सेबोन अध्यक्षमा नाम सिफारिस गर्ने/नगर्नेमा दुई धार, समितिले महान्यायाधिवक्तासँग माग्यो परामर्श

बिजमाण्डू
२०८१ असार ५ गते १२:०९ | Jun 19, 2024
सेबोन अध्यक्षमा नाम सिफारिस गर्ने/नगर्नेमा दुई धार, समितिले महान्यायाधिवक्तासँग माग्यो परामर्श

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षका लागि आवेदन दिइ सर्टलिस्टमा परेकामध्ये तीन जना दोस्रोपटक पनि अन्तर्वार्तामा अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अगाडि बढाउने/नबढाउनेमा अन्योल भएको छ।

Tata
GBIME

धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको र २ जना मात्र अन्तर्वार्तामा सहभागी भएको पृष्ठभूमिमा प्रक्रिया अगाडि बढाउने/नबढाउने अन्योल भएको हो।

ऐनमा योग्यता पुगेका तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर, कार्ययोजना प्रस्तुति गर्न लगाउने र अन्तर्वार्ताको कुरा ऐनमा छैन। अध्यक्षको नाम सिफारिस गर्दा कार्यविधि सिफारिस समितिले आफैं बनाउने व्यवस्था छ। कार्यविधिमा शैक्षिक योग्यता र अनुभवमा ५२ तथा कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि ४८ अंक छुट्याइएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिमा ऐनको व्यवस्था अनुसार अन्तर्वार्तामा सहभागी २ जना र शैक्षिक योग्यता तथा कामको अनुभवका आधारमा अर्का एक जनाको नाम सिफारिस गर्नुपर्ने मत आएको छ।

तर, संयोजक श्रेष्ठले भने २ जनाले मात्र अन्तर्वार्ता दिएको अवस्थामा तीन जनाको नाम सिफारिस गर्दा विवादित हुनसक्ने बताएका छन्।

समितिमै दुई धार देखिएकाले के गर्ने भन्ने निर्णय भएको छैन। ‘समितिभित्र दुई धार देखिएका कारण सिफारिस गर्ने नगर्ने निर्णय हुन सकेको छैन,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

समितिले यस विषयमा निर्णय लिन महान्यायाधिवक्ता कार्यालयसँग परामर्श मागेको छ। कार्यालयले दिने रायका आधारमा निर्णय गर्ने समिति स्रोतले बतायो।

सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्ता दिएकामा सेबोनका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र नेपाली बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाइँ व्यावसायिक घरानाको प्रभावमा परेर अनुपस्थित भएका थिए।

नयाँ स्टकको लाइसेन्स लिने प्रतिस्पर्धामा रहेका व्यावसायिक घरानाले आफूले चाहेको व्यक्ति अध्यक्ष नियुक्त नहुने देखेपछि अधिकारी, कार्की र चापागाइँलाई अन्तर्वार्तामा जानबाट रोकेका थिए। उनीहरु तीनै जना आइतबार मोबाइल स्वीच अफ गरेर बसेका थिए।

त्यसपछि समितिले कानुन मन्त्रालयसँगको परामर्शमा उनीहरुका लागि व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्मको समय दिएर बोलाएको थियो। तर, उनीहरु तीनैजना दोस्रोपटक पनि अनुपस्थित भए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्नुपर्ने पक्षमा छन्। यो सूचना चुहाएको भन्दै उनीहरुले अर्थमन्त्री वर्षमान पुनलाई बालुवाटार बोलाएर असन्तुष्टि पोखेका छन्।

सकेसम्म बिहिबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने प्रचण्डको चाहना छ। सेबोनमा अध्यक्षको पद गत पुस तेस्रो सातादेखि खाली छ।