काठमाडौं। यूएईका अलराउण्डर रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। एसोसिएट क्रिकेटका परिचित खेलाडी मुस्तफाले एनपिएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन्।
उनले यसअघि पनि नेपालमा विभिन्न प्रतियोगितामा खेलिसकेका छन्। पछिल्लो समय उनी यूएईको टोलीमा नियमितरुपमा अटाउन सकेका छैनन्। टिम व्यवस्थापनसँगको सम्बन्ध यसको प्रमुख कारण भएको बताइन्छ।
यूएईका पूर्वकप्तान ३६ वर्षीय मुस्तफाले ओडीआई र टी-२० आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन्। बायाँ हाते ब्याटर उनले टी-२० आईमा ५३ इनिङ्समा १ हजार ६ रन जोडेका छन्। दायाँ हातले अफब्रेक बलिङ गर्ने उनले ५६ इनिङ्समा ६१ विकेट लिएका छन्।
उनी नेपाली क्रिकेट समर्थकसामु विभिन्न खेलहरुमा स्लिजिङ र अभिव्यक्तिहरुका कारण चर्चित र विवादित पनि छन्।
सुदूरपश्चिम रोयल्सले यसअघि विदेशी खेलाडीका रुपमा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ।
अस्ट्रेलियाले विश्वकप जित्दा टोलीमा रहेका ब्राड हजलाई प्रमुख मेन्टर बनाएको सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् भने मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।
सुदूरपश्चिम रोयल्सले कात्तिक २८ गते ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ जना सुदूरपश्चिम हिरोज छनोट गर्नेछ। छनोट कार्यक्रम धनगढीमा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा एनपीएल मंसिर १६ गतेदेखि हुँदैछ।
सुदूरपश्चिम रोयल्स टोली
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन र रोहन मुस्तफा