आज मातातीर्थ औँसी, चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा

बिजमाण्डू
२०८१ बैशाख २६ गते ०८:२२ | May 8, 2024
आज मातातीर्थ औँसी, चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा

काठमाडौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ।

Tata
GBIME
Nepal Life

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरि शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरि स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

 यससँगै प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला हिजो साँझदेखि सुरु भएको छ।

आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन्। मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ।

संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिए।

मातातीर्थ मेलामा साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ।

मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवङ्गत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ।

मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।