
- क्रिस्टालिना जर्जिएभा
हामी अहिले प्रविधिगत क्रान्तिको संघारमा छौं जसले उत्पादकत्वलाई ठूलो बढावा त दिनेछ नै विश्वव्यापी आर्थिक वृद्धि गर्नेछ र संसारभरका देशको आम्दानीमा सुधार ल्याउने छ। तर, यसले कामको स्वरूपमा व्यापक परिवर्तन ल्याउन सक्छ, रोजगारीलाई विस्थापन गर्न सक्छ र असमानतालाई थप गहिरो बनाउने सम्भावना पनि उत्तिकै छ।
कृत्रिम बौद्धिकता (एआइ) को द्रुत प्रगतिले विश्वलाई रोमाञ्चित र चिन्तित दुवै बनाएको छ, जसले यसका सम्भावित प्रभावहरूको विषयमा गम्भीर प्रश्नहरू उठाइरहेको छ। एआइले विश्वव्यापी अर्थतन्त्रमा जटिल तरिकाले प्रभाव पार्ने भएकाले यसको समग्र प्रभाव अनुमान गर्न गाह्रो छ। यद्यपि, यसको विशाल सम्भावनालाई मानवताका लागि लाभकारी बनाउन हामीले सही नीतिहरू विकास गर्न आवश्यक छ भन्ने कुरा ठोकुवाका साथ भन्न सकिन्छ।
कामको स्वरूप पुनः परिभाषित हुँदै
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक नयाँ विश्लेषणले एआइको विश्वव्यापी श्रम बजारमा सम्भावित प्रभावलाई अनुसन्धान गरेको छ। धेरै अध्ययनहरूले एआइको कारण रोजगारी विस्थापन हुने भविष्यवाणी गरेका छन्। यद्यपि, धेरै अवस्थामा एआइ मानव कामलाई पूरक रूपमा प्रस्तुत हुने सम्भावना छ। आइएमएफको विश्लेषणले यी दुवै पक्षलाई समेटेको छ।
यस विश्लेषणका निष्कर्षहरू रमाइला छन्। करिब ४० प्रतिशत वैश्विक रोजगारी एआइसँग सम्बन्धित छ। ऐतिहासिक रूपमा, स्वचालन र सूचना प्रविधिले दिनचर्या सम्बन्धी कार्यहरूलाई प्रभावित गर्ने गरेका छन्। तर, एआइलाई फरक बनाउने मुख्य पक्ष भनेको यसले उच्च दक्षतायुक्त कामहरूमा समेत प्रभाव पार्न सक्ने क्षमता हो।
यसकारण, विकसित अर्थतन्त्रहरू एआइबाट बढी जोखिममा छन्, तर उस्तै अवसरहरूको पनि सामना गर्छन्, जुन विकासशील र उदाउँदो बजार अर्थतन्त्रहरूमा त्यति देखिँदैन।

विकसित अर्थतन्त्रमा करिब ६० प्रतिशत कामहरू एआइको प्रभावमा पर्न सक्छन्। तीमध्ये लगभग आधा कामहरू एआइ एकीकरणबाट लाभान्वित हुन सक्छन्, जसले उत्पादकत्व बढाउँछ।
बाँकी आधामा एआइले हाल मानिसहरुद्वारा गरिने प्रमुख कार्यहरू सञ्चालन गर्ने सम्भावना छ, जसले श्रमको माग घटाउन सक्छ, तलब घट्न सक्छ र कामदारको भर्ना कम हुन सक्छ। सबैभन्दा गम्भीर अवस्थामा यी कामहरु हराउन पनि सक्छन्।
विकासशील र कम आय भएका देशहरुमा यसको विपरीत एआइको प्रभाव क्रमशः ४० प्रतिशत र २६ प्रतिशत हुने अनुमान छ। यसले देखाउँछ कि यी देशहरू एआइका तात्कालिक अवरोधहरू कम सामना गर्न सक्छन्। तर, धेरै देशहरूसँग एआइका फाइदा उठाउन आवश्यक पूर्वाधार वा दक्ष कामदार छैनन्, जसले दीर्घकालमा असमानतालाई थप बलियो बनाउन सक्छ।
