वेस्ट इण्डिज ‘ए’सँग नेपाल १० रनले पराजित, रोहितको उत्कृष्ट इनिङ्सले टारेन हार

बिजमाण्डू
२०८१ बैशाख १६ गते १६:११ | Apr 28, 2024
वेस्ट इण्डिज ‘ए’सँग नेपाल १० रनले पराजित, रोहितको उत्कृष्ट इनिङ्सले टारेन हार
वेस्ट इण्डिज 'ए' विरुद्ध ब्याटिङ गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोली वेस्ट इण्डिज ‘ए’सँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्‍न सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको हो। योसँगै पहिलो खेल नेपालले र दोस्रो खेल वेस्ट इण्डिजले जित्दा सिरिज रोमाञ्जक मोडतर्फ अघि बढेको छ।

Tata
GBIME
Nepal Life

आइतबार कीर्तिपुरमा टस जितेर वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले ब्याटिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा समेटियो।

ब्याटिङमा आरिफ शेख र रोहित पौडेल। तस्बिर: क्यान

औसत लक्ष्य पछ्याएको नेपालका कप्तान रोहित पौडेलबाहेक शीर्षक्रमका ब्याटर चल्नै सकेनन्। लोकेश बमले १७, कुशल भुर्तेलले २, अनिल साहले १ रन बनाउँदा कुशल मल्ल डकआउट भए।

नेपालका लागि आक्रामक पारि खेलेका गुल्सन झाले ११ बलमा २६ रन बनाउँदा आरिफ शेखले १२ रन बनाए।

नेपालका लागि सर्वाधिक रन रोहित पौडेलको ब्याटबाट बन्यो। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७१ रन बनाएर अविजित रहे।

विकेट सेलिब्रेट गर्दै वेस्ट इण्डिजका कप्तान रोस्टन चेज। तस्बिर: क्यान

बलिङतर्फ वेस्ट इण्डिजका ओबेड म्याकोइ र गुडाकेस मोटिइले समान २ विकेट लिँदा ओडासेन थोमस र रोस्टन चेजले समान १ विकेट लिए।

वेस्ट इण्डिजको इनिङ्स

यसअघि ५ खेलको टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो।

टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले औसत सुरुवात गरे पनि गुडाकेश मोटिइको विस्फोटक ब्याटिङले अन्तिम दुई ओभरमै ४१ रन बनाउन सफल भयो। १९ औँ ओभरमा आकाश चन्दले १९ रन र अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले २२ रन खर्चिए।

वेस्ट इण्डिजविरुद्ध फिल्डिङमा नेपाल। तस्बिर: क्यान

सुरुवाती ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज ‘ए’का दुवै ओपनरलाई सागर ढकालले सामान्य स्कोरमा आउट गराउँदा नेपालले सुरुबाटै मोमेन्टम आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। उनले पहिलो विकेटका रुपमा ६ रन बनाएका एलिक एथानेजलाई २.२ ओभरमा कुशल मल्लबाट क्याचआउट गराएका थिए। त्यस्तै २.५ ओभरमा ११ रन बनाएका जोन्सन चार्ल्सलाई बोल्ड आउट गरेका थिए।

त्यसपछि आएका आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ३६ बलमा ३ छक्का प्रहार गरे। उनलाई दीपेन्द्रसिंह ऐरीले लोकेश बमबाट क्याचआउट गराएका थिए। त्यस्तै, कप्तान रोस्टन चेजले २३ तथा केसी कार्टीले १० रन बनाए।

१७.५ ओभरमा आन्द्रे फ्लेचरको विकेट गुम्दा ११५-७ को अवस्थामा रहेको वेस्ट इण्डिजको स्कोर गुडाकेशले उकासे। उनी ८ बल फेस गर्दा ४ वटा छक्का र दुईवटा चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे।

वेस्ट इण्डिज टोलीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

योसँगै सिरिज १-१ को बराबरीमा पुगेको छ। सिरिजको तेस्रो खेल बुधबार कीर्तिपुरमा हुनेछ।