सामसन क्रिजमा टिक्दा पनि राजस्थानको हार, दिल्ली पाँचौँ स्थानमा उक्लियो

बिजमाण्डू
२०८१ बैशाख २६ गते ०६:४४ | May 8, 2024
सामसन क्रिजमा टिक्दा पनि राजस्थानको हार, दिल्ली पाँचौँ स्थानमा उक्लियो
राजस्थानविरुद्ध कुलदीप यादवले विकेट लिएपछि दिल्लीको सेलिब्रेसन। तस्बिर: आईपीएल

दिल्ली क्यापिल्टल्सले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई २० रनले हराउँदै दिल्लीले प्लेअफ पुग्ने सम्भावना जीवित राखेको हो।

Tata
GBIME
Nepal Life

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको दिल्ली ओपनरद्वय जेक फ्रासर र अभिशेक पोरलको बिस्फोटक ब्याटिङको सहायतामा ८ विकेट गुमाएर २२१ रन खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ८ विकेट गुमाएर २०१ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको दिल्लीको पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्ने क्रममा यी ओपनरले आक्रामक सुरुवात दिलाएका थिए। ४.२ ओभरमा दिल्लीको पहिलो विकेट गुम्दा स्कोर बोर्डमा ६० रन पुगिसकेको थियो। पोरलले ३६ बलमा ६५ र फ्रासरले २० बलमा ५० रन बनाउँदा त्रिस्टन स्टुबले ४१ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ राजस्थानका रविचन्द्रन अश्विनले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि कप्तान सञ्जु सामसनले सर्वाधिक ८६ रन बनाए। उनलाई मुकेश कुमारको बलमा साइ होपले बाउन्ड्रीलाइनमा क्याच आउट गरेका थिए। तर, रिप्लेमा होपले बाउन्ड्रीलाइन छोएको देखिँदा आक्रमक बनेका सामसनले अपिल पनि गरेका थिए। यो आउट विवादास्पद बन्दा लक्ष्य पछ्याउन राजस्थानका लागि कठिन बन्यो।

सामसन बाहेक रियान परागले २७, शुभम दुबेले २५ तथा जोस बट्लरले १९ रन बनाए।

बलिङतर्फ दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २ विकेट लिँदा अक्षर पटेल र रसिक सलामले समान १ विकेट लिए।

 जितसँगै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ। १२ खेलबाट १२ अंक जोडेर दिल्ली पाँचौँ स्थानमा उक्लिँदा राजस्थान १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा १६ अंक बनाएको कोलकाता नाइट राइडर्स छ।

आईपीएलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट साँझ पौने ८ बजे हैदराबादमा भिड्नेछन्।