मल्ल कमर्सियल कम्प्लेक्सको लागत ४० करोड, दुई महिनाभित्र संचालन गर्ने तयारी

बिजमाण्डू
२०८१ बैशाख २६ गते १४:४१ | May 8, 2024
मल्ल कमर्सियल कम्प्लेक्सको लागत ४० करोड, दुई महिनाभित्र संचालन गर्ने तयारी

काठमाडौं। मल्ल होटलले ४० करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको बिजनेस कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

लैनचौरस्थित होटल परिसरभित्रै रहेको यो नयाँ बिजनेस कम्प्लेक्स दुई महिनाभित्रै संचालनमा ल्याउने तयारी रहेको महाप्रबन्धक केभिन माले जानकारी दिए।

‘इन्टेरियरको काम सकिसकेको छ। अब लाइटिङको काम बाँकी छ। दुई महिना भित्रै कमर्सियल कम्प्लेक्स संचालनमा आउनेछ,’ उनले भने, ‘अहिले बुकिङ धमाधम आइरहेको छ। विभिन्न कम्पनीसँग सम्झौताको क्रममा छौं।’

उनका अनुसार यो कम्प्लेक्समा बैंक, लाउन्ज, रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायत आउटलेटहरु रहनेछन्।

नयाँ भवनमा पाहुनाका लागि हाइड्रोलिक पार्किङको सुविधा समावेश गरिएको छ। एक पटकमा १०० वटा चार पांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ।

‘यहाँ आउने अधिकांश पाहुना ठमेल घुमघामका लागि हिँड्नुहुन्छ। ठमेल क्षेत्रमा पार्किङको अभाव पनि छ। पाहुनालक्षित सुविधालाई मध्यनजर गर्दै अन्डरग्राउण्ड पार्किङको व्यवस्था गरेका हौं,’ उनले भने।

कमर्सियल कम्प्लेक्स विस्तारपछि होटलले पाँच तले भवनमा थप ८० वटा कोठा विस्तार गर्ने योजना बनाएको छ। २४ रोपनीमा फैलिएको होटलमा अहिले १२५ वटा कोठा छन्।

बेसमेन्टसहित सात तलाको संरचनाको पाँच वटा तलामा व्यावसायिक कम्प्लेक्स रहनेछ। करिब ५ दशक अगाडि स्थापना भएको यो होटलले आफ्नो व्यावसायिक योजनाअनुसार कमर्सियल कप्लेक्स संचालनमा ल्याउन लागेको हो।

मल्ल होटल तात्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जबराका छोरी रमाकुमारी मल्लको हो। अहिले उनका छोरा संजय मल्ल र नातिनीहरु आयशा र अनोष्काले होटलको व्यवस्थापन हेर्दै आएका छन्।