कांग्रेस नेता आलमले २३ जनालाई जिउँदै जलाएको अदालतको ठहर, सुनाइयो जन्मकैदको सजाय

बिजमाण्डू
२०८१ बैशाख १३ गते १९:३९ | Apr 25, 2024
कांग्रेस नेता आलमले २३ जनालाई जिउँदै जलाएको अदालतको ठहर, सुनाइयो जन्मकैदको सजाय
मोहम्मद अफताव आलम। फाइल तस्वीर

काठमाडौं। पूर्वसांसद एवम् कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश मातृका आचार्यको इजलासले बिहिबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो।

Tata
GBIME
Nepal Life

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको ठहरसहित आलमलाई अदालतले जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

रौतहटको फरदवा गाउँमा संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोट गराएको र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराजसहित ११ जनाविरुद्ध २०७६ कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।

थुनछेक बहसपछि नेता आलम २०७६ कात्तिक २९ मा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका थिए। उनी पूर्वमन्त्री समेत हुन्।

अदालतले ११ प्रतिवादीमध्ये आलमका भाइ महताब, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ। मुक्ति साहले सफाइ पाएका छन्। ६ जनाको मुद्दा मुल्तबीमा राखिएको ढोडारीले जानकारी दिए।