
काठमाडौं। नेप्से बुधबार १५.५४ अंकले उकालो लाग्दा बैंकिङ उपसमूहको सूचक सर्वाधिक ४.२३ प्रतिशतले वृद्धि भयो। सूचीकृत सबै वाणिज्य बैंकको मूल्य बढ्यो। एनएमबि बैंक सर्वाधिक मूल्य बढ्ने कम्पनीको शीर्ष तीनमा रह्यो। यसको सेयर भाउ ८.४७ प्रतिशतले बढ्यो।
सर्वाधिक मूल्य वृद्धि हुने ५ कम्पनीको सूचीमा कृषि विकास र नबिल बैंक पनि परे। वाणिज्य बैंकहरुको सेयर मूल्य लगातार चौंथो दिन बढेको हो।
बैंकिङ उपसमूहको सूचक आइतबार २.६३, सोमबार ४.१८ र मंगलबार १.७७ प्रतिशतले बढेको थियो। पछिल्लो एक वर्षयता कारोबार रकमका आधारमा वाणिज्य बैंक शीर्ष ३० कम्पनीको सूचीमा पर्न छोडेकामा अहिले बैंकको कारोबार भोलुम बढेको छ।
नेपाल राष्ट्र बैंकले जेठ ४ गते शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही लचकता अपनाएपछि उकालो लागेको नेप्से ४ दिनमा ११२.७३ अंकले बढेर २१३१.४९ को विन्दुमा पुगेको छ।
नेप्सेले लिएको यो उचाइ गत माघ २ यताकै उच्च हो। त्यतिखेर परिसूचक २१७५.१७ को विन्दुमा पुगेको थियो। मौद्रिक समीक्षापछि बजारमा दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ।
पछिल्लो एक वर्षमा आधा दर्जन वाणिज्य बैंकको सेयर मूल्य प्रति कित्ता १५० रुपैयाँभन्दा तल झर्यो। कुमारी बैंकको प्रति कित्ता सेयर मूल्य १२९ रुपैयाँसम्म आइपुगेको थियो।
यस बैंकको सेयर मूल्य अहिले प्रति कित्ता १५४ रुपैयाँ पुगेको छ। कुनै बैंकको सेयर पनि प्रति कित्ता १५० रुपैयाँभन्दा तल पाइँदैन। १३२ रुपैयाँमा झरेको प्रभु बैंकको सेयर मूल्य बढेर १५७ रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकमध्ये सर्वाधिक महँगो स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य ४९७ रुपैयाँसम्म झरेकामा अहिले ५९८ रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले गरेको खुकुलो नीतिगत व्यवस्थाका कारण बजारमा सकारात्मक प्रभाव परेर बैंकको सेयर मूल्य बढ्न थालेको जानकारहरु बताउँछन्।
‘बैंकिङ इन्डेक्स नढ्दासम्म सेयर बढ्दैन भन्ने विगतको दृष्टान्तले देखाउँछ,’ स्टक ब्रोकर एसोसियसन अफ नेपालका महासचिव फणिन्द्र दाहालले भने, ‘सूचकका हिसाबले हेर्ने हो भने बजारका लागि यस्तो कम्फर्ट अवस्था कहिल्यै थिएन। बैंकिङकै कुरा गर्दा अहिले मूल्य विस्तारै लयमा फर्किन थालेको छ।’
राष्ट्र बैंकले समीक्षामार्फत बैंकहरुलाई सेयर बिक्रीको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष व्यतित भइसकेका लगानीमध्येबाट एक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशत सेयर बिक्री गर्न पाउने प्रावधान रहेकोमा यसलाई २० प्रतिशत पुर्याइएको छ।
सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको करिब २ खर्ब रुपैयाँ लगानी छ। उनीहरुलाई सेयर बिक्रीमा गरिएको खुकुलो प्रावधानले बजारमा कारोबारसँगै लिक्विडिटी थपिने जानकारहरु बताउँछन्।
मौद्रिक समीक्षाबाटै राष्ट्र बैंकले बैंकहरुको प्रोभिजनिङ रकम समेत घटाएको छ। यसले उनीहरुको खुद नाफा बढ्ने भएको छ।वाणिज्य बैंकहरुले कर्जा नउठेर चालु आर्थिक वर्ष चैतसम्म २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ लोन लस प्रोभिजनिङ गरेका छन्।
‘बजारमा अहिले देखिएको उत्साह कति दिगो रहन्छ अहिले नै भन्न सकिन्न। तर, सकारात्मक माहोल बनेको छ,’ बजार विश्लेषक मुक्ति अर्यालले भने, ‘मौद्रिक नीतिको समीक्षालाई लगानीर्ताले सकारात्मक रुपमा लिए। अब धमाधम बजेट, मौद्रिक नीति लगायत इभेन्ट छन्। त्यसले फरक पार्न सक्छ।’
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिन आउन अब एक साता पनि छैन। अर्थमन्त्री वर्षमान पुनले नियुक्त भएदेखि नै सेयर बजारको सुधारलाई प्राथमिकता दिने बताएका कारण बजेट बजारमैत्री आउने लगानीकर्ता, ब्रोकर र विश्लेषकको बुझाइ छ।
त्यति मात्र होइन मन्त्री पुनले सार्वजनिक मञ्चहरुबाटै बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुने बताएका कारण राष्ट्र बैंकले बजारलाई फेबर गर्ने खालको नीति लिन सक्ने उनीहरुको विश्वास छ।
‘लामो समयदेखि पेनिक बनेको बजारले केही सकारात्मक कुरा खोजिरहेको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सकारात्मक संकेत देखायो,’ दाहालले भने, ‘त्यसैले नेप्से बढ्न थालेको हो। अब आगामी वर्षका लागि आउने बजेट र मौद्रिक नीतिमार्फत बजारप्रति थप सुधारको काम हुने अपेक्षा छ।’