एनएसी अध्यक्ष अधिकारीको योजनामा मन्त्रीको अंकुश, रोकिदिए जम्बो टोलीको अस्ट्रेलिया भ्रमण



वसन्तराज उप्रेती
२०८१ असार २१ गते ११:५६ | Jul 5, 2024
एनएसी अध्यक्ष अधिकारीको योजनामा मन्त्रीको अंकुश, रोकिदिए जम्बो टोलीको अस्ट्रेलिया भ्रमण

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) आर्थिक रुपमा दिन प्रतिदिन ओरालो लागिरहँदा पनि संस्थालाई थप धराशायी बनाउने गतिविधि गर्दै आएका कार्यकारी अध्यक्ष युवराज अधिकारीको योजनामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अंकुश लगाइदिएका छन्।

Tata
GBIME
Zonsen

संस्थालाई आर्थिक रुपमा धराशायी बनाउन उद्दत भएको निष्कर्षमा मन्त्री तामाङले अधिकारीको निर्णय कार्यान्वयनमा रोक लगाइदिएका हुन्।

अधिकारीको निर्णयमा एनएसीको जम्बो टोली शुक्रबार अस्ट्रेलिया जाने तयारीमा थियो। टोलीमा अधिकारी पनि थिए। अधिकारी र एनएसीका कानुनी सल्लाहकार पत्नीसहित ७ दिन अस्ट्रेलिया सयरको योजनामा थिए।

टोलीमा सञ्चालक समितिका सदस्य किशोर प्रधान र उनकी पत्नी, कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल, अपरेसन डाइरेक्टर दिपु ज्वारचन लगायत समावेश थिए। तर, मन्त्री तामाङले उनीहरुको भ्रमणमा रोक लगाइदिएका छन्।

अनावश्यक मान्छेलाई टोलीमा सहभागी गराएर एनएसीलाई आर्थिक भार बोकाउन खोजेको जानकारी पाएपछि भ्रमणमा रोक लगाएको मन्त्री तामाङले बिजमाण्डूलाई जानकारी दिए।

‘एनएसी जहाज राम्रोसँग चलाउन नसकेर निरन्तर घाटामा छ। जहाज किन्दा लिएको ऋणको भार बढेर ५० अर्ब रुपैयाँ पुगिसकेको छ। संस्थाको आर्थिक अवस्था सुधार गर्नुपर्ने मुख्य जिम्मेवारीमा रहेका व्यक्ति भने उल्टै खर्च बढाउने काममा उद्यत देखिए। कार्यकारी अध्यक्ष आफू जानै नपर्ने ठाउँमा पत्नीसहित जान खोजे। उनले औचित्य पुष्टि हुने आधारविनै कानुनी सल्लाहकार र उनकी पत्नीलाई पनि टोलीमा समावेश गरेका रहेछन्। यो त लापरबाहीको हद भयो नि। त्यही भएर मैले भ्रमण रोकिदिएको हुँ,’ मन्त्री तामाङले भने।

अध्यक्ष अधिकारीले अस्ट्रेलियामा उडानका लागि कुरा गर्न भन्दै भ्रमण टोलीमा ९ जनालाई राखेका थिए। उनले एनएसीलाई अष्ट्रेलियाले उडानको स्वीकृति दिनुअघि नै सिड्नीमा तीन कर्मचारीको सरुवा गरिसकेका छन्। उडान अनुमति लिने प्रक्रिया नै सुरु नभएकाले एनएसीले अस्ट्रेलियामा जहाज लान पाउने/नपाउने टुंगो छैन।

यस्तो अवस्थामा अधिकारीले तलबबाहेक दैनिक ७५ डलरका दरले भत्ता दिने गरी तीन कर्मचारीलाई कार्यालय खोलेर सिड्नीमा खटाउँदा व्यर्थमा आर्थिक भार बढ्न पुगेको छ।

‘अहिले न्यारोबडी जहाजको मर्मत र वाइडबडी जहाजको सि-चेकको विषयमा अनुसन्धान भइरहेको छ। यसमा अध्यक्षले सहयोग गर्नुपर्ने देखिएको छ,’ मन्त्री तामाङले भने, ‘यस्तो बेला आवश्यक नै नभएको भ्रमणमा जानु भएन नि। उडान स्वीकृतिका लागि प्रारम्भिक चरणको छलफलका लागि अपरेसन डाइरेक्टरसहित २ जनाभन्दा बढी जान आवश्यक देखिंदैन।’

अध्यक्ष अधिकारीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमति नलिइ दुई साताअघि जुलाइ २३ मा एउटा वाइडबडी जहाज सि चेकका लागि इटली पठाएका थिए। आफूसँग अनुमति नलिइ र आफूले इजाजत नदिएको कम्पनीमा जहाज पठाएपछि आक्रोशित क्यानले अधिकारीलाई अकाउन्टेबल म्यानेजरको भूमिकामा काम गर्न रोक लगाइसकेको छ।

यो प्रकरणमा मन्त्रालयले क्यानका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।