उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने, ‘परिस्थिति कसरी विकास हुन्छ, त्यही अनुसार निर्णय’

बिजमाण्डू
२०८१ बैशाख २६ गते १५:४५ | May 8, 2024
उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने, ‘परिस्थिति कसरी विकास हुन्छ, त्यही अनुसार निर्णय’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पत्रकार सम्मेलनमा

काठमाडौं। विभाजनको पीडाबाट गुज्रिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकार नछोड्ने भएको छ।

Tata
GBIME
Nepal Life

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन्।

‘हामीले अहिले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने सोचेका छैनौं,’ उनले भने, ‘तर यो कुरा बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर हुनेछ।’

उनी अहिले सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन्। यादवमाथि प्रधानमन्त्री हुने लोभमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर अर्को गठबन्धन बनाउने खेलमा लागेको भन्दै जसपा नेपालका ७ सांसदले वैशाख २३ गते पार्टी फुटाएका थिए।

ती ७ सांसदले जसपा गठन गरेका छन्। उक्त दल निर्वाचन आयोगमा वैशाख २४ गते दर्ता भइसकेको छ।

यादवले भने त्यो आरोप निराधार भएको दाबी गरे। उनले गठबन्धन फेर्ने विषयमा कांग्रेसका नेताहरुसँग छलफल गरेको कुरा अस्वीकार गरे।