तामाङले रोकिदिएको एनएसीको टोली अस्ट्रेलिया जाँदै, उडान अनुमतिको डिल गर्ने टोलीमा दुईजनाका पत्नी किन?



वसन्तराज उप्रेती
२०८१ साउन १२ गते १८:५२ | Jul 27, 2024
तामाङले रोकिदिएको एनएसीको टोली अस्ट्रेलिया जाँदै, उडान अनुमतिको डिल गर्ने टोलीमा दुईजनाका पत्नी किन?

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी फेरि संस्थालाई अनावश्यक भार बोकाउने गतिविधिमा लागेका छन्। उनी नयाँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई गुमराहमा पारी जम्बो टोलीसहित आइतबार अस्ट्रेलिया भ्रमणमा जान लागेका हुन्।

Tata
GBIME
Zonsen

अस्ट्रेलियामा सिधा उडानका लागि कुरा गर्न भनेर जान लागेको टोलीमा अधिकारीले आफ्नी पत्नीलाई पनि राखेका छन्। टोलीमा निगमका कानुनी सल्लाहकार सुशील पन्त र उनकी पत्नीसमेत छन्।

टोलीमा संचालक समितिका सदस्य किशोर प्रधान, कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल, अपरेसन डाइरेक्टर दीपु ज्वारचन सहित ९ जना छन्। टोली आइतबार बिहान एयर इण्डियाको जहाजमा अस्ट्रेलिया जाने तालिका छ।

सिधा उडान गर्नका लागि डिल गर्न जाने टोलीमा अधिकारीले आफ्नी पत्नी र कानुनी सल्लाहकार पन्तकी पत्नीलाई राखेकामा निगमका कर्मचारीले आश्चर्य व्यक्त गरेका छन्। उनले अस्ट्रेलियामा सिधा उडान गर्ने नियतले भन्दा पनि घुमघामका लागि भ्रमण तय गरेको निगम उच्च स्रोतले बतायो।

‘युरोपियन युनियनले नेपाललाई सुरक्षा सूचीमा राखेका कारण अस्ट्रेलियाले सिधा उडानका लागि अनुमति दिने अवस्था छैन। यो जान्दाजान्दै अध्यक्षले घुमघामको रहरका लागि निगमलाई आर्थिक भार पार्न लागेका छन्,’ निगमका एक उच्च अधिकारीले भने।

अध्यक्ष अधिकारीले अनावश्यक व्यक्ति टोलीमा राखेर निगमलाई आर्थिक भार बोकाउन लागेको भन्दै यसअघिका पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री हितबहादुर तामाङले अन्तिम समयमा भ्रमण रोकिदिएका थिए।

अनावश्यक मान्छेलाई टोलीमा सहभागी गराएर एनएसीलाई आर्थिक भार बोकाउन खोजेको जानकारी पाएपछि भ्रमणमा रोक लगाएको तामाङले बिजमाण्डूसँग बताएका थिए।

‘एनएसी जहाज राम्रोसँग चलाउन नसकेर निरन्तर घाटामा छ। जहाज किन्दा लिएको ऋणको भार बढेर ५० अर्ब रुपैयाँ पुगिसकेको छ। संस्थाको आर्थिक अवस्था सुधार गर्नुपर्ने मुख्य जिम्मेवारीमा रहेका व्यक्ति भने उल्टै खर्च बढाउने काममा उद्यत देखिए। कार्यकारी अध्यक्ष आफू जानै नपर्ने ठाउँमा पत्नीसहित जान खोजे। उनले औचित्य पुष्टि हुने आधारबिनै कानुनी सल्लाहकार र उनकी पत्नीलाई पनि टोलीमा समावेश गरेका रहेछन्। यो त लापरबाहीको हद भयो नि। त्यही भएर मैले भ्रमण रोकिदिएको हुँ,’ मन्त्री तामाङले भनेका थिए।

तामाङका कारण गत असार २१ गते अधिकारी नेतृत्वको टोलीको भ्रमण रोकिन पुगेको थियो।

तामाङको ठाउँमा अहिले पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसका पाण्डेले सम्हालिरहेका छन्। २ साताअघि मन्त्रालयको नेतृत्व सम्हालेका उनी अझै ब्रिफिङ लिने क्रममै छन्।

अध्यक्ष अधिकारी मन्त्री पाण्डेलाई गुमराहमा राखेर भ्रमणमा जान लागेका हुन्। टोलीले एक साता अस्ट्रेलियाको सयर गर्ने छ। त्यसबापत १ करोड रुपैयाँ खर्च हुनेछ।

निगमका लागि अहिले १ करोड रुपैयाँ पनि ठूलो रकम बन्न पुगेको छ। उसले जहाज ग्राउण्डेडका कारण आम्दानी गुम्दा यसपालि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत ४३ करोड रुपैयाँ मात्र बुझाउन सक्यो। यसअघि उसले ५३ करोड रुपैयाँ बुझाउँदै आएको थियो।

अधिकारीले अस्ट्रेलियामा सिधा उडानका लागि कुरा गर्न जान लागेको भनेपनि उनीसँग उताबाट सोधिने प्रश्नको जवाफ छैन। अस्ट्रेलियाका अधिकारीले बीचमा जहाजमा कहाँ इन्धन भर्छौ भनेर प्रश्न गरे जवाफ दिन सक्ने अवस्था नरहेको निगम स्रोतले बतायो।

इन्धन सिंगापुरमा भर्ने जवाफ दिने अधिकारीको योजना थियो। तर सिंगापुरले निगमलाई इन्धन भर्न दिन अस्वीकार गरेको छ।

निगमको जहाज २३० टनको भएकाले सिधै अस्ट्रेलिया जान सक्दैन। बीचमा टेक्निकल ल्यान्डिङ गर्नुपर्छ। तर सिंगापुरले निगमलाई टेक्निकल ल्यान्डिङ गर्न नदिने जवाफ पठाएको छ।

निगमका कर्मचारीले यसपालि पनि अधिकारी नेतृत्वको टोलीको भ्रमण रोक्न चाहेका छन्। उनीहरूले ९ बुँदे पत्र मन्त्रालयमा बुझाएका छन्। तर मन्त्री पाण्डे व्यस्त भएका कारण कुरा गर्न पाएका छैनन्। उनीहरू मिलेसम्म शनिबार साँझसम्म मन्त्रीलाई भेट्ने प्रयासमा छन्।

अधिकारी जवाफ दिन नसक्ने अवस्थामै अनावश्यक सदस्यसहित अस्ट्रेलिया जान लागेका हुन्।

अधिकारीले अस्ट्रेलियामा उडान हुने नहुने टुंगो नलाग्दै यसअघि नै तीन कर्मचारीलाई सरुवा गरेर पठाएका छन्। यसले पनि आर्थिक भार बढाएको छ।

निगमले भने यतिखेर यसअघि उडान गर्दै आएका गन्तव्यमा नै जहाज लान सकिरहेको छैन। एउटा वाइडबडी जहाज एक महिनादेखि ग्राउण्डेड छ भने अर्को वाइडबडी जहाज साउन ९ गतेबाट ग्राउण्डेड हुने अवस्था रहेकामा राजनीतिक नेतृत्वलाई गुहारेर त्यसको उडान अवधि ३०० घण्टा थप्न लगाइएको छ।