सेयर बजारमा उत्साह, नेप्से २३१० विन्दुमा, ९ अर्ब १३ करोडको कारोबार

बिजमाण्डू
२०८१ साउन १ गते १५:१७ | Jul 16, 2024
सेयर बजारमा उत्साह, नेप्से २३१० विन्दुमा, ९ अर्ब १३ करोडको कारोबार

काठमाडौं। नयाँ सरकार गठनको दोस्रो दिन सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक २६ महिनापछि २३१० विन्दुमा पुगेको छ भने ९ अर्बभन्दा धेरै रकमको सेयर किनबेच भएको छ।

Tata
GBIME
NLIC

मंगलबार कारोबार सुरु भएको पहिलो एक घण्टा २२३२ अंकमा झरेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो। नेप्से अन्तिममा ७०.१८ अंकले बढेर २३१०.५९ विन्दु कायम भएको छ।

नेप्से २०७९ वैशाख २८ पछि २३०० विन्दुमाथि पुगेको हो।

सेयर बजारमैत्री मानिने एमाले उपाध्यक्ष विष्णु पौडेलले पदबहाली गरेको दिन सोमबार १७.१८ अंकले घटेको नेप्से मंगलबार एकाएक उचालिएको हो। उनले सेयर बजारबारे कुनै निर्णय लिएका छैनन्। तैपनि उनले नेपाल राष्ट्र बैंकलाई सेयर धितो कर्जामा रहेको क्याप हटाउन लगाउने लगायत खुकुलो नीति लिन लगाउने विश्वासमा बजार एकाएक बढेको विश्लेषकहरुले बताएका छन्।

मन्त्री पौडेलले सोमबार राष्ट्र बैंकका गभर्नरसँग आफ्नो ट्युनिङ मिल्ने बताएका थिए भने गभर्नर अधिकारीले मन्त्रीसँगको सुझाव अनुसार मौद्रिक नीति तर्जुमा गर्ने बताएका थिए। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति केही दिनमा सार्वजनिक गर्दै छ।

त्यसो त नेपाली कांग्रेस र नेकपा एमालेले समीकरण बनाएदेखि नै सेयर बजार उकालो लागिरहेको छ। त्यसयताका १२ करोबार दिनमा नेप्से २ दिन घटेकामा १० दिन बढेको छ। यो अवधिमा नेप्से २५७ अंकले उकालो लागिसकेको छ।

आइतबार ३१५ कम्पनीको सेयर कारोबार भएकामा २३४ कम्पनीको भाउ बढेको छ। सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायत ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचक बढ्दा जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ५.४५ प्रतिशतले उकालो लागेको छ। यस्तै विकास बैंक उपसमूहको सूचक ४.९४ होटल उपसमूहको ३.६३ र लगानी उपसमूहको सूचक ३.०६ अंकले बढेको छ।

बजारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै रकमको सेयर किनबेच हुनेमा ङादी ग्रुप पावर छ। यो कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।