काठमाडौं । सेयर बजारको कारोबारमा नयाँ रेकर्ड बनेको छ। आइतबार एकैदिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएर कारोबार रकममा बजारले कीर्तिमान बनाएको हो।
यसअघि असार २२ गते सर्वाधिक २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। त्यसदिन नेप्से परिसूचक १४५.०५ अंकले घटेको थियो।
गत मंगलबार बियरिस बजारमा नेप्सेले कारोबार रकममा बनाएको रेकर्डलाई आइतबार बुलिस ट्रेन्डमा ब्रेक गरेको हो।
आज नेप्से ९४.४६ अंकले बढेर २८६०.८४ को विन्दुमा पुगेको छ। नेप्सेले लिएको यो उचाइ २०७८ माघपछिकै सर्वाधिक हो।
अघिल्लो साता इन्ट्रा डेमा नेप्से २८०० अंक पुगे पनि सो विन्दुलाई पार गर्न भने सकिरहेको थिएन। कारोबारमा आएका सबै समूहको सूचकमा हरियाली छ।
लाइफ इन्स्योरेन्स समूहको सेयर भाउ सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ। माइक्रोफाइनान्स ४.४० र इन्भेष्टमेन्ट ४.१२ प्रतिशतले बढेको छ।
आज २२५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। तीन दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट १ अर्ब १६ करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ६८ करोड २७ लाख र नेपाल फाइनान्स ५९ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
उच्च अंकले बढेको बजारमा १५ कम्पनीको सेयर भाउ घटेको छ। बजार निरन्तर उकालो लाग्दा उचालेर बढाइएका कम्पनीको भाउ घट्न थालेको छ। कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
गत असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरणको सहमति गरेपछि उकालो लागेको बजार एक महिनामै ३६ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले दुई साता अघि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याएको थियो। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था र सेयर बजारमा लचक नीति लिइएको छ। त्यसको प्रभाव पनि बजारमा देखिएको जानकारहरु बताउँछन्।
तर, कतिपय खराब वित्तीय अवस्था भएकै कम्पनीको मूल्य अस्वाभाविक रुपमा उकालो लागिरहेको छ।