घरजग्गामा जाने ऋण खुकुलो भएसँगै जेठमा कारोबार सुध्रियो, कारोबारीको कन्फिडेन्स फर्किएको हो?

उन्नत सापकोटा
२०८१ असार २ गते १५:०५ | Jun 16, 2024
घरजग्गामा जाने ऋण खुकुलो भएसँगै जेठमा कारोबार सुध्रियो, कारोबारीको कन्फिडेन्स फर्किएको हो?

काठमाडौं। नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष तेस्रो त्रैमासको समीक्षामार्फत मौद्रिक नीतिमा लचक भएपछि जेठमा घरजग्गा कारोबारमा सुधार देखिएको छ। वैशाखको तुलनामा जेठमा घरजग्गाको बजार केही चलायमान बनेको हो।

Tata
GBIME

राष्ट्र बैंकले गत महिना घरजग्गामा प्रवाह हुने ऋणमा पनि खुकुलो नीति लिएको थियो। जसको प्रभाव जेठको घरजग्गा किनबेचमा देखिएको छ। राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठमा देशभरका मालपोत कार्यालयबाट ५७ हजार ४५० लिखत पारित भएको छ। जबकि देशभरका मालपोत कार्यालयले वैशाख महिनामा ४९ हजार ७८३ वटा लिखत पारित गरेका थिए। चैतमा ४९ हजार ६१२ तथा फागुनमा माघ महिनाकै बराबरी संख्यामा ४९ हजार २८७ लिखत पारित भएको थियो। वैशाखको तुलनामा जेठमा लिखत पारित संख्या साढे ७ हजारभन्दा बढी भएको छ।

किनबेच संख्यासँगै जेठमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वसमेत बढेको विभागको तथ्यांकले देखाउँछ। वैशाखको तुलनामा जेठमा राजस्व ५१ करोड रुपैयाँले बढेको छ। वैशाखमा देशभरका मालपोत कार्यालयले ४ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाएका थिए। जेठमा ४ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठेको छ। गएको चैतमा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

देशभरका मालपोत कार्यालयले चालु आर्थिक वर्ष ११ महिनामा ३९ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्। यो रकम गत आर्थिक वर्षको तुलनामा बढी हो। आव २०७९/८० को सोही अवधिमा घरजग्गा कारोबारबाट ३७ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

जेठमा पनि सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा इनरुवा मालपोत अघि छ। त्यहाँबाट २३ सय ७६ लिखत पारित भएका छन्। त्यसपछि जनकपुरमा २३ सय ४८, भद्रपुरमा १९ सय ८१, बेलबारीमा १९ सय ५८, राजविराजमा १७ सय २९, पर्सामा १५ सय ५४, जलेश्वरमा १५ सय ८ लिखत पारित भएको विभागले जनाएको छ।

यस्तै, कलैयामा १४ सय २, सिराहामा १३ सय ७०, धनगढीमा १३ सय ३५, तौलिहवामा १३ सय १३, विराटनगरमा १२ सय ४९, भक्तपुरमा ११ सय ९७, सिराहाकै लहानमा ११ सय ७७, रुपन्देहीमा ११ सय ७३ र नेपालगञ्जमा ११ सय १७ लिखत पारित भएका छन्।

लगनखेल मालपोतबाट १ हजार ८१, तुलसीपुरबाट १ हजार ६५, दमकबाट १ हजार २५ र काभ्रेबाट १ हजार २ लिखत पारित भएका छन्।

भक्तपुर र लगनखेलपछि कलंकी मालपोतबाट ७६३, चाबहिलबाट ५३२, साँखुबाट ५२९, मनमैजुबाट ३१७, डिल्लीबजारबाट २५४, टोखाबाट १५९ लिखत पारित भएका छन्।

वैशाखमा इनरुवा मालपोतले २ हजार ११ वटा लिखत पारित गरेको थियो। चैतमा पनि इनरुवामा सबैभन्दा धेरै किनबेच भएको थियो। इनरुवा मालपोत कार्यालयले चैतमा २ हजार ८२ वटा लिखत पारित गरेको थियो।

जनकपुरमा वैशाख महिनामा १ हजार ७६७ वटा लिखत पारित भएको थियो। भद्रपुरमा वैशाखमा १ हजार ७२८ वटा लिखत पारित भएको थियो।

भक्तपुर मालपोत कार्यालयले ९८४ वटा लिखत पारित गरेको थियो। लगनखेलले वैशाखमा ९५५ लिखत पारित गरेको थियो। यस्तै, कलंकीबाट ६७९, चाबहिल र साँखुबाट समान ४८३, डिल्लीबजारबाट २०४ र टोखाबाट १३८ वटा लिखत पारित भएको थियो। वैशाखमा मनमैजु मालपोत कार्यालयमा भने एउटै कारोबार भएको थिएन। मनमैजुबाट चैतमा २४९ वटा लिखत पारित भएको थियो।

त्यसैगरी, जेठमा सबैभन्दा धेरै राजस्व उठाउने मालपोत लगनखेल बनेको छ। लगनखेलले ४४ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसपछि भक्तपुरले ३३ करोड ४९ लाख, कलंकीले २९ करोड ४७ लाख, डिल्लीबजारले २८ करोड ५७ लाख र चाबहिलले २७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

इनरुवा मालपोतले १४ करोड २७ लाख, कास्कीले १३ करोड ५२ लाख, चितवनले १३ करोड ३९ लाख, काभ्रेले १२ करोड ६१ लाख, धनगढीले १२ करोड ५४ लाख, साँखुले १० करोड ५८ लाख र रुपन्देहीले १० करोड ४७ लाख रुपैयाँ राजस्व उठाएका छन्।

वैशाखमा पनि लगनखेल मालपोतले नै सर्वाधिक राजस्व संकलन गरेको थियो। लगनखेलले ४६ करोड ९५ लाख रुपैयाँ उठाउँदा डिल्लीबजारले ३२ करोड ६७ लाख रुपैयाँ राजस्व उठाएको थियो। भक्तपुरले ३० करोड ४५ लाख, चाबहिलले २४ करोड ८० लाख, कलंकीले २२ करोड ८४ लाख, इनरुवाले १५ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो।

त्यसबाहेक कास्कीले १५ करोड ४५ लाख, चितवनले १४ करोड ५१ लाख, साँखुले १० करोड ५० लाख र धनगढीले १० करोड ११ लाख रुपैयाँ राजस्व उठाएको थियो।