सडक किनारमा सजावटका लागि राखिएको बत्तीबारे काठमाडौं महानगरले अध्ययन गर्ने

बिजमाण्डू
२०८१ बैशाख २५ गते १४:५३ | May 7, 2024
सडक किनारमा सजावटका लागि राखिएको बत्तीबारे काठमाडौं महानगरले अध्ययन गर्ने

काठमाडौं। सजावटका लागि भन्दै रुख र पोलहरुमा राखेका बत्तीले पारेको प्रभावबारे काठमाडौं महानगरपालिकाले अध्ययन गर्ने भएको छ। सडक बत्तीको व्यवस्थापन नगरी सजावटका रुपमा बत्ती राखिएको भन्दै आलोचना भएपछि यस्तो निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समिति बैठकले सजावटका लागि महानगरका विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन गर्ने निर्णय गरेको हो।

बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ, रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला भन्ने विषयमा बैठकमा छलफल भएको थियो।

बैठकमा डंगोलले बत्तीका सन्दर्भमा मिश्रित बुझाइ रहेको भन्दै भनिन्, ‘बत्ती कहाँ राख्नु पर्ने हो, कति समयका लागि बाल्नु पर्ने हो, बत्ती राख्दाका सकारात्मक र नकारात्मक प्रभाव के हुन्, तथ्य थाहा हुन जरुरी छ। यसका लागि छिटै प्रतिवेदन आउने गरी अध्ययन गराउनु पर्छ।’

महानगरले जथाभावी रूपमा सडक किनारामा बत्ती राख्दा त्यसको प्रकाशले गाडी चलाउन गाह्रो भएको गुनासो बढ्दै छ। साथै, चराचुरुङ्गी पनि बत्तीका कारण रुखमा बस्न नपाएको भन्दै महानगरको आलोचना हुँदै आएको छ।