मूलकोट पुगेर आफ्नै बखान, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार, सुशासनमा कीर्तिमान’

बिजमाण्डू
२०८१ बैशाख २६ गते ११:१७ | May 8, 2024
मूलकोट पुगेर आफ्नै बखान, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार, सुशासनमा कीर्तिमान’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगले ल्याइने बताएका छन्। उनले राष्ट्रिय आर्थिक सूचकांकमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने पनि बताए।

Tata
GBIME
Nepal Life

नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेट कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको समेत बताए।

‘म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ,’ उनले भने।

नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने बताए।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए। वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ।

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेका उनको तर्क थियो। वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगबाट अघि बढाएको पनि उनले बताएका थिए।