहरुमा पनि ग्लोबल पोजिसनिङ प्रणाली (जीपीएस) जडान गर्ने गरेको छ। समयमा किस्ता नतिर्नेहरुको गाडी सजिलै ट्र्याक वा जफत गर्न सकियोस् भनेर विभिन्न कम्पनीहरुले यो सेवा लिइरहेको उनले बताए। 

निजी क्षेत्रसँग मात्रै नभइ टेलिम्याटिक्स टेकले सरकारी परियोजना पनि हात पारेको छ। सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि सराङकोटको प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगायो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको उक्त कदमपछि प्याराग्लाइडिङ उडानको क्षेत्र फेर्नुपर्ने बाध्यतामा व्यवसायी पुगे। प्राधिकरणले त्यसपछि प्याराग्लाइडिङमा अनिवार्य जीपीएस जडान गर्नुपर्ने नियम ल्यायो। 

उडिरहेकै समयमा जीपीएसमार्फत प्याराग्लाइडिङ ट्र्याक गर्नुपर्ने थियो। तर, उडिरहेकै समयमा प्याराग्लाइडिङ ट्र्याक गर्न भने इन्टरनेट चाहिन्छ। टेलिम्याटिक्स टेकले नै प्याराग्लाइडिङ ट्र्याक गर्न जीपीएस जडान गर्ने ठेक्का हात पार्‍यो। त्यसका लागि टेलिम्याटिक्स टेकले सिमकार्डमार्फत उडिरहेकै अवस्थामा प्याराग्लाइडिङ ट्र्याक हुने प्रणाली तयार गर्‍यो।

प्रणालीले प्याराग्लाइडरहरु कति उचाइमा उडिरहेका छन् त्यो सहजै ट्र्याक गर्न सकिने आतिसले जानकारी दिए। सरकारी नियमअनुसार प्याराग्लाइडर २५ सय फिटभन्दा माथि उड्न पाउँदैनन्। त्योभन्दा माथि गए पाइलटहरुलाई अलर्ट आउँछ। यदि प्याराग्लाइडरहरु ‘नो फ्लाइङ जोन’ भित्र प्रवेश गर्न खोजे पनि अलर्ट आउने गैरेले जानकारी दिए। 

यदि ‘नो फ्लाइङ जोन’भित्र प्रवेश गरे सम्बन्धित प्याराग्लाइडिङ कम्पनीलाई अलर्ट जान्छ। यो सबै जानकारी र विवरण रियल टाइममा नागरिक उड्डयन प्राधिकरणले समेत हेर्न सक्छ। यस्तै, कुनै प्याराग्लाइडर दुर्घटनामा परेको खण्डमा दुर्घटनास्थलसहित अलर्ट तुरुन्तै जान्छ। पाइलटले इमर्जेन्सी कलसमेत सो प्रणालीमार्फत प्रयोग गर्न सक्ने गैरेको भनाइ छ। टेलिम्याटिक्स टेकको प्रणाली जडान नगरी कुनै पनि प्याराग्लाइडिङ कम्पनीले उडान भर्न पाउँदैनन्। 

यस्तै, टेलिम्याटिक्स टेकले देशभरका ७ सय एम्बुलेन्समा ‘डिस्प्याचिङ’का लागि लोकेसन इन्टेलिजेन्स प्रणाली जडान गरिसकेको छ। १०३ को नेपाल एम्बुलेन्स सर्भिसले पनि टेलिम्याटिक्स टेककै प्रणाली उपयोग गरिरहेको छ। स्थानीय तहहरुले सञ्चालन गरिरहेको एम्बुलेन्समा पनि यस्ता प्रणाली प्रयोग गरिएको छ।  

‘बिरामी वा घटनास्थल नजिक रहेको खाली एम्बुलेन्सलाई यो प्रणालीले तत्काल त्यहाँ पुग्न सघाउँछ,’ गैरेले भने।

टेलिम्याटिक्स टेकले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित क्यामरा प्रणाली एमडीभीआर नयाँ प्रडक्टको रुपमा ल्याएको छ। नयाँ गाडी वा किनिसकेको गाडी छ भने सवारी धनीले यो प्रणाली जडान गर्न सक्ने गैरे बताउँछन्। गाडीमा लगभग ८ वटा क्यामरा जोड्न सकिन्छ। ब्याक क्यामरासहित ड्राइभरको ड्यासबोर्ड, दुईवटा एआईमा आधारित क्यामरा (डीएमएस र एडीएस) हुन्छ। 

