पर्यटकीय गन्तव्य बन्दै रणकालिका मन्दिर क्षेत्र, प्रवर्धनमा स्थानीयले खोजे पर्यटन बोर्डको साथ

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०७:४० | Apr 28, 2024
पर्यटकीय गन्तव्य बन्दै रणकालिका मन्दिर क्षेत्र, प्रवर्धनमा स्थानीयले खोजे पर्यटन बोर्डको साथ

काठमाडौं ।  धादिङको गल्छी गाउँपालिका-४ मा रहेको किराञ्चोक भगवती (रणकालिका) मन्दिर क्षेत्र धार्मिक तथा एतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ। गल्छी गाउँपालिका र स्थानीयहरु सक्रियामा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको हो।

Tata
GBIME
Nepal Life

यही सिलसिलामा शनिबार रणकालीका मन्दिर क्षेत्रलाई कसरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो। सो अन्तरक्रियामा सहभागी भएकाहरुले सो क्षेत्रमा थप पर्यटकीय पूर्वाधार निर्माण गरेर प्रचारप्रसार गर्नुपर्ने धारणा राखेका थिए। स्थानीयहरुले त्यसका लागि नेपाल पर्यटन बोर्डको साथ खोजेका छन्।

पृथ्वीनारायण शाह नुवाकोट आक्रमणमा पराजित भए पछि उनले किराञ्चोक कालिका माताको आराधना गरेको र बाइसे चौबिसे राज्यहरूलाई पराजित गर्न सफल भएको कथन छ।

यो क्षेत्रमा पहिला किरातहरुको राज्य भएको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको जनश्रुति यहाँ प्रचलित छ।

२०७१ सालदेखि कालिका मन्दिरको पुनः निर्माण सुरु गरिएको थियो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निमांण, अन्य गुरुयोजना अनुरूपका निर्माण गर्ने कार्य गरेको थियो। त्यसपछि यो संस्था धार्मिक तथा सांस्कृतिकसँगै प्राकृतिक र सामाजिक विकास र पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षण बन्दै गएको छ। यस स्थानबाट त्रिशुली नदीसँगै धादिङ र मकवानपुरका विभिन्न स्थानहरु देखिन्छ।

पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर निर्माण भएपछि यसको प्रचार प्रसार गर्न पालिका तथा मन्दिर व्यवस्थापन समिति खटिरहेको छ। यो क्षेत्रको उचित प्रचार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्ने स्थानीय ध्रुब अधिकारी बताउँछन्।

यस्तै, नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले त्रिशुली नदी जल पर्यटनको लागि परिचित रहेको भन्दै किराञ्चोक क्षेत्रलाई पर्यटकीय गतिविधिमा जोड्न सके त्यहाँ धार्मिक पर्यटनको सम्भावना बढ्ने बताए।

गल्छी गाउँपालिकाकाका अध्यक्ष केदारनाथ खतिवडाले किराञ्चोक क्षेत्र धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले यसको विकास र प्रवर्धनका लागि लागि पर्यटन बोर्ड र पुरातत्व विभागसँग सहयोगको अपेक्षा रहेको बताए। स्थानीय मन्दिर समितका अध्यक्ष शंकर बहादुर भण्डारीले पनि सो क्षेत्रको प्रवर्धनको लागि बोर्डको सहयोग आवश्यक रहेको बताएका छन्।