एआइले देशहरुभित्रको आय र सम्पत्तिमा असमानता निम्त्याउन पनि सक्छ। आयका वर्गभित्र पनि ध्रुवीकरण देखिन सक्छ, जहाँ एआइलाई सदुपयोग गर्न सक्ने कामदारहरूको उत्पादकत्व र तलब बढ्न सक्छ, तर यो गर्न नसक्नेहरू पछाडि पर्न सक्छन्। अनुसन्धानले देखाएको छ कि एआइले अनुभवहीन कामदारहरूलाई आफ्नो उत्पादकत्व छिट्टै बढाउन मद्दत गर्न सक्छ।
युवा कामदारहरूले अवसरको सदुपयोग गर्न सहजै सिक्न सक्छन् जबकी वृद्ध कामदारहरूले समायोजन गर्न कठिनाइ महसुस गर्न सक्छन्।
एआइले उच्च आम्दानी भएका कामदारहरुलाई धेरै सहायक बनायो भने यसले उनीहरुको श्रम आम्दानीमा असमान वृद्धि ल्याउन सक्छ। त्यसैगरि एआइ अपनाउने कम्पनीहरूले उत्पादकत्व बढाएमा पुँजीको प्रतिफल बढ्नेछ जसले उच्च आम्दानी भएका व्यक्तिहरूलाई अझ फाइदा पुर्याउन सक्छ। यी दुवै पक्षहरूले असमानतालाई गम्भीर रूपमा बढाउन सक्छ।
धेरै परिदृश्यहरूमा एआइले समग्र असमानतालाई बढाउन सक्छ, जसले सामाजिक तनावलाई थप बलियो बनाउने खतरा छ। यसकारण नीति निर्माताहरूले यसलाई ध्यान दिएर एआइले रोजगारीमा ल्याउने असमानतालाई नियन्त्रण गर्न प्रयास गर्नुपर्छ। यसका लागि व्यापक सामाजिक सुरक्षाका उपायहरू र कमजोर कामदारहरूका लागि पुनः तालिम कार्यक्रमहरू स्थापित गर्न आवश्यक छ।

समावेशी एआइ-प्रेरित विश्व
एआइ विश्वभरका व्यवसायहरुमा तीव्र रुपमा एकीकृत हुँदैछ, जसले नीति निर्माताहरूलाई तत्काल कदम चाल्न उत्प्रेरित गरेको छ।
देशहरूलाई सही नीति निर्माण गर्न मद्दत पुर्याउन आइएमएफले एक एआइ तयारी सूचकांक विकास गरेको छ, जसले डिजिटल पूर्वाधार, मानव पुँजी र श्रम बजार नीति, नवप्रवर्तन र आर्थिक एकीकरण साथै नियमन र नैतिकताजस्ता क्षेत्रमा तयारी मापन गर्छ।
मानव पुँजी र श्रम बजार नीतिको घटकले अध्ययन वर्ष र रोजगारीमा गतिको मूल्यांकन गर्दछ। त्यस्तै, सामाजिक सुरक्षा जालले ढाकेका जनसंख्याको अनुपात पनि यसको एउटा हिस्सा हो।
नियमन र नैतिकताका आधारमा कुनै देशको कानुनी संरचनाले डिजिटल व्यवसायिक मोडेलहरुसँग कत्तिको अनुकूलित छ भन्ने मूल्यांकन गरिन्छ। साथै, प्रभावकारी कार्यान्वयनका लागि शासन प्रणालीको बलियो उपस्थिति पनि हेरिन्छ।
यस सूचकांकको प्रयोग गर्दै आइएमएफका कर्मचारीहरूले १२५ देशहरूको तयारी मूल्यांकन गरेका थिए। निष्कर्षले धनी अर्थतन्त्रहरु, विशेषगरि विकसित र केही उदाउँदो बजारका अर्थतन्त्रहरू एआइ अपनाउन बढी सक्षम रहेको देखाउँछ, यद्यपि देशहरूबीच उल्लेखनीय भिन्नता पनि छ।
सिंगापुर, अमेरिका र डेनमार्कले सबै चार श्रेणीमा राम्रो प्रदर्शन गरेर उच्च अंक प्राप्त गरेका छन्।
एआइ युग हाम्रो सामुन्ने छ र यसलाई सबैका लागि समृद्ध बनाउने सम्भावना अझै हाम्रो हातमा छ।
(मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाको ब्लगबाट)