गैरेका अनुसार डीएमएस भनेको ड्राइभर मोनिटरिङ सिस्टम र एडीएएस भनेको एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम हुन्। डीएमएसले ड्राइभर को हो भन्ने पहिचान गर्छ। यदि ड्राइभरबाहेक सहचालक वा अन्यले गाडी चलाए सवारीधनीलाई तुरुन्तै अलर्ट पुग्छ। अनधिकृत व्यक्तिले सवारी चलाउन रोक्ने यसको मुख्य उद्देश्य भएको गैरे बताउँछन्। सहचालक वा अन्यले गाडी चलाउँदा दुर्घटना भएका प्रशस्त उदाहरणलाई नियन्त्रण गर्न यो प्रविधि विकास गरिएको उनले जानकारी दिए। चुरोट खाए, सिटबेल्ट नलगाए पनि अलर्ट धनीसम्म पुग्छ। 

लामो दूरीको सवारीसाधन चलाउँदा चालक निदाउने, थकित हुने समस्या हुने भएकाले त्यस्तो भए सिस्टमले चालकलाई नै अलर्ट दिन्छ र सचेत गराउँछ। यसले ठूलो दुर्घटना र क्षति न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ।

त्यसैगरी, सवारीधनीले गाडी कहाँ पुग्ने वा गयो भनेर तारन्तर फोन गर्दा चालक डिस्ट्याक्ट हुने गर्छन्। जसका कारण चालकले हतारमा निर्णय लिन सक्ने क्षमतामा ह्रास आउँछ। यसलाई सम्बोधन गर्न टेलिम्याटिक्स टेकले धनीलाई सवारी चालकसँग कम्युनिकेसनमा बस्न छुट्टै मोड्युल तयार गरेको छ। गाडीमा, चालक वा यात्रुलाई समस्या आए ‘एसओएस’ बटन थिचेर तुरुन्तै धनीसँग जानकारी पुग्छ।

दुर्घटनाका अवस्थामा प्रमाण रहोस् भनेर ६ महिनासम्म भिडियो स्टोर हुने गरी डेटाबेस स्तरोन्नति भइरहेको छ। चालु वर्ष करिब २ हजार वटा गाडीमा दुर्घटना न्यूनीकरणसम्बन्धी प्रडक्ट जडान गर्ने लक्ष्य कम्पनीको छ। आजको दिनमा कम्पनीको भ्यालुएसन झण्डै ३० करोड रुपैयाँ पुग्ने उनी दाबी गर्छन्।

एडीएएसको मुख्य काम भनेकै चालकलाई सहायता प्रदान गर्नु भएको गैरेले जानकारी दिए। 

‘गाडी एकदम तीव्र गतिमा गुडिरहेको छ र आइरहेको गाडीसँग ठोक्किन लागेको छ भने एल्गोरिदमले पत्ता लगाउँछ। आइरहेको गाडीको रिलेटिभ स्पिड र हाम्रो गाडीको रिलेटिभ स्पिड र बीचको दूरी हेरेर अब निश्चित सेकेन्ड भित्र निश्चित एक्सन लिएन भने दुर्घटना हुन सक्छ है भनेर चालकलाई अलर्ट दिन्छ। कि त ब्रेक लगाउन वा गति घटाउन अलर्ट दिन सक्छ,’ गैरेले भने।

यसका साथै, राजमार्गमा गाडीको गति ८०-९० वा अझै बढी हुन सक्छ। त्यो गतिमा गुड्दा चालकले देख्न सक्ने भनेको आधादेखि एक मिटरसम्म मात्रै हुन सक्छ। बाँकी चालकको आँखाले देखिरहेको नहुन सक्छ। तर, क्यामराले सबै देखिरहेको हुन्छ।एडीएएसको सहायताले चालकले पैदल यात्री, गाडी, जनावर वा अन्य कुनै पनि वस्तु पहिल्याएर दुर्घटना हुनबाट जोगाउने गैरे बताउँछन्। यो प्रणालीले सडक लेन वार्निङ, कोलिजन अलर्टसमेत दिन्छ। गाडी ठोक्किएको अवस्थामा गल्ती पहिल्याउन सजिलो होस् भनेर त्यस क्षणलाई रेकर्ड यही प्रणालीमार्फत हुन्छ। 

एमडीभीआरअन्तर्गत ब्लाइन्ड स्टक डिटेक्सन पनि जडान गर्न सकिन्छ। ठूला ट्रक, टिपरहरुमा धेरै नै ब्याइन्ड स्पट हुने भएकाले सम्भावित दुर्घटना रोक्न ३६० डिग्री क्यामरासहितको यो डिभाइस उपयोगी हुने गैरेको भनाइ छ।

