काठमाडौ। चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको छ।
चाडपर्वका बेला व्यापारीले बजारमा मनपरीरुपमा भाउ नबढाउन् भनेर सरकारले सहुलियत पसल सञ्चालन गर्दै आएको छ। अघिल्ला वर्षजस्तै यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संथानले सहुलियत पसल सञ्चालन गर्नेछन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म छुट सहितको सहुलियत पसल सञ्चालन गर्ने छ। कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सहुलियत पसलमा खाद्यनमा प्रति केजी ७ रुपैयाँसम्म र खसीबोकामा प्रति केजी १० रुपैयाँ छुट दिने निर्णय भएको जानकारी दिए।
त्यस्तै, ग्राहकले दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट पाउनेछन्।
आचार्यका अनुसार कम्पनीले देशका विभिन्न स्थानमा ६१ वटा सहुलियत पसल सञ्चालन गर्नेछ।
कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म करिब ५० क्विन्टल खाद्यान बिक्री गर्ने लक्ष्य राखेको छ। यसपालिको दसैंमा कम्पनीले १५ सय खसीबोका र ३०० वटा च्याङ्गा बिक्रीमा राख्ने भएको छ। पोहोर खसीबोका बेच्न निक्के गाह्रव भएपछि कम्पनीले यसपालि संख्या घटाउन लागेको हो।
कुन खाद्यनमा कति छुट?
ग्राहकले सबै प्रकारका चामलमा प्रति केजी ५ रुपैयाँ छुट पाउनेछन्। कर्णालीको रैथाने चामलमा ७ रुपैयाँ छुट हुनेछ। तेलमा प्रति लिटर ७ रुपैयाँ, दालमा प्रति किलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रति केजी ७ रुपैयाँ ,गेडागुडीमा प्रति केजी ७ रुपैयाँ र घिउमा प्रति केजी ७ रुपैयाँ छुट दिने निर्णय भएको छ।
यस्तै उपभोक्ताले चिनीमा ५ रुपैयाँ छुट पाउनेछन्। गत वर्ष साल्ट ट्रेडिङसँग पर्याप्त चिनी नभएको कारण देखाएर ग्राहकलाई छुट दिइएको थिएन।
चाडपर्व लक्षित सहुलियत पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ।