युरोपमा मेटा एआई च्याटबटको लन्चमा ढिलाइ हुने भएको छ। फेसबुकको पेरेन्ट कम्पनी मेटा प्लेटफर्म्स इंकलाई युरोपका नियामकहरूले ‘ल्याङ्ग्वेज मोडेलहरू’लाई तालिम दिने योजना रोक्न अनुरोध गरेपछि च्याटबट लन्च पछि सरेको हो।
मेटाले त्यहाँका प्रयोगकर्ताका पोस्टको सहयोगले ठूला ‘ल्याङ्ग्वेज मोडेलहरू’लाई तालिम दिने योजना बनाएको थियो। मेटाले युरोपेली प्रयोगकर्ताहरूका पोस्टको प्रयोग गरेर ‘लामा’ भनिने आफ्नो ‘लार्ज ल्याङ्ग्वेज मोडेलहरू’ (एलएलएम)लाई ‘ट्रेन’ गर्ने योजना सार्वजनिक गरेको थियो।
शुक्रबार आइरिस डेटा संरक्षण आयोगको निर्णयपछि मेटाले युक्त योजना अनिश्चितकालका लागि रोकेको हो।
‘यो युरोपेली आविष्कार, एआई विकासमा प्रतिस्पर्धा र युरोपका मानिसलाई एआईका फाइदानजिक पुर्याउन थप ढिलाइ गर्ने कदम हो,’ मेटाले एक ब्लग पोस्टमा लेखेको छ, ‘सरल रूपमा भन्नुपर्दा, स्थानीय जानकारी समावेश नगरी हामी मानिसहरूलाई दोस्रो-तहको अनुभव मात्र प्रदान गर्न सक्नेछौँ। यसको अर्थ हामी हाल युरोपमा मेटा एआई सुरू गर्न सक्दैनौँ।’
कम्पनीले अझै पनि यी उत्पादनहरू युरोपमा ल्याउने योजना बनाएको मेटाका प्रवक्ताले बताएका छन्। तर कहिले ल्याउने भन्ने समयबारे खुलाउन उनले अस्वीकार गरे। कम्पनीको वित्तीय विवरण अनुसार २०२३ को अन्त्यसम्ममा युरोपमा ३० करोड ८० लाख फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताहरू थिए।
मेटाले गुगल, माइक्रोसफ्ट र ओपनएआई लगायतका अन्य टेक जायन्टहरूसँग प्रतिस्पर्धा गर्न आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीमा महत्त्वपूर्ण लगानी गरिरहेको छ। कम्पनीले आफ्नो नवीनतम एलएलएम लामा-थ्री अप्रिलमा सार्वजनिक गरेको थियो।
कम्पनीले मेटा एआई असिस्टेन्ट अमेरिकाका एप्स प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइसकेको छ। ‘लार्ज ल्याङ्ग्वेज मोडेलहरू’ ती प्रविधि हुन् जसले च्याटबट लगायत जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सका प्रकारहरूलाई सहयोग गर्छन्।