विराटनगर । पूर्व अर्थमन्त्री वर्षमान पुनले मेल्टिङको मुख्य कच्चा पदार्थ स्पन्ज आइरन र स्क्रयापमा भन्सार महसुल बढाएर बिलेटको आयातमा अन्तःशुल्क हटाए पनि मेल्टिङ युनिट थपिने क्रम रोकिएको छैन ।
देशको सबैभन्दा ठुलो चेन सुपरस्टोर भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको सञ्चालनमा तुलसीनगर बर्दघाटमा रहेको काठमाडौं स्टिलमा मेल्टिङ युनिट थप्न लागिएको हो।
काठमाडौं स्टिलका निर्देशक कल्याण गुरुङले मेल्टिङ युनिटको स्थापनाका लागि कारखाना परिसरमा सोमबार भूमिपूजन एवम् शिलान्यास गरेका छन्।
उद्योगका सिइओ केशवराज पोखरेलले १५० करोड रुपैयाँ लगानीमा मेल्टिङ युनिट थप गर्न लागिएको जानकारी दिए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–७९ को प्रतिस्थापन विधेयकमा मेल्टिङको मुख्य कच्चा पदार्थ स्पन्ज आइरन र बिलेटमा लाग्दै आएको समान महसुल ५ प्रतिशतलाई फरक बनाएर मेल्टिङको संरक्षण गरेका थिए। जसअनुसार स्पन्ज आइरनको महसुल १ प्रतिशत बनाइएको थियो।
शर्माको नीतिका कारण मेल्टिङ युनिट ६ बाट १८ वटा भइसकेका छन्। काठमाडौं स्टिलको पनि मेल्टिङ थपिएपछि १९ वटा हुनेछ।
तर यसअघिका अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटमा शर्माको नीति उल्टाउँदै बिलेटमा आधारित रोलिङ मिल्सलाई पनि संरक्षण गर्न खोजेका थिए। उनले बिलेटको आयातमा लाग्दै आएको अन्तःशुल्क प्रति किलो २ रुपैयाँ ५० पैसा हटाएका छन्। स्क्रयाप आयातको महसुललाई शून्यबाट १ प्रतिशत बनाएका छन्। त्यस्तै स्पन्ज आइरनको महसुल १ बाट साढे २ प्रतिशत गरिएको छ।
सीइओ पोखरेलले पुनले ल्याएको नीतिबाट पनि बिलेटमा आधारित रोलिङ मिल चल्न नसक्ने र बजारमा प्रतिस्पर्धा गर्ने हो भने मेल्टिङ युनिट लगाउनै पर्ने अवस्था रहेको बताए।
पोखरेलका अनुसार नयाँ बजेटअनुसार उत्पादन गर्दा पनि बिलेटमा आधारित उद्योगलाई प्रति किलो ६ देखि ७ रुपैयाँको घाटा छ।
‘बाहिरबाट बिलेट आयात गरेर ल्याउँदा र यहीँ बिलेट उत्पादन गरेर डन्डी बनाउँदा अहिले पनि किलोमा ६ देखि ७ रुपैयाँको अन्तर परिरहेको छ,’ उनले भने, ‘यसका कारण हामीले बजारमा प्रतिस्पर्धा गर्न सकेनौं र बाध्य भएर मेल्टिङ प्लान्ट ल्याउन लागेका हौं। सर्भाइभ नै हुन नसकेपछि के गर्ने?’
काठमाडौं स्टिलबाट २०६६ मंसिरदेखि टीएमटीको उत्पादन भइरहेको छ। उद्योगको क्षमता दैनिक ३ सय टनको छ।मेल्टिङ युनिट ल्याएपछि पनि टीएमटीको उत्पादन दैनिक ३ सय टन नै हुनेछ। उद्योगले हाल १० मेगावाट विद्युत् उपभोग गरिरहेको छ। मेल्टिङ आएपछि थप २० मेगावाट चाहिने र कुल खपत ३० हुनेछ।
उनले पुनले राजस्व संरचना परिवर्तन गर्नुअगाडि बिलेट बेस र मेल्टिङ युनिटको लागतमा ठुलो अन्तर रहेको उल्लेख गर्दै अहिलेको अन्तरमा पनि प्रतिस्पर्धा गर्ने अवस्था नरहेको बताए।
उनको भनाइ थियो, ‘पहिले त बजारमा माग नै छैन। जति माग छ, त्यसमा पनि ठुलो प्रतिस्पर्धा छ। हामीले कस्ट इफेक्टिभ बनाउन पनि मेल्टिङ ल्याउनै पर्ने भयो।’
काठमाडौं स्टिलबाट २०६६ मंसिरदेखि टीएमटीको उत्पादन भइरहेको छ। उद्योगको क्षमता दैनिक ३०० टनको छ।
मेल्टिङ युनिट ल्याएपछि पनि टीएमटीको उत्पादन दैनिक ३०० टन नै हुनेछ। उद्योगले हाल १० मेगावाट विद्युत् उपभोग गरिरहेको छ। मेल्टिङ आएपछि थप २० मेगावाट चाहिने र कुल खपत ३० हुने उनले बताए।
मेल्टिङ युनिटको भवनका लागि सोमबार भूमिपूजा र शिलान्यास भए पनि कात्तिकदेखि निर्माण सुरु गरिने र २०८२ साउनदेखि उत्पादन थाल्ने लक्ष्य राखिएको छ।
पोखरेलले भने, ‘हामीले निर्माण सुरु भएका मितिले ढिलोमा ९ महिनामा उत्पादन गरिसक्ने लक्ष्य राखेका छौं। हाम्रो उत्पादन अहिले पनि भइरहेको छ। निर्माणका अवधिमा पनि सकभर उत्पादन बन्द नगर्ने योजना छ।’
उनले मेल्टिङका लागि इन्डक्सन लगायतका मेसिन तथा अन्य उपकरणहरू भारतबाट ल्याइने र ती अत्याधुनिक स्तरका हुने जानकारी दिए।
उनले सुनाए, ‘सामान्यतया मेल्टिङबाट गुणस्तरीय टीएमटीको उत्पादन हुँदैन भन्ने न्यारेटिभ छ। तर होइन। हामी फरक ढंगले उत्पादन गर्नेछौं। हाम्रा उत्पादन प्राइम क्वालिटीका हुनेछन्।’
पोखरेलले काठमाडौं स्टिलले अहिले पनि देशभरिका जलविद्युत् आयोजनालाई टीएमटीको आपूर्ति गरिरहेको बताउँदै मेल्टिङबाट उत्पादन हुने टीएमटी अन्तर्राष्ट्रिय स्तरका निर्माण आयोजनाका लागि योग्य हुने जिकिर गरे।
उनले काठमाडौं स्टिलका उत्पादनको बजार नारायणघाटबाट पश्चिम धनगढीसम्म भएको बताए। काठमाडौं, पोखरा, बुटवल, भैरहवा, धनगढी, नारायणघाट लगायतका मुख्य बजार र वरपरका स्थानमा उद्योगका उत्पादन अहिले पनि पुगिरहेको उनले सुनाए।