
काठमाडौं। करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले आफ्नो ब्राण्डविरुद्ध गलत सूचना प्रवाह गर्नेविरुद्ध कानुनी कारबाही गराउन पहल थालेको छ।
आफूले उत्पादन गर्दै आएको चाउचाउ, चिजबल लगायत खाद्य सामग्रीको दुष्प्रचार गरिएको भन्दै कम्पनीले साइबर कानुन बमोजिम कारबाही गराउन पहल थालेको हो।
‘हालैका दिनमा केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा प्रमाणबिना भ्रामक प्रचार गर्नेहरुप्रति उद्योग सजग छ,’ कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘निहित स्वार्थ पूरा गर्न अनावश्यक दु:ख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पित प्रचार गर्नेमाथि प्रचलित कानुन बमोजिम कारबाहीका लागि उद्योगले आवश्यक पहल कदमी लिइ सकेको छ। यस्ता मनगढन्ते, कपोलकल्पित र काल्पनिक कुराको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति जाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन अपिल गर्दछौं।’
कम्मपनीले स्वदेशमा उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायत वस्तु प्रयोग गरी चाउचाउ र विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको छ। उद्योगमा करिब १ हजार नेपालीले रोजगारी पाइरहेका छन्।
कम्पनीले आफ्ना उत्पादन देशभित्र मात्र बिक्री नगरी भारत, चीन, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अस्ट्रेलिया लगायत देशमा निर्यात गर्दै आएको छ। उसले चालु आर्थिक वर्ष ६० करोड रुपैयाँभन्दा बढीका उत्पादन निर्यात गरेको छ।