काठमाडौं। समूह ‘ए’को विजेता बंगलादेश र उपविजेता भारत। समूह ‘बी’को विजेता नेपाल र उपविजेता भुटान। सेमिफाइनलमा बंगलादेशको भुटानमाथि फराकिलो जित र भारतमाथि नेपालको कठिन जित।
यो ‘प्लट’ काठमाडौंमा जारी साफ च्याम्पियनसिपको मात्र होइन। अघिल्लो संस्करण सन् २०२२ मा पनि ठीक यही भएको थियो। यद्यपि फाइनल खेलमा पुगेर नेपाल निराश हुन पुगेको थियो।
अझ मुख्य साझा विषय भनेको दशरथ रंगशाला।
यहि प्लटमा नेपाललाई २ वर्षअघि फाइनलमा बंगलादेशले ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक दक्षिण एसियाली च्याम्पियन बनेको थियो।
यो संस्करणमा समूह चरण पछिको उही घटनाक्रमलाई दोहोर्याउँदै नेपाल फाइनलमा पुगेको छ। र नेपाललाई प्रतिक्षा छ अघिल्लो संस्करणको फाइनलको नतिजा उल्ट्याउने।
फाइनल खेलमा मैदान उत्रँदा नेपालका लागि सबैभन्दा बढी स्कोर गरेकी रेखा पौडेल मैदानमा हुने छैनन्। दुई जना खेलाडी दीपा शाही र हीराकुमारी भुजेलले पहिलो खेलमै चोट ब्यहोरेर प्रतियोगिता गुमाउँदा धक्का ब्यहोरेको नेपालका लागि पौडेल सेमिफाइनलमा रेडकार्ड ब्यहोरेकाले फाइनलमा सस्पेन्ड रहनेछिन्। यद्यपि, घरेलु मैदानमा दर्शकको साथ नेपाललाई हुनेछ।
फाइनल खेल बुधबार साँझ हुनेछ। खेल हेर्नका लागि टिकट खरिद गर्न दर्शकहरू लाइनमा बसिसकेका छन्।
एन्फाले बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, दशरथ रंगशाला लगातय स्थानबाट टिकट बिक्री गर्नेछ। फाइनल खेलमा करिब ११ हजार टिकटमात्रै बिक्री गरिनेछ।
फाइनल खेलको टिकट बिक्री भौतिक रुपमा मात्रै हुनेछ। यसअघि एन्फाले टिकट बिक्रीका लागि माउन्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिसँग सम्झौता गरेको थियो। तर भारत र नेपालबीच भएको सेमिफाइनल खेलमा सो कम्पनीले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएको थियो। जसकारण दशरथ रंगशालामा दर्शक व्यवस्थापनमा सकस भएको थियो।
एन्फाले बढी टिकट बिक्री गरेको भन्दै सो कम्पनीलाई टिकट बिक्रीमा रोक लगाएको हो। फाइनलका लागि यसअघि बिक्री भएका टिकट पनि रद्द भएको छ। टिकट किन्नेहरूले पैसा फिर्ता पाउनेछन्।
एन्फाले साधारणतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ। साधारण टिकटको मूल्य ५०० रुपैयाँ हुनेछ। भीआइपी टिकटको १ हजार रुपैयाँ हुनेछ। करिब १ हजार भीआइपी टिकट बेच्ने एन्फाले जनाएको छ।
यसैबीच, फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने कार्यक्रम रहेको छ।
बलियो बंगलादेशको फाइनल यात्रा
बंगलादेशले प्रभावशाली प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ। यद्यपि, समूह ‘ए’को पहिलो खेलमा पाकिस्तानसँग मुस्किलले १-१ गोलको बराबरी खेल्दै सुरुवात गरेको थियो। तर दोस्रो खेलमा भने दक्षिण एसियाको सर्वाधिक सफल टोली भारतमाथि ३-१ गोलको सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो।
सेमिफाइनल खेलमा पनि बंगलादेशले प्रभावशाली जित निकाल्यो। उसले समूह ‘बी’को उपविजेतासमेत रहेको भुटानमाथि ७-१ गोलको जित निकाल्यो। भुटान त्यही टोली हो जसले नेपाललाई समूह चरणमा गोलरहित बराबरीमा रोकेको थियो।
नेपालको फाइनल यात्रा
नेपालले फाइनलसम्मको यात्रामा सबैभन्दा कठीन चुनौती पायो भारत र भुटानबाट। समूह ‘बी’को विजेता नेपालले भुटानसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो।
दोस्रो खेलमा भने माल्दिभ्सविरुद्ध ११-० गोलको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्यो। तेस्रो खेल यसैको निरन्तरता दिँदै श्रीलंकालाई ६-० ले हराएर समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।
सेमिफाइनलमा भने नेपाललाई जित निकाल्न निकै मुस्किल पर्यो। खासगरी दोस्रो हाफमा रेफ्रीको एक पछि अर्को खराब निर्णयले तनावपूर्ण स्थिति बनेपछि साढे ६ मा सुरु भएको खेल टुंगिन करिब १० बजेको थियो।
यद्यपि, निर्धारित समयको खेलमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जसमा नेपालले बाजी आफ्नो पक्षमा पार्न सफल भयो।