नीति तथा कार्यक्रम वैशाख ३० गते प्रस्तुत गर्ने तयारी, कांग्रेसका कारण दबाबमा सरकार

बिजमाण्डू
२०८१ बैशाख २६ गते १९:४१ | May 8, 2024
नीति तथा कार्यक्रम वैशाख ३० गते प्रस्तुत गर्ने तयारी, कांग्रेसका कारण दबाबमा सरकार
प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै कांग्रस सांसदहरु। फाइल तस्वीर

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‍मा वैशाख ३० गते प्रस्तुत गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

संघीय संसद्को वर्खे अधिवेशन २८ गते सुरु हुन लागेकामा त्यसको दुई दिनपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो।

‘वैशाख ३० गते नीति तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको छ,’ अर्थमन्त्री वर्षमान पुन निकट स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक सदस्यले अहिलेसम्मको तयारी अनुसार ३० गते नीति तथा कार्यक्रम आउने बताए।

‘वैशाख अन्तिममा नीति कार्यक्रम प्रस्तुत हुन्छ। तर, अहिले नीति कार्यक्रम प्रस्तुत गर्नेभन्दा पनि संसद्‍मा अवरोध नगर्नका लागि कांग्रेसलाई कसरी फकाउने भन्नेमा प्रधानमन्त्रीको ध्यान छ,’ ती सदस्यले भने।

सभामुख देवराज घिमिरेको पहलमा मंगलबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताको बैठकमा अवरोध हटाउनेबारे छलफल भएपनि सहमति हुन सकेको थिएन।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोपबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यो माग राखेर कांग्रेसले यसअघिको अधिवेशनमा अवरोध गरेको थियो। कांग्रेस बजेट अधिवेशनमा पनि अवरोधलाई निरन्तरता दिने तयारीमा छ।

संसद्‍मा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ। सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सार्वजनिक गर्ने छन्।