एमडीभीआरमा भिडियो ट्र्याकिङ सिस्टम छ। जसमा जीपीएसको सबै फिचर उपलब्ध छन्। यसमा जिओ फेन्स, फ्युल सेन्सर, ड्राइभर आइडेन्टिफिकेसन, यात्रु कति छन् लगायत हेर्न मिल्ने गैरेले बताए। यो प्रणालीमार्फत यात्रुहरुले गाडीमै वाइफाई समेत प्रयोग गर्न सक्छन्।

फीचरअनुसारका मूल्यसँगै सुविधा 

कम्पनीले न्युनतम ट्र्याकिङ प्रणाली ६-७ हजार रुपैयाँबाट खरिद गर्न सक्छन्। यसले गाडी कहाँ छ, कति स्पिडमा छ, कुल कति किलोमिटर गुड्यो, कहाँ कहाँ गयो सबै थाहा पाइन्छ। धनीले आवश्यक पर्दा ३६५ दिनकै रिपोर्ट पाउँछन्। यसमा एक हजार रुपैयाँ थप्दा इन्जिन लक सुविधा पाइने गैरेले जानकारी दिए। मल्टिपल लगइन सुविधा पनि लिन मिल्छ। यदि मुख्यालय र शाखा कार्यालयले पनि हेर्नुपर्ने छ भने यसले सजिलै विवरण पाउन सघाउँछ।

एमडीभीआर प्रणाली भने ७० हजारदेखि दुई लाख रुपैयाँ फिचरअनुसार फरक पर्ने गैरेले जानकारी दिए। यो वान टाइम शुल्क हो। वाइफाई लिएको खण्डमा मासिक २५ सय रुपैयाँ पर्छ। कम्पनीले संस्थाहरुलाई आवश्यक पर्ने कन्ट्रोल रुम पनि निर्माण गर्दिने गरेको छ। एकै ठाउँबाट सवारीसाधन निगरानी गर्न सकिन्छ।

यत्रो काम गर्दा चालक तथा सहचालकहरुबाटै भने आफूहरुको प्रणालीमा चुनौती देखापर्ने गरेको गैरे गुनासो गर्छन्।

‘क्यामराका साथै तेल निगरानी हुने भएपछि त्यसलाई बिगार्ने प्रयास नभएका होइनन्। यातायात क्षेत्र व्यावसायिक बन्न सकेको छैन। जसका लागि यस्ता जोखिम नहुने होइनन्। हामीले प्रणाली जडान गर्दा धनीसँगै सम्बन्धित चालक र सहचालकलाई समेत यसबारे जानकारी दिएरै काम गरिरहेका छौं। यसले यो क्षेत्रलाई औपचारिक बनाउन सघाउँछ,’ गैरेले भने।

गैरेका अनुसार दुर्घटनाका अवस्थामा प्रमाण रहोस् भनेर ६ महिनासम्म भिडियो स्टोर हुने गरी डेटाबेस स्तरोन्नति भइरहेको छ। चालु वर्ष करिब २ हजार वटा गाडीमा दुर्घटना न्यूनीकरणसम्बन्धी प्रडक्ट जडान गर्ने लक्ष्य कम्पनीको छ। आजको दिनमा कम्पनीको भ्यालुएसन झण्डै ३० करोड रुपैयाँ पुग्ने उनी दाबी गर्छन्।

‘पुँजीगत खर्च मात्रै हेर्नु हुन्छ भने लगभग ८ करोड रुपैयाँ पुगिसकेको छ। ४ वटा सर्भर सिस्टम र अहिलेको सर्भर हेर्दा गर्दा नै ४ करोड पुग्छ। सर्भर विकास खर्च एकदमै बढी छ। एउटै सफ्टवेयर बनाउन ६०-७० लाख रुपैयाँ लाग्छ। तेस्रो सफ्टवेयर बनाउँदैछौं। अहिलेसम्मको लगानी हामीले व्यापारबाटै आर्जित पैसा लगानी गर्दै आएका छौं। हाम्रो मुख्य ध्यान नै सार्वजनिक यातायात सुधारमा हुनेछ,’ गैरेले भने।

कम्पनीको प्रणालीमा महत्त्वपूर्ण डेटा भण्डारण हुने भएकाले कसैले भनेकै भरमा विवरण तथा जानकारी भने उपलब्ध नहुने गैरे दाबी गर्छन्। सम्बन्धित व्यक्तिले आफ्नो एपबाट मात्रै गाडीको निगरानी गर्ने भएकाले डेटा सुरक्षित हुने बताउँछन्।

‘हामीलाई फोन गरेर हाम्रो गाडी कहाँ छ भनेर हुँदैन। एपमार्फत नै हेर्ने हो। यसमा कुनै सम्झौता हुँदैन। सरकारले हामीलाई नियमन गर्ने निकाय तोकिदिनुपर्छ। जसले विवरण दुरुपयोग हुनबाट जोगाउँछ,’ गैरेले भने।