आईपीएल : गुजरातमाथिको जितले दिल्लीलाई राहत, आज हैदराबाद र बेङ्ग्लुरु भिड्दै

बिजमाण्डू
२०८१ बैशाख १३ गते ०७:१५ | Apr 25, 2024
आईपीएल : गुजरातमाथिको जितले दिल्लीलाई राहत, आज हैदराबाद र बेङ्ग्लुरु भिड्दै
गुजरातविरुद्ध अर्धशतक प्रहार गरेपछि दिल्लीका अक्षर पटेल। साथमा ऋषभ पन्त। तस्बीर : आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हराएको छ। दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले गुजरातलाई ४ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरात ८ विकेट गुमाएर २२० रनमात्रै बनाउन सक्यो।

सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक अविजित ८८ रन बनाउँदा अक्षर पटेलले ६६ रनको योगदान दिए। त्यस्तै त्रिस्टन स्टुब्स २६ रनमा अविजित रहँदा जेक फ्रेसरले २३ तथा पृथ्बी शले ११ रन बनाए।

बलिङतर्फ गुजरातका सन्दीप वारियरले ३ र नूर अहमदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातलाई लक्ष्यको नजिक पुर्‍याउन साइ सुदर्शनले सर्वाधिक ६५ रन बनाउँदा डेभिड मिलरले ५५, ऋद्धिमान साहले ३९ तथा राशिद खानले अविजित २१ रनको योगदान दिए।

बलिङतर्फ रशिक सलमले ३, कुलदीप यादवले २ तथा एनरिच नोर्किया, मुकेश कुमार अक्षर पटेलले समान १ विकेट लिए।

जितसँगै दिल्ली क्यापिटल्सलाई अंकतालिकामा राहत मिलेको छ। ९ खेलबाट ४ जित निकाल्दै दिल्ली छैटौं स्थानमा उक्लिँदा समान खेलबाट समान अंक बनाएको गुजरात सातौँ स्थानमा छ।

प्रतियोगितामा आज बेलुकी पौने ८ बजे सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु हैदराबादमा भिड्दैछन्।