हैदराबादमाथि चेन्नइको ७८ रनको जित, पाँच टिमको १० अंक हुँदा रोचक बन्दै अंकतालिका

बिजमाण्डू
२०८१ बैशाख १७ गते ०६:४७ | Apr 29, 2024
हैदराबादमाथि चेन्नइको ७८ रनको जित, पाँच टिमको १० अंक हुँदा रोचक बन्दै अंकतालिका
हैदराबादविरुद्ध फिल्डिङमा चेन्नइका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्‍नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्‍नइस्थित एम ए चिदम्बरम् स्टेडियममा गएराति सम्पन्‍न खेलमा घरेलु टोलीले ७८ रनमा सहज जित निकालेको हो।

Tata
GBIME
Nepal Life

हैदराबादका कप्तान प्याट कमिङ्सले टस जितेर चेन्‍नइलाई ब्याटिङको निम्ता दिएका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको चेन्‍नइले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनायो।

चेन्‍नइका लागि कप्तान रुतुराज गायक्वडले सर्वाधिक ९८ रन बनाउँदा ड्रायल मिचेलले ५२ तथा शिवम दुबेले अविजित ३९ रन बनाए। बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनदकटले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १३४ रन बनाएर १८.५ ओभरमा अलआउट भयो। हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन बलिङतर्फ चेन्नइका तुषारदेश पाण्डेले ४ विकेट लिँदा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले समान २ तथा रवीन्द्र जडेजा र सार्दुल ठाकुरले समान १ विकेट लिए।

आइतबार नै सम्पन्‍न पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले गुजरात टाइटन्सलाई ९ विकेटले हराएको थियो। योसँगै प्रतियोगिताको अंकतालिकाको रोचक बन्दै गएको छ।

जारी संस्करणमा ९ खेल खेल्दा ८ वटामा जित निकालेको राजस्थान रोयल्स १६ अंक बनाउँदै प्लेअफ नजिक पुगिसकेको छ। तर दोस्रो देखि छैटौं स्थानसम्मका कोलकाता नाइट राइडर्स, चेन्‍नइ सुपर किंग्स, सनराइजर्स हैदराबाद, लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्सको समान १० अंक छ।

त्यस्तै ७ औँ स्थानको गुजरातको ८ अंक छ भने पुछारका तीन टोली पञ्जाव किंग्स, मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको समान ६ अंक छ। अर्थात कुनैपनि खेलको नतिजाले अंकतालिकामा ठूलै उलटपुलट पार्न सक्ने देखिएको छ।

आज कोलकाता नाइट राइडर्सले आफ्नो घरेलु मैदान इडन गार्डेनमा दिल्ली क्यापिटल्ससँग साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्दैछ।