
काठमाडौं। नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट हुने भएको छ। असोज १९ गते काठमाडौंमा यो सम्मेलन हुँदैछ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागिता हुने बताइएको छ। कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यावसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन्।
सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सहसंस्थापक तथा प्रबन्धक लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सीइओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताका रूपमा काठमाडौं ओर्लिदैछन्।
साथै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सीइओ सुशील ज्ञवाली पनि सहभागी हुने आयोजकले जनाएको छ।
उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ।
सम्मेलनले स्टार्टअप संस्थापक, व्यावसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीतिक साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पीएसपी सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आइपे जस्ता प्रमुख फिनटेक कम्पनी र नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंकलगायतका वित्तीय संस्थाहरूले भाग लिएका थिए।