प्याज निर्यातमा भारतले तोक्यो न्यूनतम मूल्य, नेपाली बजारमा भाउ के हुन्छ ?

सरला सुवेदी
२०८१ बैशाख २६ गते १८:१८ | May 8, 2024
प्याज निर्यातमा भारतले तोक्यो न्यूनतम मूल्य, नेपाली बजारमा भाउ के हुन्छ ?

काठमाडौं। भारतले प्याज निर्यातमा न्यूनतम मूल्य तोकेपछि नेपाली बजारमा यसको असर पर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भारतीय कदमका कारण नेपालमा अब प्याज महँगिने व्यापारीहरुले बताएका छन्। भारतले ३ दिनअघि नयाँ प्याजको ‘मिनिमम एक्सपोर्ट प्राइस’ तोकेको थियो।

मिनिमम एक्सपोर्ट प्राइस तोकिएपछि व्यापारीहरु भारत सरकारको थप निर्णय कुरेर बसेका छन्। आलु प्याज महासंघका महासचिव प्रकाश गजुरेलले भारतले न्यूनतम मूल्य तोकेका कारण नेपाली बजारमा प्रति केजी अहिलेको भन्दा १० रुपैयाँ महँगो हुन सक्ने बताए।

‘हाल बजारमा प्याज प्रशस्त मात्रामा छ। तर भाउ घट्न सकेको छैन। भारतको नयाँ नियमले अब बजारमा चलिरहेको भाउ भन्दा ८ देखि १० रुपैयाँ बढी पर्छ। आगामी दिनमा थोकमै प्रति केजी ७० रुपैयाँभन्दा तल घट्दैन’ उनले भने।

पहिले भारतमा प्रति केजी १० रुपैयाँसम्म पाइने प्याज अहिले बढेर २० देखि २१ रुपैयाँ पुगेको छ।

हाल नेपाली बजारमा प्याजको थोक मूल्य प्रति केजी ७० रुपैयाँ देखि ७५ रुपैयाँसम्म छ। खुद्रा बजारमा उपभोक्ताले प्रति केजी ८५ रुपैयाँसम्म खरिद गर्दै आएका छन्।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यतिबेला भारतीय प्याज कम परिमाणमा भित्रिरहेको जानकारी दिए।

‘कालीमाटी बजारमा केही दिनयता भित्रिने प्याजको परिमाण कम भएको छ। व्यवसायीले पुरानो अर्डरको मात्र आयात गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘यसपटक प्याजको मूल्य खासै नघट्न सक्छ।’ समितिले आयातको स्थिति हेरेर मूल्य निर्धाण गर्छ।

दैनिक २ लाख ५० हजार केजी माग

महासंघका अनुसार नेपालमा दैनिक २ लाख ५० हजार केजी प्याज खपत हुन्छ। काठमाडौं उपत्यकामा मात्र एक लाख केजीभन्दा बढी खपत हुने महासंघले जनाएको छ।

खपतलाई आधार मानेर नै व्यापारीहरुले आयात गर्दै आएका छन्। प्याज देशभित्र पनि उत्पादन हुन्छ। तर स्थानीय उत्पादनले माग धान्दैन। स्वदेशी प्याज स्थानीय बजारमै बिक्री हुने भएकाले माग धान्न आयात गर्नुको विकल्प नरहेको गजुरेलले बताए।