सुनकोशी मरिन डाइभर्सन निर्माणमा देखिएका समस्या पहिचान गरेर कार्ययोजना बनाउनु : प्रचण्ड

बिजमाण्डू
२०८१ बैशाख २६ गते ०९:५१ | May 8, 2024
सुनकोशी मरिन डाइभर्सन निर्माणमा देखिएका समस्या पहिचान गरेर कार्ययोजना बनाउनु : प्रचण्ड
Photo : RSS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएका हुन्।

‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,’ उनले भने, ‘समयमै समस्याको पहिचान गरि समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला।’

प्रधानमन्त्रीले आयोजना समयमै सम्पन्न गरि लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न पनि निर्देशन दिएका छन्।

सुरुङमार्गबाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिए।

‘कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला,’ उनले भने।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै उनले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।